छठ पर्व विधिवत् सुरु

छठ पर्व विधिवत् सुरु

वीरगन्ज : श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत सुरु भएको छ। 

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसवासीको महान् चाड छठ पर्व शुक्रबारदेखि सुरु भएको हो।

कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ। छठ पर्वको पहिलो दिन शुक्रबार छठको व्रत गर्नेहरूले खोला, नाला, नदी, पोखरी, तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका छन्।

छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिको दिनलाई 'खरना' भनिन्छ। खरनाका दिन शनिबारदेखि नै व्रतालुहरूले निराहार व्रत सुरु गर्नेछन्।

छठको तेस्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ। जसलाइ सँझीया घाटे पनि भनिन्छ। यसपालिका सँझिया घाटे आइतबार परेको छ। 

त्यसदिन व्रतालु महिलाहरूले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाइ र भोलि पल्ट सप्तमी तिथीका दिन बिहान उदाउँदो सूर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रूपमा समापन हुन्छ।

शुक्रबारदेखि विधिवत छठ पर्व सुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी आइतबार परेकाले तराई मधेसका जिल्लामा छठ पूजाका लागि तयारी तीव्र रूपमा भइरहेको छ। 

छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ-आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन्।

छठघाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको छ। वीरगन्जमा मात्रै  घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया, पिपरा, रामगढवा, परवानीपुर, बहुअरी, आदर्शनगर, इनर्वा गरी एक दर्जनभन्दा बढी स्थानमा छटघाट सजावट र सरसफाईको काम तीव्र रूपमा भइरहेको छ। छठघाटलाई आकर्षक टेण्टपण्डाल र झिलिमिली बत्तीले सजाइएको छ।

बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङगलो, डालो, सुपली, टोकरी, माटोको कलश, दियो, पुजन सामग्री र प्रसादमा प्रयोग हुने उखु, फलफूल, मिठाइ,  हरियो तरकारी, गहुको पिठो, चिनी, तेल, नयाँ लत्ताकपडा लगायतका सामान किन्नेहरूको शुक्रबारदेखि नै भिडभाड बढेको छ।

वीरगन्जको घण्टाघर चोकदेखि माइस्थान चोकसम्मको सडकमै छठका पुजन सामग्री, फलफूल र बासका सामग्री बेच्न पसलहरू थापिएका छन्। 

व्रतालुहरूले छठ पूजाका सामग्री षष्ठी तिथीको बिहानसम्म पनि किन्ने भएकाले त्यस दिनसम्म पनि यहाँका बजारमा छठको किनमेल गर्नेहरूको भिड लाग्ने गर्छ। 
 
छठ पर्व कसरी मनाइन्छ ?   

छठ पूजामा खास गरी सूर्य भगवान र छठी माताको पूजा आरधाना गरिन्छ। कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथीबाट छठ पूजाको व्रत प्रारम्भ हुन्छ।

पहिलो दिन चौथी तिथीका दिन बिहान व्रतालुहरू घर नजिकको ताल, पोखरी वा नदिमा गई नहुाइधुवाइ गरी चोखो भइ प्याज र लसुनसमेत नमिसाइएको शुद्ध शाकाहारी एंव सात्वीक भोजन ग्रहण गर्छन्। यस दिनलाइ भोजपुरी र मैथली भाषामा नहाए खाएके दिन भनिन्छ।

दोस्रो दिन भोलिपल्ट पञ्चमीका दिनलाइ खरना र रसियाव रोटीको दिन भन्ने गरिन्छ। यस दिन साँझ पख माटाले बनाइएको नयाँ एंव चोखो चुल्होमा व्रतालुहरूले आँपको रुखको दाउरा बालेर त्यसमा गुण (भेली) र चामल मिसाएर बनाइएको खीर (रसियाव) र गहुको पिठोबाट बनाइएको रोटीको प्रसाद तयार पार्दछन्।

चौथीका दिनदेखि उपवास बसेका व्रतालुहरूले उक्त प्रसाद (रसीयाव र रोटी) चुल्होकै छेउमा अग्नि (आगो) मा चढाएर छठी माताको पूजा आरधान गर्छन्। 

त्यसपछि प्रसादको केही अंश गाईलाइ खुवाएपछि बाँकी प्रसाद आफूले ग्रहण गरी परिवारका सदस्यहरूलाइ खान दिन्छन्। रसीयाव र रोटीको प्रसाद ग्रहण गरेपछि व्रतालुको ३६ घण्टे निराहार र निर्जल उपवास सुरु हुन्छ।

