पहिलो आमनिर्वाचन : १०९ क्षेत्र, ७ सय उम्मेदवार
मुलुकमा पहिलो आमनिर्वाचन २०१५ सालमा भएको थियो। त्यसबेला १ सय ९ क्षेत्र निर्धारण गरिएका थिए। प्रत्यक्ष चुनावमा सात सयभन्दा बढी उम्मेदवार थिए। निर्वाचन आयोगले प्रकाशन गरेको ‘नेपालको निर्वाचन इतिहास’मा ४२ लाख ४६ हजार ४ सय ६८ मतदाता अर्थात् ४२.१८५ प्रतिशतले मत खसालेका उल्लेख छ। २०१५ फागुन ७ मा सुरु भएको थियो। मत परिणामको अन्तिम नतिजा २०१६ वैशाख २८ गते प्रकाशन गरिएको थियो।
त्यस बेलाका चुनावी सरकार प्रमुख सुवर्णशमशेर ‘म्यान अफ दि इलेक्सन’ भएका थिए। उनले क्षेत्र नम्बर ५२ (बारा मध्य उत्तर), क्षेत्र नम्बर ५३ (बारा पर्सा पूर्वान्त) र क्षेत्र नम्बर ९१ (गुल्मी दक्षिण–पश्चिम) गरी तीन ठाउँमा जितेका थिए। उनले क्षेत्र नम्बर ५३ लिएर अरू छाडेका थिए। क्षेत्र नम्बर ५२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय गोरखा परिषद्का मनमोहन मि श्र निर्वाचित भएका थिए। क्षेत्र नम्बर ९१ मा कांग्रेसकै पुष्करनाथ पोखरेल उपनिर्वाचनमा विजयी भएका थिए।
दुई क्षेत्रबाट जित्ने उम्मेदवार थिए नेपाली कांग्रेसकै नेता शिवनाथ पन्त। उनले क्षेत्र नम्बर ७० (थलरा डोटी उत्तर)मा र क्षेत्र नम्बर ७१ (डोटी दक्षिण)मा जित हासिल गरेका थिए। पन्तले डा. केआई सिंहलाई हराएको क्षेत्र नम्बर ७१ लिएर ७० छोडेका थिए। उपनिर्वाचनमा नेपाली कांग्रेसकै नवराज जोशी निर्विरोध भएका थिए।
निर्वाचन परिणामअनुसार रूख चुनाव चिह्न भएको नेपाली कांग्रेसले एक्लै दुईतिहाइ अर्थात् ७४ सिट ल्याएको थियो। झुपडी चुनाव चिह्न भएको राष्ट्रिय गोरखापरिषद् १९ सिट ल्याएर प्रमुख प्रतिपक्षी दल बनेको थियो। पाँच सिट जितेर तेस्रो स्थानमा आएको संयुक्त प्रजातन्त्र पार्टीको चुनाव चिह्न धानको बाला थियो।
चार सिट जितेर चौथो स्थानमा आएको नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिह्न तीन घोगा मकै र हँसिया थियो। नेपाल प्रजापरिषद्को भद्रकाली मिश्र गुटको चुनाव चिह्न हलोले दुई सिट जितेको थियो। प्रजा परिषद्कै धानको डालो चुनाव चिह्नबाट चुनाव लडेको टंकप्रसाद आचार्य गुटले एक सीट जितेको थियो। चार स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।
- नेपाली कांग्रेसले ल्याएको थियो दुईतिहाइ अर्थात् ७४ सिट
- चुनावी सरकार प्रमुख सुवर्णशमशेर बनेका थिए ‘म्यान अफ दि इलेक्सन’
- उनले जितेकामध्ये क्षेत्र नम्बर ५३ लिएर छाडेका थिए क्षेत्र नम्बर ५२ र क्षेत्र नम्बर ९१
- २०१५ फागुन ७ मा सुरु भएको चुनावको मतपरिणामको अन्तिम नतिजा आएको थियो २०१६ वैशाख २८ गते