हेटौंडामा छठ पर्वको तयारी (फोटोफिचर)
हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो केही वर्षयता छठ पर्वलाई महत्वका साथ मनाउने गरिएको छ।
हेटौंडा-१ राप्ती नदी तटमा छठ पर्वको तयारी पूरा भएको छठ पूजा व्यवस्थापन समितिका सचिव नन्दलाल दासले जानकारी दिए।
उनका अनुसार राप्तीतट सम्याएर ६ सय फिट लामो पण्डाल निर्माण गरिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडकखण्डबाट राप्तीतटतर्फ जाने बाटामा टेन्ट र ध्वजासहितको गेटहरू निर्माण गरिएको छ।
पूजाका लागि आउने भक्तजनहरूका लागि पानी तथा सीतबाच बँच्न नदि किनारामा पाल टाँगिएको छ।
पूजा अवलोकन गर्न आउने पर्यटकहरूका लागि विभिन्न कलात्मक मूर्तिहरू सजाइएको छ भने सेल्फी जोन निर्माण गरिएको छ।
अस्ताउँदो सूर्यको उपासना गरेर सुरु हुने छठ उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुने गर्दछ।
यस वर्ष राप्तीतटमा हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने पूजा व्यवस्थापन समितिका सचिव दासले बताए।