हेटौंडामा बाघ समात्न ट्रयापिङ क्यामेरा जडान
हेटौंडा : मकवानपुरको हेटौंडा-१, भैरवडाँडामा बाघ समात्न स्वचालित ट्रयापिङ क्यामेरा जडान गरिएको छ।
बुधबार डिभिजन वन कार्यालय हेटौंडा र हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले भैरवडाँडास्थित वन क्षेत्रमा चारवटा ट्रयापिङ क्यामेरा जडान गरेको हो।
क्यामेराले त्यसक्षेत्रको गतिविधि सूक्ष्म रूपमा कैद गर्ने र बाघको आक्रमणबाट स्थानीयलाई जोगाउन आवश्यक पहल गर्न सहज हुने वडाध्यक्ष सविन न्यौपानेले बताए।
'हामीले जडान गरेको क्यामेरा दुई दिनपश्चात् हेर्नेछौं। त्यसक्षेत्रमा बाघ भए क्यामेरामा देखिनेछ', वडाअध्यक्ष न्यौपानेले भने।
आइतबार बिहान साढे ११ बजे एउटा बाख्रा र एउटा खसी मारेको बाघ सोमबार साँझ पनि भैरवडाँडा क्षेत्रमा देखिएकाले सोही स्थानमा क्यामेरा जडान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईले बताए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सो क्षेत्रमा बाघ देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।