भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज, नेमारलाई राहत
बार्सिलोना : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमारमाथि लागेको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज भएको छ। ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा मुद्दा चलाइएको थियो। नेमारसँगै बार्सिलोना फुटबल क्लबका पूर्व अध्यक्ष सान्तोस रोसेलमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो।
अभियोजनकर्ताले पीएसजीका स्टार नेमारलाई १० मिलियन युरो जरिवाना र दुई वर्षको कारागार सजायको माग गरेका थिए। यसैगरी बार्सिलोनाका पूर्व अध्यक्ष रोसेललाई पाँच वर्ष कैद र १० मिलियन युरो जरिवानाको माग गरिएको थियो।
सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा अनुबन्ध हुँदा नेमार, रोसेल र सान्तोसका तत्कालीन निर्देशक ओडिलियो रोड्रिसले गोप्य सहमति गर्दै बार्सिलोनामा आर्थिक हिनामिना गरेको आरोप अभियोजनकर्ताले लगाएका थिए। नेमार, रोसेल र रोड्रिसले लिखित सहमतिभन्दा बढी आर्थिक अपचलन गरेको भन्दै जरिवाना र कैद सजायको माग गरिएको थियो।
नेमार, रोसेल र रोड्रिससँगै नेमारका बुवा आमा, दाइ, नेमारका मेनेजर र उनीको पारिवारिक व्यवसायमा प्रत्यक्ष रुपमा सहभागी एन एन्ड एन कन्सल्टोरियाका नादिन गोंकाल्वेसमाथि लगाइएको मुद्दा पनि स्पेनिस अदालतले खारेज गरेको छ। अभियोजनकर्ताले मुद्दा फिर्ता लिने घोषणा गरेपछि नेमारलगायतका व्यक्तिहरूले राहतको सास फेरेका हुन्।
नेमारको अनुबन्धका विषयमा बाज्रिलको इन्भेष्टमेन्ट फन्डले पनि मुद्दा दायर गरेको थियो। एक क्लबबाट अर्को क्लबमा जाँदा खेलाडीले ४० प्रतिशत रकम पाउने प्रावधान भए पनि नेमार ब्राजिलबाट स्पेन जाँदा ६.८ मिलियन युरो मात्रै दिएको दाबी गर्दै मुद्दा दायर गरेको थियो।