हेटौंडामा छठ पर्वको उल्लास (फोटोफिचर)
हेटौंडा : छठ पर्वको मुख्य दिन आज बागमती प्रदेशको राजधानी हेटौंडामा भक्तजनले धार्मिक आस्था, श्रद्धा एवम् विश्वासका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।
बिहानै स्नान गरी निराहार व्रत बसेका व्रतालुले हेटौंडा-१ राप्ती नदीमा कम्मरसम्म आउने पानीमा उभिएर शुद्धता र सामाजिक सद्भावको कामना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्।
सूर्य देवको उपासनासँगै व्रतालुले व्रत संकल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटाको हात्ती, ढकनी, चढाउने परम्परा छ। यसो गर्नाले आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।
भक्तजनलाई राजभरि जाग्राम बस्नका लागि छठ पूजा व्यवस्थापन समितिले व्यवस्थापन मिलाएको छ। भक्तजनलाई पानी तथा शीतबाट जोगाउन ६ सय फिट लामो पण्डाल र पाल टाँगिएको समितिका सचिव नन्दलाल दासले जानकारी दिए।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडकखण्डबाट राप्ती तटतर्फ जाने बाटामा टेन्ट र ध्वजासहितको गेटहरु निर्माण गरिएको छ।
ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने भएकाले सुरक्षा चुनौती नहोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग समन्वय गरी सिभिल र पोशाकमा बाक्लो संख्यामा प्रहरी खटाइएको सचिव दासले बताए।
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्व रातभरी जाग्राम बसेका भक्तजनले भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रूपमा सम्पन्न हुनेछ। पछिल्लो केही वर्षयता हेटौंडामा पनि छठ पर्वलाई महत्वका साथ मनाउने गरिएको छ।
तस्बिरहरू बलराम पुडाशैनी