मुस्ताङको ढुम्बा गुम्बामा ‘ध्योक्योप’ को रौनक (तस्बिरसहित)
जोमसोम : हिमाली जिल्ला मुस्ताङका अधिकांश मानिसहरु बुद्ध धर्ममा अगाध आस्था र विश्वास राख्छन् । गुरु पद्यसम्भव अर्थात् गुरु रिन्पोर्छेको पालादेखि मुस्ताङमा बुद्ध धर्मको सुरु भएको थियो । मुस्ताङका थकाली,बिष्ट,गुरुङ र ल्होवा समुदायका मासिनहरुले बुद्ध धर्म मान्ने गर्छन् ।
मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा बुद्धिस्ट धर्म कथामा आधारित ऐतिहांसिक ,धार्मिक र सांस्कृतिक पर्व ‘ध्योक्योप’नृत्य देखाइने चलन छ । मुस्ताङको ढुम्बा,मार्फा,स्याङ र टुकुचेका विभिन्न गुम्बाहरुमा बर्सेनि तिब्बतीयन पात्रो अनुसार ‘ध्योक्योप’ नृत्य देखाउने चलन छ ।
बुद्ध धर्ममा आधारित धार्मिक पर्व ‘ध्योक्योप’को अवसरमा विभिन्न देवीदेवता र राक्षसहरुको मुकुट पहिरिएर गुम्बाका लामाहरुले सामूहिक लाखे नाच अर्थात् ‘ध्योक्योप’नृत्य देखाउने गर्छन् । यसै सिलसिलामा सोमबार मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बाको कुछप तेरङ्गा गुम्बामा ऐतिहांसिक तथा धार्मिक पर्व ‘ध्योक्योप’ नृत्य देखाइएको छ ।
बुद्ध धर्म परम्परा अनुसार देखाईने यसप्रकारको ‘ध्योक्योप नृत्य अवलोकन गर्नाले मानिसहरुलाई धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । ‘ध्योक्योप’ नृत्य हेर्नाले मानव शरीर भित्रको आत्मालाई स्वर्ग पुर्याउने बुद्धिस्ट धर्ममा उल्लेख गरिएको छ । बुद्धिस धर्म ग्रन्थमा उल्लेख गरिएअनुसार बर्सेनि एक पटक देखाइने धार्मिक पर्व ‘ध्योक्योप’ अवलोकन गर्नाले मानिसको आध्यात्मिक क्षमताको विकास गर्न उर्जा प्रदान गर्ने कुछप तेरङ्गा गुम्बाका लामा सुवास थकालीले जानकारी दिए ।
‘ध्योक्पोप’पर्वलाई तिब्बतीयन भाषामा ‘छम’ पनि भन्ने गरिन्छ । यो पर्व भारत वर्षमा पनि मनाइने गरिएको थियो । हिमाली क्षेत्रमा गुरु पद्यसम्भवको पालादेखि निरन्तर रुपमा ‘ध्योक्योप’ नृत्य देखाइँदै आइरहेको लामा थकालीको भनाइ छ । ध्योक्योप पर्व बौद्ध धर्मको तन्त्र ज्ञानसँग सम्बन्धित छ । ध्योक्योप हिमायान र महायान गरी दुई थरीको भएपनि महायान अन्तर्गत ध्योक्योप देखाइने चलन रहेको लामा थकालीले उल्लेख गरे ।
संसारिक दुनियामा मानिसको एक पटक जन्मिएर मृत्युवरण गर्नुपर्ने हुन्छ । मानिसको मृत्युपछिको अवस्थामा विभिन्न दृष्यहरु प्रकट हुने र त्यस अवस्थामा कुन भगवान केहो कुन भगवानले रक्षा गर्छन् भन्ने आदी भगवानसँग परिचित हुन ध्योक्योप देखाइने गरिएको हो । ध्योक्योप पर्व अवलोकन र गुरुहरुको दर्शनले मानिसहरुको विध्नवाधा ,अवरोध र नराम्रो पक्ष सबै मेटाइदिने भएकाले ध्योक्योप पर्व प्रति स्थानीयको जनविश्वास बढेको हो ।
