समावेशीको पर्याय छठ
तिहारको झिलीमिली नसकिँदै छठ सुरु हुन्छ। कार्तिक शुक्ल तृतीयाका दिन अर्थात् भाइटीकाको भोलिपल्ट व्रतालुहरूले ‘अरबा–अरबाइन’ अर्थात् शुद्धशाकाहारी खाएर ब्रतको तयारी गरिने हुन्छ। त्यसैले तिहारसँगै छठको पनि तयारी सुरु गरिन्छ। कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट विधिवत् रूपमा पर्व सुरु गर्ने गरिन्छ। पञ्चमी तिथिका दिन राति एक छाकमात्र शुद्ध घरमा तयार गरिएको प्रसाद तथा नुन नभएको साकाहारी खानेकुरा खाएर ‘खरना’ गर्छन्। यो पर्वमा सूर्यसँगै षष्ठी तिथि पारेर माताको आराधाना गरिने भएकाले यस पर्वको नाम नै ‘छठ’ भनिएको हो।
खासमा ‘षष्ठी’ तिथिकै स्मरणमा मैथिल जनजिब्रोले ‘छठी’ भन्न थालेको पाइन्छ। छठको प्रमुख पूजा वा आराधना अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ अर्थात् पूजा सामग्री चढाउने नै हो। त्यसैले पूजा सूर्य देवताको हो कि षष्ठी माताको ? धेरैलाई द्विविधा होला। छठमा सूर्यदेवलाई साथ र साक्षी राखेर पूजा गरिन्छ। सूर्यदेवकी पत्नी मानिने षष्ठीलाई मानिएकाले आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान्हरूको भनाइ छ। जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रूपमा समेत यस पर्वमा छठी माईको महिमा गाइने गरिएको छ।
छठमा लौका अर्थात् सजमैन वा कदुको बिशेष महत्व छ। कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ को दिन खानामा लौका अर्थात् सजमैन (कदु) अनिवार्य हुनुपर्छ भन्ने मान्यता छ। यो मौसममा सजिलै पाइने तरकारीका रूपमा लौका पहिलेदेखि थियो। लौकालाई किन अनिवार्य गरियो ? यसबारे कतै वर्णन गरिएको पाइँदैन। तर, स्वास्थ्यको दृष्टिकोणले यसमा भिटामिन सी, बी, के, ए र ई पाइनुका साथै फलाम, म्याग्निज, फोलेट, पोटासियमजस्ता अति आवश्यक तत्त्व पाइने हुन्छन्। सजिलै पचाउन सकिने, पानी र फाइबरको मात्रा प्रशस्त भएको, शीतलता र सन्तुलनका लागि उत्तम मानिएकाले नै लौका खानु उपयुक्त हुन्छ।
यही मान्यता र आवश्यकताका कारण बजारमा लौका महँगो हुने गरेको छ। सामान्यतः ५० देखि ७० सम्ममा पाइने लौकाहरूको मूल्य गतवर्ष छठमा २०० देखि २५० सम्म पुगेको थियो। तरकारी महँगो हुँदा कृषकलाई सहयोग नै हुन्छ भन्ने सोचाइ धेरैलाई लाग्न सक्छ। तर, वास्तविकता त्यसो रहेनछ। बजारमा २०० कटिसक्दा पनि कृषकले लौकाप्रति गोटा १५ देखि ३० रुपैयाँ मात्र पाएको रहेछन् भन्दा अचम्म लाग्ला। तर यथार्थ यही रहेछ।
कृषकले घरमा १५ देखि ३० मा बेचेको लौका गाउँकै व्यापारीहरू (स्थानीय भाषामा पैकारहरू) ले सहरका थोक तरकारी व्यापारीलाई ५० देखि १०० सम्ममा बेचेको र सो पुनः खुद्रा तरकारी व्यापारीले १२५ सम्ममा खरिद गरेपछि आमउपभोक्ताले २०० भन्दा मूल्य तिर्नुपर्ने भएको थियो। यो ३–४ तहको व्यापारले उपभोक्ता र कृषक दुवै मारमा परेको स्पष्ट छ।
न धनी, न गरिब, न तल्लो जात, न त अछुत सबैको एउटै पूजा स्थल। असमान्ता र समाजिक भेदभावरहित एउटै विधि र एकै स्थानमा मनाइने सम्भवतः एक मात्र चाड हो छठ। छठको प्रमुख पूजा भनेको षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ अर्थात् ‘सझुका अरख’ र ‘सझिँया–घाट’ र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ ‘भोरका अरख’ दिएर समापन गरिने हो।
