मतपत्रबाहेक निर्वाचन सामग्री मुस्ताङ आइपुग्यो
जोमसोम : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि चाहिने ५२ थरीका निर्वाचन सामग्री सोमबार मुस्ताङ आइपुगेको छ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक मतपत्रबाहेक निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री कार्यालयलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्यालले जानकारी दिए।
निर्वाचन आयोगले मुस्ताङका लागि आवश्यक पर्ने निर्वाचन सामग्री कन्टेनरमा ढुवानी गरी मुस्ताङ पठाएको हो।
आयोगले हिमाली जिल्ला मुस्ताङका लागि निर्वाचन प्रयोजनार्थ ५० थान मतपेटिकासहित छेकेवारा, रबर म्याट, सुरक्षणशील, स्वस्तिक छाप, लाहाछाप र मतदाता नामावली लगायतका ५२ थरी विभिन्न सामग्री मुस्ताङ पठाएको कार्यालय प्रमुख अर्यालले बताए।
निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्रीबाहेक करिब १५ थरीको निर्वाचन सामग्री कार्यालय आफैंले खरिद गरेको हो।
कार्यालयले यसअघि कार्यालयमा मौजाद रहेका मतपेटिकालाई मध्यनजर गर्दै आवश्यक संख्या तोकेर आयोगमा मतपेटिका बाकस माग गरेको थियो।
आयोगले कन्टेनरमा ढुवानी गरेर मुस्ताङ पठाएको निर्वाचन समाग्री। तस्बिर : सुन्दरकुमार थकाली