मुस्ताङको मार्फामा बज्रकिलिया नामक ध्योक्योप देखाइने चलन छ भने स्याउ,टुकुचे र ढुम्बा गुम्बामा कर्क ध्योक्योप देखाइने गरिन्छ ।यसरी यहाँका गुम्बामा देखाईने ध्योक्योप तिब्बतीयन पात्रो अनुसार फरक फरक मितिमा देखाइने चलन छ । यसरी प्रत्येक गुम्बाहरुमा यसरी फरक फरक मितिमा देखाइने ध्योक्योपमा लामाहरुले ३ दिनसम्म सामुहिक पुजापाठ गर्छन भने ध्योक्योप देखाउँदा पनि लामाहरुको सामूहिक पुजापाठ चलिरहन्छ ।
मुस्ताङको जोमसोमदेखि तलको थाकखोला क्षेत्रमा बुद्धिस्ट धर्म अनुसार बर्सेनि ध्योक्योप पर्वमा नृत्य र पुजापाठ हुने गरेको पूर्व सविधान सभा सदस्य श्रीमाया थकालीले जानकारी दिइन् ।‘ यो पर्वलाई धर्म संस्कृति र पर्वको रुपमा अपनाइएको छ ,यहाँका मासिनले बुद्ध धर्ममा अगाध आस्था राख्छन् ,थकालीले भनिन्,‘यो पर्व धार्मिक हिसाबले एकदमै महत्वपूर्ण छ ,यसले हिमाली क्षेत्रको धार्मिक कलासंस्कृतिक धरोहरलाई जिवन्त तुल्याएको छ ।’
नराम्रोलाई राम्रो पक्षले कुल्चिने भएकाले ध्योक्योप हेर्नाले सबै ग्रहदशा हटाएर लैजाने संविधान सभा सदस्य थकालीले बताइन् । ध्योक्योप पर्वमा गुम्बाका लामाहरुले गुरु पद्यसम्भव स्वंयम् उपस्थित भएको उनलाई चेलाहरुले स्वागत गरेको नाटकीय कथाका साथै विभिन्न देवीदेवता र राक्षसका नृत्य कला देखाइने गरिन्छ ।
घरपझोङ–५ ठिनीका स्थानीय दिनेशकुमार थकालीले मानिसले मृत्युवरण गरिसकेपछि नर्कलोकमा विभिन्न रुपमा छल गर्न राक्षसहरुसँग जम्काभेट हुने र ति राक्षसरुपी आत्मालाई ध्योक्योप हेरेपछि त्यस्तो रुपमा देखिएका स्वरुप देवताको रुपमा प्रकट हुने जनविश्वास रहेको सुनाए ।
समुन्द्री सतहदेखिको ३८ सय मिटर अग्लो उचाइमा अवस्थित कुछ्प तेरङ्गा गुम्बामा ध्योक्योप अवलोकन गर्न जोमसोम आसापास गाउँहरुबाट उल्लेख्य भक्तजनहरुको उपस्थित रहेको थियो । गुम्बामा ध्योक्योप अवलोकनका लागि गएका सर्वसाधारण निकै उत्सुकतपूर्वक देवीदेवताको नृत्य नियालिरहेका थिए ।
गुरु पद्यसम्भवसँग कथासँग जोडिएको कुछप तेरङ्गा गुम्बा झन्डै ६ सय वर्ष पुरानो मानिन्छ । गुम्बा ध्योक्योप हेर्न पुगेका सर्वसाधारणले गुम्बा व्यवस्थापन समितिले खानपानको व्यवस्था समेत मिलाएको थियो । सो गुम्बाको धार्मिक पुजाआजामा ढुम्बातालको जल चढाउने गरिन्छ ।