अटो चालक बस्नेत भन्छन् : 'कृतिम खुट्टा मेरो सारथी बनेको छ'

अटो चालक बस्नेत भन्छन् : 'कृतिम खुट्टा मेरो सारथी बनेको छ'

हेटौंडा : पाँच वर्ष अगाडि सवारी दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका ४१ वर्षीय इन्द्रबहादुर बस्नेत अहिले अटो चलाउँछन्। कृतिम खुट्टाको साहारामा उनी बिहानै अटो लिएर घरबाट निस्कन्छन् र दिनभर हेटौंडा, चौघडा, बस्तीपुरलगायत क्षेत्रमा अटो चलाउँछन्। यो उनको दैनिकी हो।

अटो चलाउँदा राम्रै कमाइ हुने बस्नेत बताउँछन्। 'दैनिक हुने खर्च कटाएर मासिक ३० हजारभन्दा बढी बचाउँछु। अन्य काम मेरा लागि असहज हुन्छ। यसमै आनन्द छ, यसमै आम्दानी छ,' उनले भने। 

हेटौंडा-३ स्थायी घर भएका बस्नेतले अटो चलाएरै परिवार धानेका छन्। 'घरमा वृद्ध बुबा हुनुहुन्छ, श्रीमती र एउटा सानो छोरा छ। बस्नेत भन्छन्, छोरालाई बोर्डिङ स्कुलमा पढाएको छु,' श्रीमती पनि खुसी छिन्।

२०७४ साउन २७ गते बस्नेत चालक रहेको ट्रक काठमाडौंबाट हेटौंडातर्फ आउँदै गर्दा ब्रेक फेल भएर धादिङमा दुर्घटना भएको थियो। सोही दुर्घटनामा घाइते भएका उनले दाहिने खुट्टा गुमाउनुपर्‍यो। शारीरिक रूपमा अशक्त भएपछि उनी एक दशकभन्दा बढीदेखि गर्दै आएको पेशा छाड्न बाध्य भए। 

परिवारमा आर्थिक समस्या थपिँदै गयो, समाजमा सहयोग गर्ने भन्दा पनि हेप्ने जमात बढ्दै गएको बस्नेत सम्झन्छन्। 

'कमाउने बाटो नहुँदा निकै समस्या झेलेँ, शारीरिक रूपमा अपाङ्गता भएका मानिसहरूले पनि अटो चलाउन सक्छन् भन्ने थाहा पाएपछि मैले यो पेशा रोजेँ,' 'उनी भन्छन्, धेरै ठूलो खर्च पनि नलाग्ने भएकाले ऋण निकालेर अटो निकाले अहिले किस्ता तिरिरहेको छु।'

कृतिम खुट्टा समय-समयमा फेरिरहनुपर्ने उनको भनाइ छ। हेटौंडा उपमहानगरपालिका र नारायणी संघले उनलाई कृतिम खुट्टा दिएको थियो। तर, धेरै समय टिकेन। 

'त्यसपछि धेरै ठाउँमा धाएँ, सहयोगको याचना लिएर गएको म धेरै पटक खाली हात फर्किएको छु। पोहोर साल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले कृतिम खुट्टा किन्न ५० हजार दिनुभयो। यसपाली ७५ हजार बराबरको खुट्टा किनिदिनुभएको छ,' उनले भने।

बस्नेतले जीवनमा धेरै समस्या झेलेका छन्। २०५९ मा उनी सशस्त्र प्रहरी बलमा जागिरे थिए। तत्कालीन माओवादीले बुबा आमालाई घरमै आएर धम्क्याउने, दाजुहरूलाई अपहरण गर्ने गरेपछि बल्लतल्ल आएको जागिर छाड्न उनी बाध्य भए। 

'पहिल्यैदेखि गाडी चलाउन सिकेको थिएँ। २०६५ मा सशस्त्र प्रहरी बलको जागिर छाडेपछि आफूले जानेकै पेशामा लागेँ। तर, दुर्भाग्य खुट्टा गुमाउनुपर्‍यो।'

जीवनमा अनेक चुनौती झेलेका बस्नेतले कहिल्यै हरेस खाएनन्। उनी पुनः पेशामा नै फर्किए र अटो चलाउन थाले।
कहिलेकाँही कृतिम खुट्टा जोडेको ठाउँमा निकै दुख्छ। बस्नेत अबेरसम्म अटो चलाउन सक्दैनन्। 

उनी भन्छन्, 'सुरु सुरुमा त निकै गाह्रो लाग्थ्यो, हिम्मत कहिल्यै हारिन अहिले बानी पर्दै गयो।' 

अपाङ्ग भएकै कारण आफूले सवारी चालक अनुमति पत्र नपाएको र ट्राफिकले बेला बेलामा दुःख दिने गरेको उनी गुनासो गर्छन्। 

राष्ट्रिय अपाङ्ग महासंघले अपाङ्गता भएकाहरूलाई पनि सवारी चालक अनुमति दिन सम्बन्धित निकायसँग पहल गरिरहेको भएपनि राज्यले सो व्यवस्था कार्यान्वयनमा ल्याउन सकेको छैन। 

बस्नेत सबैलाई हरेस नखान सुझाव दिन्छन्। उनले अन्नपूर्ण पोष्टसँग भने, 'कृतिम खुट्टा नै जीवनको सारथी बनेको छ। परिस्थिति जस्तोसुकै आउन सक्छ, मलाई देखेर अरूलाई प्रेरणा मिलोस्।'  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.