मधेसमा छठ पर्वको यस्तो छ तयारी (फोटोफिचर)

मधेसमा छठ पर्वको यस्तो छ तयारी (फोटोफिचर)

वीरगन्ज : तराई मधेसमा छठ पर्वको तयारी र चहलपहल सुरु भएको छ। कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा सुरु हुने छठ पर्व सप्तमी तिथीका दिन बिहानसम्म गरि चार दिन मनाइन्छ। तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषि हिन्दूको प्रमुख पर्व नै छठ पूजा हो। यसपालि छठ पूजा कात्तिक १३ गते परेको छ। तर विधिवित रुपमा भने शुक्रबारदेखि नै छठ पर्व सुरु हुनेछ। 

 
दिपावली सकिएसँगै तराई मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री, भाडाँवर्तन कपडाको किनमेल शुरु भइसकेको छ। यस्तै नदी , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ।

दिपावली सकिए लगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री, बस्त्र, फलफुल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भिडभाड देखिएको छ।

छठपूजामा छठी मातालाई चढाइने मुख्य प्रसाद ठेकुवा हो। जुन गहुको शुद्ध पिठोमा गुण (भेली) र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ। यस्तै छठी मातालाइ अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा , सुन्तला, पानी सहितको नरिवाल, उखु , हरियो बोडी , पानी सिङगडा , गागल, मुला , अदुवाको बोट लगायतका फलफूल र हरियो तरकारीहरु हुन्। पूजन सामाग्री, प्रसाद र फलफूलहरु बाँसको चोयाबाट बनाइएका  छैटा, दउरा (टोकरी), नाङ्लो र सुपलीमा राखेर छठी माता र सूर्य भगवानलाई अर्घ दिने गरिन्छ।  

छठ आउनुभन्दा एक दुई दिन पहिल्यै सामान किनेर राख्यो भने केहि सस्तो पनि पर्छ, वीरगन्जको घण्टाघर छेउको सडकमै थापिएको पसलमा छैटा किन्दै गरेको अवस्थामा भेटिएकी इटियाहीकी सुरजी देवीले भनिन् ,‘अहिले नै सबै सामानको जोरजाम गरियो भने छठ पूजाका बेला त्यति धेरै धपेडी हुँदैन , पूजाकै अरु काममा समय दिन पाइन्छ।'

वीरगन्जको घण्टाघर चोक छेउको सडकमा थापिएको फुटपाथ पसलमा छठका लागि चाहिने बासको चोयाबाट बनाइएको दउरा छैटा र माटाका सामग्री किन्दै महिलाहरु ।

छठ पर्व मनाउने घरपरिवारका सबै सदस्यले नयाँ लुगा कपडा लगाउने प्रचलन रहेकाले बजारको रेडिमेड कपडा पसल र डिपार्टमेन्ट स्टलहरुमा पनि ग्राहकहरुको चाप अत्याधिक बढेको छ। 'वीरगन्जमा दशैंको भन्दा छठमा कारोबारमा राम्रो हुन्छ' , वीरगन्जको माइस्थानमा रहेको सुमित फेन्सीका सन्चालक सुरज साहले भने ,‘दशैंमा व्यापार त्यति राम्रो भएन तर दिवाली सकिएलगत्तै भने व्यापार बढेको छ।'

छठपूजाको मुख्य दिन अर्थात षष्ठी तिथीका दिन साँझ अस्ताउदो सूर्य र सप्तमी तिथीका दिन बिहान उदाउदो सूर्यलाई अर्घ (पुजआरधना ) दिने स्थल छठीघाट (नदि , पोखरी , तलाउ इत्यादि जलाशय)को सरसफाइ र सजावटको काम पनि शुरु भइसकेको छ।

पछिल्लो एक दशक यता छठीघाटको सरसफाइ र सजावटमा होडबाजी नै देखिएको छ। छठ पूजा मनाउनका लागि वीगरगन्जको घडीअर्वा पोखरी , रानीघाटको सिर्सिया नदि , छपकैया पोखरी , स्वीमीङ पुल , नगवा पोखरी , मुर्ली पोखरी , पिपरा , रामगढवा , सिर्सिया , अलौं लगायतका स्थानमा रहेका जलाशयहरुलाई छठीघाटको रुपमा सजाउने काम शुरु भइसकेको छ।

आकर्षक टेण्ट ,पण्डाल र झिलीमली बत्ती लगाएर छठीघाट सजावाटका लागि मात्रै स्थानीयस्तरमा गठन गरिएका छठ पूजा व्यवस्थापन समितिहरुले लाखौं रुपैयाँ खर्च गर्दै आएका छन्। आकर्षक सजावटका लागि डेढ दशक यतादेखि देशभरमै छठपूजाका लागि चर्चित बनेको वीरगन्जको घडीअर्वा पोखरीस्थित छठघाट सजवाटमा मात्रै छठपूजा व्यवस्थापन समितिले यसपालि १७ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्दैछ। पोखरी परिसरको छठघाटलाई भारतको कोलकत्ताबाट बोलाइएका टेण्ट पण्डाल लगाउने कामदारहरुले दुई हप्तादेखि सजावटको काम गरिरहेका छन्। यस्तै पोखरीको जलाशय बीचमा रहेको सूर्य भगवानको मन्दिर र जलाशयको भाग माथि रङगी बिरङगी बिजुलीबत्ती झुण्डाइएको छ।

'दशैंको टिका सकिएलगत्तै छठघाटको सरसफाइ र सजावटको काम शुरु गरेका हौं' , घडीअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष हिरा साह कानुले भने ,‘अबको एक दुई दिनमा सजावटको काम सकिन्छ , यसपालि सरसफाई सजावटमा मात्रै करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौं। ' छठका दिन यहाँको छठघाटको आकर्षक सजावट हेर्न पर्साको शहरी भेगका मात्र नभइ ग्रामीण भेगका साथै छिमेकी जिल्ला बारा, रौतहट , मकवानपुर, चितवन तथा भारतको सीमावर्ती शहरहरुबाट पनि दर्शनार्थीहरु आउने गरेको उनले बताए।

क्रान्ति शाहको क्यामरामा कैद गरिएका तस्बिरहरु :     छठ पूजाको लागि आकर्षक झिलीमिली बत्तीले सजाइएको वीरगन्जको घडीअर्वा पोखरीको छठघाटको मंगलबार बेलुकी देखिएको दृश्य ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.