भन्छन् -चुनावका बेला घरमै आएर अंकमाल गर्ने नेता पाँच वर्षसम्म फर्केर आउँदैनन्
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीका हंशबहादुर तिरुवा खेतमा काम गरिरहेका थिए । अहिले किसानले धान भित्र्याउने र गहुँ छर्न खेतमा खनजोत गर्ने समय हो । तर, खेतमा काम गरिरहेका तिरुवालाई नानीहरुले बोलाएपछि उनी घर गए।
‘घरमा चुनाव प्रचारका लागि नेताहरु आइपुगेका रहेछन्, बच्चाले बोलायो, आउनै पर्यो, 'तिरुवाले भने, ‘दिनदिनै भोट माग्ने आउनेहरुले हैरान पारेका छन् ।’
तिरुवाको घरमा गठबन्धनका उम्मेदवारको टोली पुगेर फर्किएको मात्र के थियो । एकैछिनमा उनको घरमा नेकपा एमालेको टोली भोट माग्दै पुग्यो । एउटा टोलीलाई भोट दिउँला भनेर फेरि खेततिर हानिएका तिरुवालाई घरबाट फेरि बुलाव आयो । ‘फेरि को आएछ भन्दै घर आए, अर्को पार्टीका उम्मेदवार रहेछन, उनलाई पनि हुन्छ हुन्छ भनेर टर्काए,' तिरुवाले भने ।
धनगढी १८ फुलबारीकै अमर पौडेलले पनि तिरुवाको जस्तै गुनासो गरे । ‘धान काटेर भिञ्याउने चटारो छ, ट्याक्टर लगाएर खेत जोत्नु परिहेको छ । अब गहुँ छर्ने समय पनि भइसक्यो, तर दिनभरी उम्मेदवारहरु घरमा आएर हैरान पार्ने गर्छन,' पौडेलले भने ।
उनले आएका नेताहरुलाई डिजेल र मल उपलब्ध कहिले हुन्छ भनेर सोधेको बताए । ‘बजारमा डिजेल सितिमितिले पाइदैन, पाइयो भनेपनि भाउ बढेर लिटरको १८० भएको छ । मैले त उम्मेदवारहरुलाई मल कहिले आउँछ ? भनेर सोधे । हामीले मत त दिने, तपाईंहरुले हामीलाई के दिने भनेर सोधे ? पोर साल यो बाटो पक्की बनाउँछु भनेको होइन ? खै त बनाएको भनेर सोधे ? गाउँमा बिजुली थिएन, तुरुन्तै आइहाल्छ भनेको होइन ? खै त आएको भनेर सोधे,' पौडेलले भने ।
प्रदेशको राजधानी भएको उपमहानगर भएपछि धनगढीका वडा नम्बर १४ देखि १९ सम्मको विकास खासै भएको छैन । धनगढी नगरपालिका हुँदा मिलाइएका फुलबारी र उर्मा गाविस भएको क्षेत्र अहिले पनि अविकसित छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगर पुरै र अहिलेको कैलारी गाउँपालिकाका २ वडा ( वडा नम्बर ६ र ९) पनि पर्छन् ।
हरेक पाँच वर्षमा हुने चुनावमा नेताहरु घरमा आएर बाचाकसम गर्ने, तर त्यसपछि अर्को चुनावमा मात्र भोट माग्न आउने प्रवृति देखेर मतदातामा निरासा छाएको छ । ‘हाम्रो गाउँमा बाटो पक्की बनाइदिने भनेका थिए, खोलामा तटबन्ध बनाइ दिने भनेका थिए । घर/घरमा रोजगारी दिन्छौं भनेका थिए । मल, बिउ र इन्धनको कहिल्यै अभाव हुँदैन भनेका थिए, तर यसपाली मलबीना रोपाइँ गरियो,' धनगढी वडा नम्बर १९ का बलराम चौधरीले भने ।
फुलबारी र उर्मा गाउँ बाढीबाट बढी ग्रस्त स्थान हो । त्यहाँ हरेक बर्खामा मोहना नदी, शिवगंगा नदीले कटान र डुबान गर्छ । ‘हरेक पटक जिताएका नेताले यो समस्या समाधान हुन्छ भनेका थिए, तर जितेपछि फर्केर आउँदैनन्, अब त भोट पनि नदिउ कि जस्तो लाग्छ,' चौधरीले गुनासो गरे ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १० का राकेश रानालाई पनि नेताहरुको प्रवृत्ति चित्त बुझेको छैन । ‘जसरी भोट माग्ने बेला समस्या के छन् ? भनेर नेताहरु घरदैलोमा आउँछन, त्यसैगरी विपत परेका बेला आउनुपर्यो, विपत परेका बेला जनता मरे पनि चाँसो हुँदैन, अहिले चुनावका बेला दिनमा दुई/दुई पटक समस्या सोध्न आउँछन, अब विश्वास लाग्न छोडिसक्यो,' उनले भने ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ एक पटक प्रधानमन्त्री शेरबहादुर देउवाले जितेको ठाउँ हो । कैलालीमा ६ निर्वाचन क्षेत्र भएका बेला, यस क्षेत्रबाट २०७० सालको संविधान सभा निर्वाचनमा देउवाले चुनाव जितेका थिए । २०७४ सालमा देउवापत्नी आरजुले चुनाव लडेपनि पनी पराजित भईन । एमालेका नारदमुनी रानाले चुनाव जिते ।
यसपाली सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त र नेकपा एमाले नारदमुनी राना चुनावी प्रतिस्पर्धामा छन् । पन्त यसअघि कैलाली ५(२) बाट प्रदेश सभा सदस्य हुन भने राना प्रतिनिधि सभा सदस्य हुन् ।
नेताहरुका कामले जनतामा निरासा देखिएको छ ।
उमेदवारहरुले गाउँगाउँमा टोल भेला गर्न खोजे पनि मतदाता जुटाउन सकिरहेका छैनन् । खेतबारीको काममा व्यस्त भएकाले पनि मतदाता नजुटेका हुन् । अझ विगतका निर्वाचनमा जसरी गाउँगाउँ पार्टीका झण्डामय हुन्थ्यो, घर/घरमा पार्टीका झण्डा फहराउँथे, त्यो रौनक यसपाली गाउँमा देखिएको छैन ।
विगत पाँच वर्षमा अधिकांश नेताहरुले, गाउँमा दिएका योजनाहरुबाट मतदाताबाटै कमिसन मागे । चुनावका बेला घरमै गएर अंकमाल गर्ने नेता, त्यसपछिका पाँच वर्षसम्म फर्केर नआएको अधिकांश मतदाताको गुनासो छ ।