काठमाडौं-६ मा ह्याट्रिक गर्ने दाउमा भीमसेनदास, साहाना र अष्टलक्ष्मीको साख जोगाउन संघर्ष गर्दै सर्वेन्द्र

काठमाडौं-६ मा ह्याट्रिक गर्ने दाउमा भीमसेनदास, साहाना र अष्टलक्ष्मीको साख जोगाउन संघर्ष गर्दै सर्वेन्द्र

काठमाडौं: काठमाडौंका सबै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । सबै क्षेत्रमा उम्मेदवार मतदातासँग मत माग्दै विभिन्न कार्यक्रम तथा घर दैलो अभियानमा छन् । यी अभियानमा सहभागी उम्मेदवारले आफू आफूले जित्ने दावी गरे पनि अभियानमा सहभागी नेता तथा कार्यकर्ता र उम्मेदवारलाई सघाउनेले भने मिश्रित प्रतिक्रिया दिने गरेका छन् । 

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ मा भएको चुनावी प्रतिस्पर्धाले पनि यस्तै मिश्रित टिप्पणी पाउने गरेको छ । सत्ता गठबन्धनले आफूले जित्ने दाबी गरे पनि एमालेले पनि जित करिब निश्चित भएझै टिप्पणी गर्दै आएको छ । 

यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्रीसमेत रहेका भीमसेनदास प्रधान चुनावी मैदानमा छन् भने प्रहरी संगठनमा रहँदा निक्कै चर्चामा रहेका सर्वेन्द्र खनाल नेकपा एमालेको तर्फबाट चुनावी मैदानमा छन् । अहिलेसम्मको सांगठनिक मतको प्रणालीलाई हेर्दा यो क्षेत्रमा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

प्रधान पूर्व रक्षामन्त्री र खनाल नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक, दुवै सुरक्षा निकायसँग जानकार र नजिक भएकाले चुनावी प्रतिस्पर्धा पनि उस्तै रोचक र कडा हुने विश्लेषण हुने गरेको छ । 

यो क्षेत्रमा जनता समाजवादी पार्टीका ४१ वर्षीय मनोज आचार्य, राप्रपाका ७२ वर्षीय विष्णुप्रसाद आचार्य, राप्रपा नेपालका ३३ वर्षीय महेश्वर कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका ४३ वर्षीय शिशीर खनाललगायतले प्रधान र खनाललाई चुनौती दिने देखिन्छ । सत्ता गठबन्धन दलले कांग्रेसलाई धोका नदिए प्रधानको जित सुनिश्चित रहेको राजनीतिक विश्लेषकको भनाइ छ । राप्रपासँग चुनावी तालमेल गर्ने चर्चा चले पनि तालमेल नहुँदा केही घाटा खनाललाई पर्ने देखिन्छ ।  यद्यपी यो क्षेत्रबाट एमालेकी साहाना प्रधान र  अष्टलक्ष्मी शाक्य विजयी भएका थिए । 

प्रधान पूर्व रक्षामन्त्री र खनाल नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक, दुवै सुरक्षा निकायसँग जानकार र नजिक भएकाले चुनावी प्रतिस्पर्धा पनि उस्तै रोचक र कडा हुने विश्लेषण हुने गरेको छ । 

२०७४ सालको निर्वाचनमा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए । जितमा उनले १६ हजार सात सय ८५ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी १५ हजार चार सय ८५ मत ल्याए । विवेकशील साझा पार्टीका रमेश चिलुवालले ४ हजार २२५ मत ल्याएका थिए । जनसमाजवादी पार्टीका शैलेसराज श्रेष्ठले ७९१ मत ल्याएका थिए । 

भिमेनदास २०६४ को संसदीय चुनावमा पराजित नेता हुन् । उनलाई तत्कालीन एकीकृत नेकपा मा‌ओवादीका हीतमान शाक्यले पराजित गराएका थिए । त्यसपछि २०७०, २०७४ सालको संसदीय चुनावमा विजयी हुँदै आएका छन् । २०७४ मा बाम गठबन्धन हुँदा पनि प्रधानले जितेका थिए । 

२०५१ सालको निर्वाचनमा यो क्षेत्रमा एमालेकी साहाना प्रधानले कांग्रेसका दामोदर गौतमलाई पराजित गरेकी थिइन् । २०५६ सालमा एमाले कै अष्टलक्ष्मी शाक्यले कांग्रेस उम्मेदवार मार्शल जुलुम शाक्यलाई पराजित गरेकी थिईन् ।

यसरी हेर्दा यो क्षेत्रको मत चलायमान देखिन्छ । यहाँका मतदाताले उम्मेदवार अनुकुल मतदान गरेको देखिन्छ । जसले यसपालीको निर्वाचनमा पनि उतारचडाव हुने देखिन्छ । 

