सामुदायिक प्रहरी सेवा केन्द्रलाई भवन हस्तान्तरण
हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रलाई सोमबार भवन हस्तान्तरण गरिएको छ।
आज एक कार्यक्रमका बीच सेवा क्यानडा इन्टरनेशनलको सहयोग तथा सेवाका लागि युवा नेपालको समन्वयमा सेवा केन्द्र परिसरमा निर्माण गरिएको भवन हस्तान्तरण गरिएको हो।
सेवाका लागि युवा नेपालका अध्यक्ष छेवाङ कर्मा तामाङले सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टलाई भवनको स्वामित्व हस्तान्तरण गरेका हुन्।
भवन तथा स्वास्थ्य उपकरणको स्वामित्व हस्तान्तरण पत्रमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमसमेतले हस्ताक्षर गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले सेवा केन्द्र सञ्चालनका लागि आवश्यक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय समन्वय गर्न तयार रहेको बताए।
भवनमा २० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ भने विभिन्न स्वास्थ्य उपकरण तथा केही औषधिसमेत तयारी अवस्थामा राखिएको छ।
२०७६ माघ १२ गते निर्माण सम्झौता भएको भवन तथा आइसोलेसन कक्षको कुल लागत ४७ लाख २३ हजार रुपैयाँ रहेको सेवा केन्द्रका अध्यक्ष विष्टले जानकारी दिए।
सो भवनलाई आपतकालीन अवस्था, स्वास्थ्य महामारी तथा प्राकृति प्रकोप, विपत्ती, दुर्घटना र समुदायमा रहेका नागरिकहरूको स्वास्थ्य उपचारका लागि प्रयोगमा ल्याइने उनले बताए।