जब मिना होटल पुगिन् उनी बेहोस भइन्, अब होटल होटल रहेन
हेटौंडा : आज भाइटीका, बिहान ११ : ३७ मा टीकाको उत्तम साइत भएकाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१०, टिसिएन तरकारी पसलका सञ्चालकहरू टीकाका लागि पसल बन्द गरेर आ-आफ्नो गन्तव्यतर्फ लागे।
बिहान केही समय चहलपहल भएपनि साढे ११ बजे तरकारी बजार सुनसान भइसकेको थियो। सोही तरकारी पसलसँगै होटल व्यवसाय सञ्चालन गर्दै आएकी मीना गुरुङ पनि टीका लगाउन होटल बन्द गरेर निस्किइन्।
दिउँसो १२ : ३८ बजे भटाभट सिलिण्डर पड्किएको आवाज स्थानीयले सुने। तर, तिहारको बेला पटका पड्किएको होला भनेर स्थानीयले खासै वास्ता गरेनन्। तरकारी बजारबाट निस्किएको आगोको मुस्लो देखेपछि भने नजिकैका तरकारी पसले नवराज पौडेल घटनास्थलमा पुगे।
उनले स्थानीयलाई गुहारे र स्थानीयले प्रहरीलाई खबर गरेपछि हेटौंडा उपमहानगरपालिकाको दुई वटा दमकलसहित सशस्त्र प्रहरी, जनपथ प्रहरी र म्यादी प्रहरीसमेतको सहयोगमा आगो केहीबेरमा नियन्त्रणमा लिइएको थियो।
मीना गुरुङले सञ्चालन गरेको होटलको आठवटा सिलिण्डर पड्किएको छ। गुरुङ सोही होटलमा बसोबास गर्ने भएकाले केही सुनचाँदी र नगद राखेकी थिइन्।
टीका सकेर फर्किएकी उनी होटल पूर्ण रूपमा जलेर नष्ट भएको देखेपछि बेहोस भइन्। गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ।
गुरुङको मात्रै झण्डै २५ लाख बराबरको क्षति भएको स्थानीयहरूले बताएका छन्। उनकै होटलबाट तरकारी पसलमा आगो फैलिएको थियो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१०, टिसिएनमा रहेको तरकारी बजारमा बिहिबार दिउँसो आगलागी हुँदा ५ वटा तरकारी पसल र एउटा होटलमा पूर्ण रूपमा क्षति भएको छ।
आगलागीबाट डेढ करोडभन्दा बढी क्षतिको आकलन गरिएका नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ मकवानपुरका महासचिव कृष्ण हुमागाईंले अन्नपूर्ण पोष्टलाई जानकारी दिए।
'हामीले क्षतिबारे एकीन विवरण निकालिसकेका छैनौँ। तर, कम्तिमा पनि डेढ करोडभन्दा बढी क्षति भएको छ। तरकारी पसलेहरूको नगदसहित अन्य सामग्री जलेको छ। हामी सम्बन्धित व्यवसायीसँग क्षतिको विवरण संकलन गरिरहेका छौँ।' उनले भने।
नगद र खातापाता पनि जल्यो
टिसिएनको तरकारी बजारबाट देशैभर तरकारी सप्लाई हुन्छ। सो बजारबाट पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म र भारतको विभिन्न सहरमा तरकारी सप्लाई हुँदै आएको फलफूल तथा तरकारी व्यवसायी संघ मकवानपुरले जनाएको छ।
सप्लाई गरिएका तरकारीको भुक्तानी के-कति लिनु छ भनेर तरकारी पसलेले खातापातामा टिपोट गरेर राख्दै आएका थिए। तर, खातापाता जलेर नष्ट भएपछि उनीहरू समस्यामा परेका छन्।
आगलागीबाट हरि खुलाल, दशरथ महर्जन, केशव दाहाल, बद्री घिमिरे र भरत खुलालले संचालन गरेको पसलमा रहेको नगद, अन्य सामग्री र तरकारी जलेर नष्ट भएको स्थानीय नवराज पौडेलले बताए।
भरत खुलालको पसलबाट भने पाँच लाख रुपैयाँभन्दा बढी आधा मात्रै जलेको नेपाली नोट प्रहरीले फेला पारेको छ।
आगलागीबाट क्षति पुगेको होटल तथा तरकारी पसलको इन्स्योरेन्स पनि नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।