अस्ताए वरिष्ठ पत्रकार कौशल पाण्डे

अस्ताए वरिष्ठ पत्रकार कौशल पाण्डे

हेटौंडा : वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। मकवानपुरे पत्रकारिता क्षेत्रका जीवित इतिहासको निधनले नयाँ पुस्तालाई बिगतसँग साक्षात्कारको पुल टुटेको छ। 

पाँच दशक बढी पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पाण्डे नेपाल पत्रकार महासंघ मकवानपुरको संस्थापक सदस्य हुन्। 

मकवानपुरमा २०४४ सालमा महासंघको शाखा विस्तार गरिएको भएपनि २०४७ सालमा न्हुच्छेमान श्रेष्ठ अध्यक्ष रहने गरी कार्यसमितिलाई पूर्णता दिइएको थियो। पाण्डे सोही समितिको सदस्य थिए। 

२००४ पुस १० गते उदयपुरको सिरुवानीमा जन्मिएका उनी नेपाली पत्रकारिता र शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्‍याएवापत थुप्रै पटक सम्मानित भएका छन्। 

पत्रकारको आम चिनारी बनाएका पाण्डेले विभिन्न सामाजिक क्षेत्रमा पनि काम गरेका थिए। उनले प्रेस काउन्सिल नेपालको गोपालदास स्मृति पत्रकारिता पुरस्कार पाएका छन्। 

त्यस्तै नेपाल पत्रकार महासंघ मकवानपुर, तत्कालिन हेटौंडा नगरपालिकालगायत विभिन्न संस्था तथा निकायले पाण्डेलाई विभिन्न समयमा सम्मानित गरेको थियो। 

२०१७ बाट सुरु भएको पञ्चायती व्यवस्थादेखि २०४६ मा आएको प्रजातन्त्र र २०६२/०६३ सम्मको उथलपुथलपूर्ण इतिहासको साक्षी रहेका पाण्डे साहित्य संगम मकवानपुरको संस्थापक सदस्य भई हालसम्म सल्लाहकारका रूपमा थिए।

नेपाली पत्रकारिता, नेपाली भाषा र कला साहित्यसँग सम्बन्धित तीनवटा कृति प्रकाशित पाण्डेले जीवनका अनेकन पाटाहरूमा कहिले हकर, कहिले सम्पादक भएर त कहिले प्रकाशक भएर जिम्मेवारी बहन गरे। 

पाण्डे २०२८ सालमा पर्साको वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत छँदा पत्रिका प्रकाशन गरी गाउँगाउँमा बाँड्थे। 

उनकै अगुवाइमा वीरगंजको रानीघाटमा नवयुवक पुस्तकालय स्थापना भएको थियो। सोही पुस्तकालयले प्रकाशन गरेको हिमाली आवाज पत्रिकाको सम्पादन पाण्डे र गणेश गौतमले गर्थे। 

त्यतिबेला वर्गीय समाज र पञ्चायती व्यवस्था भएका कारण अहिलेजस्तो स्वतन्त्र भएर काम गर्ने वातावरण नभएको उनका सहयात्री एवम् अग्रज पत्रकार नवराज शर्मा बताउँछन्। 

पाण्डेले २०३९ मा देव श्रेष्ठको नाममा दर्ता भएको कुराकानी र प्रयास साप्ताहिकमा लामो समय सम्पादकीय जिम्मेवारीमा रहेर काम गरे। 

पत्रकारिताकै दौरानमा धेरै पटक जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतसम्म पुगे। उनीविरुद्ध झुटा मुद्धा दर्ता गरिएको भएपनि सत्य र न्यायको पक्षमा रहेकै कारण उनले पछि सफाई पाएको पत्रकार शर्मा स्मरण गर्छन्। 

'२०३७ सालबाट हामीसँगसँगै छौँ। प्रश्ट वक्ता, निडर, आत्म स्वाभिमानमा अडिग, मनमा लागेको कुरा भनिहाल्ने, सँधै जनताको पक्षमा लाग्ने उहाँको स्वभावबाट म प्रभावित मान्छे हुँ,' शर्माले भने।

पाण्डे २०५८ साल मंसिर १० गते पत्रकार महासंघ मकवानपुरको अध्यक्ष भएपछि उनले पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउन र सञ्चारकर्मीहरूको हितका लागि धेरै काम गरेको पत्रकार गिरिजाप्रसाद अधिकारी बताउँछन्। 

'पछिल्लो पुस्तालाई संयमित र मर्यादित हुन, आचारसंहिता पालना गर्दै जनताप्रति उत्तरदायी भएर सत्य र निश्पक्ष ढंगबाट काम गर्नुपर्छ भनेर उहाँले सुझाव दिइरहनुहुन्थ्यो,' अधिकारीले भने।

तीन दशक बढी अध्यापन क्षेत्रमा समेत सक्रिय रहेका पाण्डेको निधनबाट नयाँ पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ। 

साधारण जीवनशैली अध्येता पाण्डेको भौतिक शरीर अब हामीमाझ नरहे पनि उनको योगदानले उनलाई अमर राख्ने छ। उनीप्रति भावपूर्ण श्रद्धासुमन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.