ऋषि सुनाक बने बेलायतकै पहिलो अश्वेत हिन्दू प्रधानमन्त्री

ऋषि सुनाक बने बेलायतकै पहिलो अश्वेत हिन्दू प्रधानमन्त्री

लन्डन : भारतीय मूलका ४२ वर्षीय ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।

सोमबार सत्तारूढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चुनिएका सुनाकलाई मंगलबार बेलायती राजा चार्ल्स तृतीयले देशको ५७औँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।  

नवनियुक्त प्रधानमन्त्री सुनाक बेलायतको इतिहासकै पहिलो अश्वेत एवम् हिन्दू प्रधानमन्त्री हुन्। त्यसो त उनले पछिल्लो दुई सय वर्षयताकै सबैभन्दा कम उमेरको बेलायती प्रधानमन्त्रीको रेकर्ड पनि बनाएका छन्। 

सन् २०१५ देखि बेलायतको योर्कशायर क्षेत्रबाट सांसद रहँदै आएका सुनाकले सांसद बनेको सात वर्षभित्रै बेलायतको प्रधानमन्त्री बनेर अर्को किर्तिमान पनि बनाएका छन्।

प्रधानमन्त्री नियुक्त भएलगत्तै १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय पुगेर सुनाकले देशवासीलाई सम्बोधन गरेका छन्। 

प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो सम्बोधनमा उनले बेलायतलाई अहिले सामना गरिरहेको चरम आर्थिक संकटबाट मुक्ति दिलाउने संकल्प गरे। नवनियुक्त प्रधानमन्त्री सुनाकले आफ्नो सरकारको प्रमुख एजेन्डा आर्थिक स्थिरता रहने उद्घोष गरे।

यसअघि सोमबार कञ्जरभेटिभ पार्टीको नेता चुनिएलगत्तै उनले बेलायतजस्तो महान देशको प्रधानमन्त्रीका रूपमा यहाँका जनता र देशको सेवा गर्ने अवसर आफ्नो जीवनकै सबैभन्दा ठूलो गौरवको विषय रहेको उल्लेख गरेका थिए।  

सन् २०२० को फेब्रुअरीमा तत्कालिन प्रधानमन्त्री  बोरिस जोन्सन नेतृत्वको सरकारमा अर्थमन्त्री बनेपछि बेलायती राजनीतिको फ्रन्टलाइनमा आएका थिए सुनाक। कोभिड महामारीका बेला उनकै अगुवाइमा सरकारले ल्याएका विभिन्न राहत कार्यक्रमले उनलाई जनस्तरमा पनि लोकप्रियता दिलाएको थियो।

सन् १९८० मा बेलायतको साउथ ह्याम्प्टनमा जन्मिएका सुनाकका भारतीय मूलका बाबुआमा पूर्वी अफ्रिकाबाट बेलायत आएका आप्रवासी थिए।

भारतीय धनाड्य उद्ध्योगपति नारायण मूर्तिपुत्री अक्षता मूर्तिसँग वैवाहिक सम्बन्ध गांसेका सुनाक दुई छोरीका पिता हुन्।

यसअघि डेढ महिनाअघि मात्रै प्रधानमन्त्रीको रेसमा लिज ट्रससँग पराजित भएका सुनाक अन्तत: नाटकीय रूपमा पार्टीको सर्वसम्मत नेता बन्दै प्रधानमन्त्री बनेका छन्। 

सुनाकलाई पछि पार्दै गत सेप्टेम्बर ५ मा प्रधानमन्त्री नियुक्त लिज ट्रसको सरकारले घोषणा गरेको आर्थिक नीतिले यहाँको अर्थतन्त्रमा चरम अस्थिरता सिर्जना गराएपछि चर्को आलोचना र दबाब खेपेकी उनले प्रधानमन्त्री बनेको ४४ दिनमै राजीनामा गरेकी थिइन्। 

ट्रसको राजीनामापछि नयाँ प्रधानमन्त्रीको रेसमा चर्चा भएका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार साँझ आफू प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए भने अर्की दाबेदार पेनी मोर्डन्टले पनि एक सय सांसदको समर्थनको मापदण्ड पूरा गर्न नसकेपछि अन्तिम समयमा दाबेदारी फिर्ता गर्दै सुनाकलाई मार्ग प्रशस्त गरिदिएकी थिइन्।

नेपाली समुदाय खुसी

बेलायतको प्रधानमन्त्रीमा पहिलोपटक भारतीय मूलका ऋषि सुनाक नियुक्त हुँदा यहाँको नेपाली समुदायले समेत खुसी व्यक्त गरेको छ।

बेलायतको पहिलो अश्वेत र आप्रवासी पृष्‍ठभूमि मात्र होइन, पहिलो हिन्दू प्रधानमन्त्री भएकाले पनि बेलायतवासी नेपालीहरुले सुनाकको नियुक्तिमा आफ्नो समुदायको प्रतिनिधित्व भएको महसुश गरेका छन्। 

बेलायतको राजनीतिक वृत्तसँग निकट सफल नेपाली व्यवसायी एवम् समाजसेवी रविन्द्रजंग लामिछाने 'रवि' ॠषिको प्रधानमन्त्रीकालमा बेलायत र नेपालबीचको सम्बन्ध थप प्रगाढ बन्ने आशा व्यक्त गर्छन्।

'बेलायतजस्तो मुलुकको प्रधानमन्त्रीका रूपमा भएको ॠषि सुनाकको उदय हामी सबैका लागि साच्चीकै गौरव हो। यो आप्रवासी पृष्‍ठभूमि भएका, हिन्दू धर्म मान्ने हाम्रो जस्तो अल्पसंख्यक समुदायका भावी सन्ततिलाई ठूलो प्रेरणा पनि हो', लामिछानेले भने।

प्रधानमन्त्री सुनाकको निर्वाचन क्षेत्र योर्कशायरको रिचमण्डशायरस्थित कञ्जरभेटिभ पार्टी कमिटीका उपाध्यक्ष एवम् स्थानीय कोलबर्न टाउन मेयर डा जगन्नाथ शर्मा पनि उनको कार्यकालमा नेपालसँगको सम्बन्ध र सहकार्य थप मजबुद बन्ने आशा व्यक्त गर्छन्।

'नेपाल र बेलायतको नेपाली समुदायबारे उहाँ राम्रोसँग जानकार हुनुहुन्छ' गत शुक्रबार सुनाकसँग भेट गरेको उल्लेख गर्दै शर्माले भने,' पूर्व गोर्खाहरुको समस्यादेखि हिन्दूहरुको पवित्र तीर्थस्थल पशुपतिनाथका बारेसम्म उहाँसँग हाम्रो कुराकानी भएको छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.