नेपाल र भारतका व्रतालुले सँगै मनाए छठ (फोटोफिचर)
झापा : सीमावर्ती मेची नदी किनार जहाँ नेपाल र भारतका व्रतालु परिवारजनले एक साथ छठ पर्व मनाएका छन्।
नेपाल-भारतको सीमा नाकासँग जोडिएको भद्रपुर-५ स्थित मेची नदी किनारमा वारिपट्टि नेपाली समुदाय र पारिपट्टि भारतीय समुदायका व्रतालु परिवारजनले आइतबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउँदै हर्सोउल्लासका साथ छठ मनाएका हुन्।
नदी किनारको मसानघाट देखि मेची पुलको मुख्यद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजारभन्दा बढी पूजा स्थल (घाट) मा व्रतालु परिवारजनले पानीमा ओर्लिएर सूर्य भगवानको पूजा आराधना गरेका थिए।
मधेसी समुदाय बाहेक अहिले साझा पर्वका रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदा हजारौँ भक्तजनहरूको घुइँचो नै लागेको थियो।
मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि हजारौँ भक्तजन आएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए।
त्यस्तै मेची पुलमा फोटो खिचाउने र भिडियो बनाउनेको दर्शनार्थीहरूको भीड पनि त्यतिकै थियो। मेची किनारमा व्रतालु तथा भक्तजनहरूको सुरक्षाका लागि नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी एक सय ५०, सशस्त्र प्रहरी ६० परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।
जिल्लाको मेचीसहित निन्दा, हडिया, विरीङ, मावा, अदुवा, कनकाई लगायतको नदी किनारहरूमा व्रतालु तथा भक्तजनहरूको छठ पूजा स्थलमा समेत घुइँचो थियो।
भोलि बिहान सोमबार उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिँदै छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।
जिल्लाको मेचीसहित निन्दा, हडिया, विरीङ, मावा, अदुवा, कनकाई लगायतको नदी किनारहरूमा व्रतालु तथा भक्तजनहरूको छठ पूजा स्थलमा घुइँचो समेत लागेको थियो।
सूर्य भगवान् मन्दिरको उद्घाटन
युनिक समूहले भद्रपुर ५ देवीवस्तीस्थित मेची किनारमा निर्माण गरिएको सूर्य भगवान् मन्दिरको उद्घाटन गरेको छ।
मेची निर्भर पार्क निर्माणले नदीको किनारको मुहार फेरिएसँगै युनिक समूहले करिब १२ लाख लागतमा निर्माण गरिएको सूर्य मन्दिरको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले रिबन काटेर उद्घाटन गरेका हुन्।
छठ पर्वको मुख्य दिनमा विशेष पूजा अर्चना पश्चात् मन्दिरको उद्घाटन गरिएको समूहका अध्यक्ष प्रकाश राजवंशीले जानकारी दिए।
समूहमा बचत, वडा कार्यालयको ५ लाख बजेट र बाँकी अपुग रकम विभिन्न दाताहरूबाट सङ्कलन गरी मन्दिर निर्माण गरिएको उनले बताए।
'हरेक वर्ष छठ पर्वको दिन माटोले निर्मित सूर्य भगवानको मूर्ति खरिद गरी ल्याउनुपर्ने बाध्यता थियो,' उनले भने, 'यस वर्षदेखि अस्थायी मुक्ति खरिद गर्ने समस्याको अन्त्य भएको छ।' अब आउँदो वर्षभित्र निर्माणाधीन मन्दिरको बाँकी काम सम्पन्न गरिने उनको भनाइ छ।