झलनाथ खनाललाई आफ्नै बचन गल्पासो

झलनाथ खनाललाई आफ्नै बचन गल्पासो

इलाम : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा सातौं पटक प्रतिस्पर्धा गर्दैछन्। आफ्नो सानो समूहको माझमा नेपाली कांग्रेसको ७५ प्रतिशतले जित्नुपर्ने खनालका लागि स्थानीय निर्वाचनपछि कांग्रेसका कार्यकर्तालाई गरेको‘गाली’गल्पासो जस्तै बनेको छ। 

स्थानीय तह निर्वाचन पछि सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाका कांग्रेस कार्यकर्ताले गठबन्धनलाई धोका दिएको भन्दै एक टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए। खनालको त्यो आक्रोश अहिले सञ्जालभरी फैलिएको छ। खनालले अन्तरवार्ता दिँदै ‘कांग्रेसले आफ्ना उम्मेदवारलाई धोका दिएको’ बताएका थिए। उनले कांग्रेस कार्यकर्तालाई जिताएको लान्छनासमेत लगाएका थिए।  

आफ्नो क्षेत्रको सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, माइ नगरपालिका र सूर्योदय नगरपालिकामा सत्ता गठबन्धनका तीन दल कांग्रेस, नेकपा(एकिकृत समाजवादी र माओवादी केन्द्रका कार्यकर्ताको संयुक्त भेलामा पनि कांग्रेस कार्यकर्ताले झलनाथको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका थिए। माइजोगमाई गाउँपालिका- १ का नेपाली कांग्रेसका वडा सभापति चित्र थामिले खनाललाई अघि राखेर भने ‘तपाईको आरोपले मन दुखेको छ, चिक्त बुझ्ने जवाफ दिनु।’

चुनावी अभियानमा जानु अघि आफ्नु अभिव्यक्तिलाई ‘परिस्थतिजन्य अभिव्यक्त’ भन्दै फुत्किएका खनाल अहिले भने आफ्नो भनाई ‘फिर्ता दिएँ’ भन्न थालेका छन्। भाषणमा केहि राजनीतिक र केहि विकास निर्माणका सूची सूनाएपछि खनाल भन्छन् ‘मेरो कुराले तपाईहरुको मन दुखेको भए फिर्ता लिन्छु।’

इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खनाल अहिलेसम्मका निर्वाचनमा एक पटकबाहेक सबैमा विजयी पनि भएका छन्। यस पटक कांग्रेसको मत पाएनन् भने खनालको निरन्तरता भत्कने खतरा छ। त्यसैले खनाललाई जसरी पनि कांग्रेस मतदाता फकाएर मत खसाल्नु पर्ने बाध्यता छ। 

३१ वर्ष कांग्रेससँग प्रतिस्प्रर्धा गरेका खनाललाई धेरै कांग्रेसी नेता कार्यकर्ता मन पराउँदैनन्। त्यसैले चुनावी अभियानमा खुलेर लाग्ने कांग्रेसका केहि जिल्लास्तरका कार्यकर्ताबाहेक अरु छैनन्। ती कार्यकर्तालाई पनि खनालले आफ्नै टिममा राखेर ‘खुशी’बनाएर हिँडाएका छन्। 

यस अघि खनाललाई काँधमा बोक्ने नेकपा (एमाले) चाँही खनालसँग प्रतिस्पर्धी छन्। कुनै बेलाका खनालका विश्वास पात्र, इलाम नगरपालिकाका पुर्व मेगर महेश बस्नेतसँग खनालको प्रतिस्पर्धा हुने देखिन्छ। 
३१ वर्षयता निरन्तर सूर्य चिह्नमा भोट मागेर खनाललाई भोट हाल्न नचाहनेका लागि वैकल्पिक ठाउँ दिएको भन्दै चुनावी मैदानमा स्वतन्त्र उम्मेद्धारका रुपमा आएका कांग्रेसका पुराना नेता विक्रम पाण्डेको उपस्थितिले समेत खनाललाई सकस बनाएको छ। गाउँगाउँ र साप्ताहिक हाट बजारमा पुगिरहेका पाण्डेले कांग्रेस जोगाउन आफूलाई माछा चिन्हमा मतदान गर्न आग्रह गरिरहेका छन्। 

खनाललाई इलाम क्षेत्र नम्बर १ ले २०४८ र २०५१ साल विजयी गरायो, ०५६ सालको निर्वाचनमा पराजित बनेपनि ०६४ र ०७० सालको संविधानसभा निर्वाचन तथा ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनाल इलाम १ बाट पुनः विजयी बने। इलाम क्षेत्र नम्बर १ बाट जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस (बिपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मीको पनि उम्मेदवारी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.