स्याङ्जामा सप्रिए सुन्तला

स्याङ्जामा सप्रिए सुन्तला

स्याङ्जा : स्याङ्जामा सुन्तलाको उत्पादन उल्लेख्य रूपमा वृद्धि हुने भएको छ। जिल्लामा एक अर्ब मूल्यबराबरको सुन्तला उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ।  १० वर्षयताकै राम्रो फल लागेको अगुवा किसानले बताएका छन्। सुन्तलाका दाना पनि छिटो पुष्टिएको छ। गत वर्षको तुलनामा ३० देखि ४० प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए। 

सामान्यतया एक महिनापछि हुने जस्ता टम्म र पुष्ट हुने दाना अहिले नै भएका छन्। ‘सुन्तलाका बोटले नै धान्न कठिन हुनेगरी फल लागेको छ। प्रायजसोः बोटमा टेको लगाइएको छ,’ हमालले भने, ‘दाना पहेंला÷पहेंला र गुलियोपन भरिएको छ। यस्तो अवस्था देखिन विगतका वर्ष कात्तिकको अन्तिम साता कुनु पर्दथ्यो।’

सुन्तलाका बोटमा अचाक्ली दाना लागेको किसान फणीनारायण अर्यालले जानकारी दिए। उनले ८० रोपनीमा सुन्तला खेती गर्दै आएका छन्। ‘यस वर्ष मेरो बगैंचामा उत्पादन ३५ प्रतिशतले बढ्ने अनुमान गरेको छु। बजारको चिन्ता लाग्न थालेको छ,’ उनले भने। 

गत वर्ष प्रतिकूल रहेको अवस्थामा पनि स्याङ्जाले  सुन्तला बेचेर ७६ करोड १२ लाख रुपैयाँ भित्र्याएको थियो। जिल्लामा झन्डै २ हजार हेक्टरमा सुन्तला खेती हुन्छ। हावापानी सुन्तला खेतीका लागि उपयुक्त छ। तीमध्ये १ हजार ७ सय हेक्टरमा मात्र सुन्तला उत्पादन लिन सकिन्छ भने बाँकी ४ सय हेक्टरमा सुन्तलाका बिरुवा हुर्कंदो अवस्थाका छन्।

अघिल्लो वर्ष १७ हजार ६ सय ३२ मेट्रिकटन र गत वर्ष १३ हजार ८ सय ४० टन सुन्तला उत्पादन भएको थियो। उत्पादित सुन्तलामध्ये किसानले २५ प्रतिशत आफैं उपभोग गर्छन्। ७५ प्रतिशत सुन्तला बजारमा बिक्री गर्छन्। २० प्रतिशत सुन्तला स्थानीय बजारमा खपत हुन्छ। ८० प्रतिशत सुन्तला जिल्ला बाहिर निर्यात हुने केन्द्रले जनाएको छ। नारायणघाट, बुटवल, पोखरा र काठमाडौं सुन्तलाका मुख्य बजार हुन्। 

कात्तिक अन्तिमदेखि खान थालेको सुन्तला फागुनको पहिलो सातासम्म रहन्छ। बिरुवा रोपेको ५ देखि ७ वर्षभित्रमा फल दिने हुँदा सुन्तला खेतीप्रति किसानको आकर्षण बढ्दो छ। पालिका, सुन्तला सुपरजोन र ज्ञान केन्द्रको सहयोग रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका प्रमुख माधव लम्सालले बताए। 

नेपालमै राम्रो सुन्तला उत्पादन हुने भएकाले यहाँ सुपरजोन परियोजना कार्यान्वयनमा छ। यस वर्ष मौसमले पनि साथ दिएको र विगतका वर्षका तुलनामा औंसालगायतका किराको आक्रमण पनि कम 
देखिएको उनले बताए। 

जिल्लाभर सानाठूला गरी झन्डै ४ हजारभन्दा बढी सुन्तलाका बगैंचा छन्। स्याङ्जाका ६÷७ वडा बाहेक जिल्लाभर सुन्तला खेती अन्त्यन्तै राम्रो हुन्छ। पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुन गाउँपाालिकाका १७ वटा वडामा सुन्तला सुपरजोन परियोजना सञ्चालनमा छन्। किसानले सहकारी, समूह र निजी फार्म दर्तागरी सुन्तला खेती गर्दै आएका छन्। 

पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिकासहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला पकेट क्षेत्र हुन्। चापाकोट नगरपालिका बाहेक जिल्लाका सबै पालिकामा सुन्तलाको उत्पादन राम्रो छ। 

सुन्तलाबाटै बर्सेनि लाखौं रुपैयाँ आम्दानी गर्ने धेरै किसान स्याङ्जामा छन्। सुन्तलाका लागि उर्वर भूमि भएकाले उन्सु, खोकुलगायतका भदौमै पाक्ने सुन्तलाको पनि राम्रो उत्पादन हुने किसान ऋषिकुमारी अर्याल बताउँछिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.