आम निर्वाचन : ३० वर्षदेखि सहकर्मी,अहिले प्रतिष्पर्धी

आम निर्वाचन : ३० वर्षदेखि सहकर्मी,अहिले प्रतिष्पर्धी

तानसेन : आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य पदका लागि दुई वामपन्थी नेताबीच कडा प्रतिष्पर्धा देखिएको छ । ३० वर्षदेखि सहकर्मीको रुपमा नेकपा एमालेबाट राजनीति गर्दै आएका ठाकुर प्रसाद गैरे र सोमप्रसाद पाण्डे प्रतिष्प्रधीको रुपमा उत्रिएका छन् ।

गैरे नेकपा एमालेका नयाँ उम्मेदवार हुन् भने पाण्डे नेकपा एकीकृत समाजवादीबाट ४ दलीय गठबन्धनका पुराना उम्मेदवार हुन् ।  नेकपा एमालको फुट पछि गैरे एमालेमै रहे भने पाण्डे नेकपा एसमा प्रवेश गरे । दुबै उम्मेदवार विजयको लागि मत माग्दै पाल्पाली जनताको घरदैलोमा पुगेका छन्।

नेकपा एमालेका उम्मेदवार गैरे ३० वर्षसम्म पाटीको राजनीति गरेर पहिलो पटक संसदीय निर्वाचन उत्रिएका हुन् भने गठबन्धनको रुपमा साझा उम्मेदवार बनेका पाण्डे २०५१ सालदेखि हालसम्म ५ पटक उम्मेदवार भएकोमा ४ पटक  निर्वाचित भई संसदमा पुगेका छन्। २०६४ सालमा नेकपा माओवादीकी उम्मेदवार लिला सोमैसँग पराजित भएका थिए । 

एमाले उम्मेदवार गैरेले आफ्नो क्षेत्रमा प्रत्यक्ष रुपमा कांग्रेस, माओवादी केन्द्र, राप्रपाको उम्मेदवार नभएकोले आफू साझा उम्मेदवार रहेको बताउँदै आएका छन् । उम्मेदवार पाण्डे भने लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवार रहेका छन् ।

एमाले उम्मेदवार गैरेले पाल्पा क्षेत्र नं. २ मा  आफू पहिलो पटक उम्मेदवार भएको, अहिले जनताले नयाँ अनुहार र परिवर्तन खोजेकोले आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् ।  गठबन्धनका उम्मेदवार पाण्डेले अधिकांश कुराहरु सम्बोधन भएको, आफू पुरानो अनुभवी नेता भएकाले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । 

पाल्पाली जनताको पक्षमा संसदमा कुरा उठाई नीतिगत रुपमा सम्बोधन गर्ने, पाल्पाका सडकहरु स्तरीय बनाउने, जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, कृषि पशुपालन क्षेत्रमा व्यवसायिकरण गर्दै, गाउँगाउँमा स्वरोजगार अभियाना चलाउने, जिल्लाका अपुरा योजनाहरु पुरा गर्ने,  नियमित रुपमा जनता माझ जाने कार्यक्रम बनाएको एमाले उम्मेदवार गैरेले बताए । 

पाल्पाको विकासमा २०५१ सालदेखि नै प्राथमिकता दिएर काम गरेको, जिल्लाको पर्यटन विकासमा उपलब्धीमुलक काम गरेको, एमालेमा रहदा सिद्धबाबा सडकको सुरुङमार्ग निर्माणको लागि संसददेखि सडकमा आवाज उठाएको, मदनपोखरा पोलिटेक्निकल आफ्नै पहलमा जिल्लामा आएको, तानसेनको पहिचान विश्वव्यापी बनाई पर्यटकीय गतिविधि बढाउन टाढाटाढाबाट देखिने गरी तानसेन होडिङ बोर्ड निर्माण गरेको, हार्थाकदेखि छहरा सम्मको बाटो विस्तार गरेको उम्मेदवार पाण्डेले बताए । 

पाल्पा क्षेत्र नं. २ मा ६ वटा निर्वाचनमा नेपाली कांग्रेसले २०४८, २०७० २ पटक , नेकपा एमालेले २०५१, २०५६, २०६४ र २०७४ मा विजय हाँसिल गरेको थियो । ५ वटा पालिका रहेको पाल्पा क्षेत्र नं. २ मा स्थानीय निर्वाचन २०७४ मा बगनासकाली, रैनादेवीमा नेपाली कांग्रेस, तानसेन, रिव्दीकोट र तिनाउँमा नेकपा एमालेले विजय हाँसिल गरेको थियो ।

स्थानीय निर्वाचन २०७९ मा गठवन्धनले ३ वटा र एमालेले २ वटा पालिकामा जित हाँसिल गरेको छ । पाल्पा क्षेत्र नं.२ मा ४४ वटा वडामा १६ वडामा एमाले र २८ वटा वडामा नेपाली काग्रेस, माओवादी केन्द्र  र जनमोर्चाको गठवन्धनले जित हाँसिल गरेको छ ।

 वडा अध्यक्षको मतको आधारमा नेकपा एमालेको ३० हजार ५ सय ३६ , नेपाली काग्रेसले २९ हजार ३९, नेकपा माओवादी केन्द्रले ४ हजार ३ सय १३  र नेकपा एकिकृत समाजवादीले ४ सय ३३ मत र राष्ट्रिय जनमोर्चाले ८ सय ८४ मत पाएको छ। पाल्पा क्षेत्र नं. २ मा १ लाख ५ हजार २ सय ९३ जना मतदाता रहेका छन् ।

एमाले उम्मेदवार गैरे जिल्ला, प्रदेशबाट सर्वसम्मत उम्मेदवार हुन भने गठबन्धनका उम्मेदवार पाण्डेले लामो रस्साकस्सीबीच टिकट हात पारेका हुन् । पाण्डेलाई नेपाली कांग्रेसबाट अन्तरघातको चिन्ता छ भने गैरेले सोही कारण बाट नेपाली कांग्रेसको केही मत आफ्नो पक्षमा पर्ने आकलन गरेका छन् । 

राष्ट्रिय पहिचान बनाएको, स्प्रष्ट व्यक्ति, राजनितिकदेखि विधार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले एमाले उम्मेदवार गैरेको जित सुनिश्चित रहेको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए । कांग्रेस, माओवादी , समाजवादी र जनमोर्चाको समर्थनमा रहेको, लामो सयमदेखि जनताको माझमा लोकप्रिय रहेको, विकासप्रेमी नेता भएकोले गठबन्धनका उम्मेदवार पाण्डेको जित सुनिश्चित रहेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेले बताए । 

पाल्पा क्षेत्र नम्बर २ बाट गठबन्धनका पाण्डे, एमालेका गैरे बाहेक जनसमाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मंगोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका तारा बहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमइ र स्वतन्त्रबाट उपेन्द्रराज गैरे र जिवलाल सुवेदी उम्मेदवार रहेका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारहरुको मत प्रभाव बढेकोले नेता गैरे र पाण्डेलाई चुनौती थपिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.