सरकारी गाडी दुरुपयोग गर्दै मुस्ताङ भ्रमणमा
जोमसोम : बाग्मती प्रदेशका एक कर्मचारीले सरकारी गाडीको दुरुपयोग गर्दै परिवार लिएर मुस्ताङका आएका छन्। आफ्नो परिचय बाग्मती प्रदेशअन्तर्गत कृषि मन्त्रालयको सहसचिव बताउने उनी सरकारी गाडी चढेर परिवारसहित मुस्ताङ घुम्न आएका हुन्।
बाग्मती प्रदेश ०१–००२ झ ५७६२ नम्बर भएको उक्त सेतो प्लेट गाडी मुक्तिनाथ दर्शन गरी फर्किदा मुस्ताङका स्थानीय पत्रकारहरुले अनुमगन गर्दा दुरुपयोग भएको पाइएको हो। स्थानीय पत्रकारहरुले मुस्ताङको पुथाङ एअरपोर्टमा बाग्मती प्रदेशको सरकारी गाडी फेला पारेका थिए । पत्रकारहरुले बाग्मती प्रदेशको गाडी विदाको समयमा किन र कुन कार्यक्रमका लागि लिएर आउनु भएको हो भनी सोधिएको प्रश्नमा उनले आफू सहसचिव भएकाे मात्र बताए । ती सहसचिवसहित सो गाडीमा ७ जना मुस्ताङ आएका थिए। जसमध्ये दुई जना महिला एक जना बालक र अरु तीन जना पुरुष थिए।
अहिले बाग्मती प्रदेशको साे गाडी मुस्ताङबाट बाहिरिसकेको छ।
पछिल्लो समय सरकारी गाडी दुरुपयोग गरी मुस्ताङ आउने क्रम बढ्दो छ। बिना कुनै कार्यक्रम केवल परिवारिक भ्रमण गर्ने क्रममा सरकारी कार्यालयका कर्मचारीदेखि उच्च ओहोदाका व्यक्तिहरु मुस्ताङ आउन थालेका हुन्। सरकारी गाडी कार्यालय प्रयोजन बाहेक दूरुपयोग गर्न पाइदैन।
तिहार र छठ पर्वको बीचमा मुस्ताङमा ११ वटा सकारी गाडी भित्रिएको प्रहरी चौकी घाँसाले जनाएको छ।