अहिले काठमाडौं-६ मा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमा प्रधान नेपाली कांग्रेस काठमाडौंको सदस्यदेखि सचिव हुँदै जिल्ला सभापतिसम्म भएर काम गरेका छन् । उनको जन्मेको, हुर्केको र राजनीति गरेको क्षेत्र पनि यही हो । विज्ञान संकायमा स्नातकोत्तर गरेका उनी २०६२/२०६३ को आन्दोलनमा संयोजक भएर भूमिका निर्वाह गरेका थिए । 

त्यस्तै एमालेबाट उम्मेदवार बनेका खनाल नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक भएर काम गरेका व्यक्ति हुन् । अपराध नियन्त्रण तथा  समाज रूपान्तरणमा उनको योगदान रहेको चर्चा गर्ने गरिन्छ । उर्भर समय प्रहरी संगठनमा रहेर नेपाल प्रहरीको नेतृत्व गरेका उनी ६ असोज २०७९ मा एमाले प्रवेश गरेर राजनीति थालेका हुन् । आफूले संगठनमा रहेर गरेको काम र आफ्नो क्षमतालाई हेरेर जनताले मत दिने विश्वास खनालले गरेका छन् । 

काठमाडौँ क्षेत्र नम्बर-६ मा ६२ हजार १०२ मतदाता छन् । जसमध्ये ३२ हजार १३८ पुरुष र २९ हजार ९६३ महिला मतदाता छन् ।

यी दुईका चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीका शिशीर खनाललाई लिइएको छ । खनालले काट्ने मतले सत्ता गठबन्धन र एमाले कसलाई कति लाभ कति हानी भन्ने तय हुने छ । टिच फर नेपाल शैक्षिक संस्थाको स्थापना गरी नेतृत्वमा रहेर काम गरेका उनी तुलसीपुर उपमहानगपालिकामा शिक्षा सल्लाहकारको भूमिका पनि काम गरेका थिए । शैक्षिक अभियान्ता, उद्यमी र सार्वजनिक नीतिको जानकार खनाल शैक्षिक विकासमा अब्बल भूमिका खेल्ने अपेक्षा उनका समर्थकको छ । 

यस्तो छ अंकगणित
काठमाडौँ क्षेत्र नम्बर-६ मा ६२ हजार १०२ मतदाता छन् । जसमध्ये ३२ हजार १३८ पुरुष र २९ हजार ९६३ महिला मतदाता छन् । यसअघि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ५८ हजार १८७ मतदाता थिए । ०७४ को निर्वाचनमा ४० हजार ४५५ मत खसेको थियो । गत प्रतिनिधि सभा निर्वाचनको तुलनामा यो पटक ३ हजार ९१५ मतदाता थपिएका छन् । थपिएका मतदाता मध्ये अधिकांश २५ देखि ५० वर्ष उमेर समूहका छन् । 

यो निर्वाचन क्षेत्रमा काठमाडौं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नम्बर १, ८, ९, १०, ११ र तारकेश्वर नगरपालिकाको वडा नम्बर १, २, ६, ७, ८, ९, १० र ११ पर्छन् । यो क्षेत्रमा काठमाडौं महानगरको ठमेल, लैनचौर, असन, कमलादी, सामाखुसी, बानियाँटार, धर्मस्थली, पूरानो बसपार्कलगायतका क्षेत्र पर्छन् । 

वडाध्यक्षले प्राप्त गरेको मत विश्लेषण गर्दा गत स्थानीय तहको निर्वाचनमा काठमाडौं २६, २७ र २८ मा कांग्रेसले धेरै मत पाएको छ । टोखा १ मा कांग्रेस, तारकेश्वर १, ९ मा एमाले तथा वडा नम्बर २, ६, ७, ८, १० र ११ मा कांग्रेस विजयी भएको थियो । 

स्थानीय तह निर्वाचनमा खसेको मतमा कांग्रेस पहिलो पार्टी बनेको थियो । कुल प्राप्त मत विश्लेषण गर्दा कांग्रेसले १७ हजार २८३ मत ल्याएको थियो । एमालेले १३ हजार ६९३ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले २ हजार ४४९ मत ल्याएको थियो । नेकपा एकीकृत समाजवादी १ हजार ७७९ र राप्रपाले १ हजार ४३६ मत ल्याएको थियो । वडाध्यक्षको मत आंकलनमा नेमकिपाको मत २८९ थियो । 

पछिल्लो राजनीतिक उत्तारचढाव तथा मतदातामा सिर्जित नयाँ सोच र राजनीतिक दल तथा उम्मेदवारको चुनावी घोषणापत्र प्रतिबद्धतापत्रले मत परिणाममा फरक पार्न सक्छ । को कति पल्लाभारी त्यो भने निर्वाचन परिणामले नै देखाउने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.