मधेसका संस्कृतिविद् उमांकर द्विवेदी भन्छन्, 'छठ पर्व कठोर तपस्याको पर्वको हो, यो पर्व अवधिमा धार्मिक विधिमा थोरै पनि चुक नहोस् भनेर व्रतालु मात्र नभई घरपरिवारका सबै सदस्य अत्यन्त सजग हुन्छन्, खानपानदेखि घरको सरसफाइसम्म हरेक ससाना कुरामा पनि निक्कै ध्यान दिने गरिन्छ।

खरनाको भोलिपल्ट अर्थात षष्ठी तिथिको दिनलाइ छठ पर्वको मुख्य दिन मानिन्छ। यस दिनलाइ सँझिया घाटे भनिन्छ।  
त्यस दिन व्रतालुहरू दिउँसोको समयमा नुहाइ धुवाइ गरी नयाँ चोखो बस्त्र पहिरेर छठ पूजाका लागि नदि, पोखरी, तलाय इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन्। घरपरिवारका सबै सदस्य पनि नुहाइधुवाइ गरी चोखो भइ नयाँ लुगा लगाएर छठीघाटमा पुग्छन्।

छठीघाटमा चोखो माटाले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर व्रतालुहरूले छठी माता र सूर्यभगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन्। 

त्यसपछि साँझ पख अस्ताउँदै गरेका सूर्य भगवान र छठी मातालाइ व्रतालुहरूले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछता, पात सहितको मूला लगायतका फलफूल र प्रसाद राखेर अर्घ (पूजा ) दिन्छन्। सूर्य अस्त पछि व्रतालुहरू छठी माताको पारम्परिक गीत गाउँदै आआफनो घर फर्किन्छन्।
 
षष्ठीको बेलुकी छठ पूजा गरिएका घरमा कोशी भर्ने (माटोको कलश र हात्ती आकृतिको मूर्तिको पूजा) चलन पनि छ। यो सबै व्रतालुलले गर्दैनन्। जसले भाकल गरेको हुन्छ, उसैले षष्ठीका दिन बेलुकी घरको आँगनमा कोशी भर्ने गर्छन्। 

कोशीका लागि घरको आँगनमा नौ वा १३ वटा हरियो उखु (पात सहितको ) लाई मुठा बनाएर फेदको पातको तल चोखो वस्त्रले बाधेर उल्टो पिरामिडको आकारमा छठ्याइन्छ। उखुको बिचमा माटाले बनाइएको कलश र हात्तीको आकृतिको मूर्ति राखन्छ। 

हरेक उखुको फेदमा माटोको ढकनी राखेर त्यसमा छठीमाताका लागि बनाइएको प्रसाद र फलफूलहरू राखिन्छ। यस्तै ती प्रत्येक ढकनीमा माटोको दियो बालेर पनि राखिन्छ। 

त्यसपछि व्रतालु र घरपरिवारका साथै छरछिमेकले उखु ठडयाइएको स्थानलाइ तीन वा पाच पटक परिक्रमा गर्दै धुप तथा जल अर्पण गर्दै भुइँमा शिर छुवाएर पूजा आरधाना गरिन्छ। त्यसबेला महिलाहरूले छठीमाताको पारम्परिक गीत पनि गाउँदै आर्शीवाद माग्छन्। 

षष्ठीको मध्यरातमा परिवारका पुरुष सदस्यहरूले कोशीमा पूजा गरिएको उखु र पूजन सामग्री एंव प्रसाद लिएर छटघाट बनाइएको जलाशय छेउमा लिएर जान्छन्। त्यहाँ पनि आँगनमा गरिएको विधि जस्तै उखुलाइ छठयाएर दियो र धुप बाली पूजापाठ गरिन्छ। 

त्यसपछि कोशी (माटाको कलश र हात्ती आकृतिको मूर्ति) जलाशयमै डुबाएर उखु र अन्य प्रसाद लिई उनीहरू घर फर्किएपछि छठको निराहार निर्जल व्रत लिएका रातिको तेस्रो प्रहरमै व्रतालुहरू फेरि नुहाइ धुवाइ गरी चोखो भई पुजा सामग्री र प्रसाद लिएर सूर्योदय नहुँदै छठ घाटमा पुग्छन्। 

सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान्, छोराछोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि छठी मातासँग अनुनय विनय गर्छन्। 

सप्तमी तिथिका दिन बिहान सूर्योदयभन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठघाटको जलशायमा पस्छन् र सूर्योदय हुने क्रममा उनीहरूले सूर्य र छठीमातालाइ अर्घ दिन्छन्। 

सूर्यलाइ अर्घ दिए पछि छठघाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दुर लगाई दिन्छन्। 
त्यसपछि उनीहरू आआफनो घर फर्किन्छन्। उदाउँदो सूर्यलाइ अर्घ दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ। यस दिनलाइ परना भन्ने चलन छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.