छठको मुख्य विधि अर्घ दिनु हो। यो अर्घ दिने काम घरमा नभई खोला–नाला, ताल, तलाउ, पोखरी आदि जलाशयमा घाट बनाएर दिने हो। गाउँमा रहेको जलासय सबैको साझा हुने यसलाई सबै मिलेर सजाउने यसको विशेषता हो। त्यसैले खोई ठूलो र कोही सानो नभई सबै बराबरी र समान देखिन्छ। वर्षभरि आआफ्नो घर र आफन्तको माझमा चाडबाड मनाइएको हुन्छन्। तर, छठ घरमा मात्र हुँदैन। छठ मनाउन छठ–घाटमा जानैपर्ने हुन्छ। काम र अध्ययनका सिलसिलामा बाहिर गएका साथीभाइ, समाजका अगुवा, बालकदेखि वृद्धसम्म सबैलाई घाटमा भेट्ने अनि भलाकुसारी गर्ने अवसर पनि छठले दिएको हुन्छ।
निराहार व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने छठको मुख्य पक्ष वा पूजा हो। यी प्रमुख पूजा घरमा नभई जलाशयमा बनाएको छठ–घाटमा नै हुने गर्छन्। छठमा घाटको विशेष महत्व रहेको हुन्छ। घरनजिक रहेको जलासय अर्थात् पोखरी, खोला, नदि, ताल, तलाउ, नहर छठका लागि रोज्ने गरिन्छ। यस्ता जलासयमा छठ पूजाका लागि घाट बनाउनुपर्ने चलन छ। यस्ता छठ घाटलाई हरियो गोबरले लिपेर, केराको थाम र फूलले सजाउने परम्परा छ। रातको अँध्यारोमा दियो, मैनबत्ती बालेर सजाएको हेर्दा मनमोहक देखिन्छ। सामान्यतः घरमै तयार गरिएको ठेकुवा, खजुर्या, भुसुवा, केरा अनि बारीमा रहेको बेसार, अदुवा, मुला, उखुलगायत फलफूल नै प्रसाद बनाउने गरिन्छ। छठमा बजारका मिठाइ प्रयोग गर्ने चलन खासै छैन। किसान परिवारले आफ्नै उत्पादनले पूजा गर्ने भएकाले छठ सामग्री तयार गर्न मेहनत धेरै हुने, व्रत बस्न कठिन हुने तर महँगो नहुने गरेको बृद्धहरू बताउँछन्।
अहिले समय फेरिएको छ। अहिले आफ्नो उत्पादन छैन। ठेकुवा, खजुर्या, फुसुवाका लागि चाहिने पिठो, तेल, सखरमा हामी आत्मनिर्भर छैनौं। यिनै कुराहरू बजारबाट ल्याउनुपर्ने अदुवा, हल्दि, उखु, तरकारी पनि किन्नुपर्ने बाध्यता थपिएको छ। यी पूजा सामग्री मात्रै होइन, पूजाको घाटका लागि पनि पैसा खर्चिनुपर्ने भएको छ। आफैंले जलाशय सफा गरेर घाट बनाउने अनि केराको थम लगाउने, फूल र कागजले सजाउने काममा कमि आउन थालेको छ। अहिले सामूहिक रूपमा छठ घाट बनाउने, एकै किसिमले सजाउने, झिलमिली बत्तीले सजाउने, चिसोबाट जोगिन टेन्टको व्यवस्थासमेत गरिन्छ। घाटको प्रवेशद्वार बनाउने र घाट व्यवस्थित गरेर छठको अनुहार नै फेरिँदै गएको पाइन्छ। यो व्यवस्थापन कुनै एक व्यक्तिबाट सम्भव हँुदैन, त्यसैले छठ व्यवस्थापन समिति बन्ने र सो व्यवस्थापनका लागि आवश्यक रकम संकलन गर्न थालिएको छ। हुनत यसले व्यवस्थापनमा व्रतालुहरूलाई ठूलो सहयोग मिलेको छ। तर आफैं काम गर्न सक्ने, व्यस्थापन गर्न सक्ने परिवारलाई चाहिँ आर्थिक मार परेको छ। ग्रामीण क्षेत्रमा ठूलो रकम खर्चिनु नपरे पनि सहरी क्षेत्रमा २ हजारदेखि ५ हजारसम्म पनि खर्चिनु परेको छ।
घरमा नै पूजाको सामग्री तयार गर्नुपर्ने, घाट तयार गर्नुपर्ने अनि पूजा सामग्री घाट लानुपर्ने, ३ दिन व्रत बस्नुपर्ने जस्ता धेरै काम छठमा हुने गर्छन्। त्यसैले पनि परिवारका सबै सदस्य उपस्थित हुने, छिमेकी तथा आफन्त, इष्टमित्र सबै जम्मा हुने भएकाले छठ त्यसै धेरै रमाइलो हुने गर्छ। कामको शिलशिलामा गाउँदेखि टाढा गएका साथिभाइ घर आउने र सबैजना घाटमा नै जाने भएकाले कम्तीमा वर्षमा एकपटक भेट्ने अवसर जुर्छ। घाटमा बालबालिका चिर्चिरी, फूलझरी बाल्ने, किशोरकिशोरी टिकटक बनाउने र अलिक पाकाहरू गफमा रमाउने हुन्छ। सन्तान प्राप्ति, सुख–शान्ति तथा अन्य बिशेष भाकल गरेकाले मनाउने यो विशेष पर्व छठ एउटै जातको पनि सबैको घरमा हुँदैन।