पञ्चायतदेखि निरन्तर उम्मेदवार

पञ्चायतदेखि निरन्तर उम्मेदवार

हेटौंडा : राजनीतिमा पुस्तान्तरणको चर्को बहस चल्दै आए पनि चुनावी भिडन्तमा भने पञ्चायतकालदेखि प्रतिस्पर्धा गर्ने नेताहरूसम्म छन्। तिनै नेतामध्ये पर्छन् कमल थापा, अर्जुननरसिंह केसी, शरतसिंह भण्डारी, दीपक बोहरा, डा. प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङ। 

कांग्रेसका केसी, लोसपाका भण्डारी, राप्रपाका बोहरा, डा. लोहनी र तामाङ २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। राप्रपा नेपालका अध्यक्ष थापाले २०३८ मा हार व्यहोरेका थिए। यी नेता ४१ वर्षपछि पनि चुनावी मैदानमा छन्। डा. लोहनी र तामाङ समानुपातिक अनि थापा, केसी, भण्डारी र बोहरा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। थापा एमालेको सूर्य चुनाव चिह्न लिएर मकवानपुर १ मा उठेका छन्। सिंह नुवाकोट २ मा उम्मेदवार छन्। बोहरा रुपन्देही ३ मा प्रतिस्पर्धा गरिरहेका छन्। भण्डारी महोत्तरी २ मा चुनावी मैदानमा छन्।

कमल थापा : दुईपटक जित, एकपटक समानुपातिक 

धेरै पटक मन्त्री हुनेको सूचीमा पर्नेमध्ये एक नेता हुन्, राप्रपा नेपालका अध्यक्ष थापा। गृहजिल्ला मकवानपुरबाट चुनाव लड्दै आएका उनले विजयको स्वाद भने दुई पटक मात्र पाएका छन्। ६७ वर्षीय थापाले पहिलो पटक २९ वर्षको उमेरमा २०३८ सालमा चुनाव लडेका थिए। पञ्चायत पक्षधर थापा जनमुखी सहकर्मी भनेर चिनिने रूपचन्द्र विष्टसँग पराजित भए। २०४३ सालमा पहिलो पटक निर्वाचित भए। उनले ओमा टेम्पो लामालाई हराएका थिए। बहुदल आएपछि २०४८ सालमा मकवानपुर १ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भए। दाहालसँग तीनपटक पराजय भोगेका थापा यसपटक एमालेकै चुनाव चिह्नबाट उम्मेदवार बनेका छन्। 

उनी २०५१ मा मकवानपुर १ बाट विजयी भए। २०५६ मा हार व्यहोरे। २०५१ र २०५६ मा मकवानपुर १ र ३ बाट उठेका थिए। उनी २०५१ मा मकवानपुर ३ र २०५६ मा दुवै क्षेत्रमा पराजित भएका थिए। २०६४ को संविधानसभा निर्वाचन पनि उनलाई फापेन। मकवानपुर ३ र काठमाडौं ५ दुवै क्षेत्रमा हारे। 

उनी २०७० मा प्रत्यक्षतर्फ उम्मेदवार बनेनन्। समानुपातिकबाट संविधानसभा सदस्य बने। २०७४ मा कांग्रेसको समर्थनमा मकवानपुर १ मा उठे। तर, तेस्रो पटक एमालेका दाहालसँग ५ हजार ९ सय ७३ मतान्तरले पराजित भए। उनले ३४ हजार ६ सय ५८ मत पाएका थिए। उनको पार्टीले थ्रेसहोल्डसमेत कटाउन सकेन। उनी यसपटक एमालेको चुनाव चिह्न लिएर मकवानपुर १ मै उठेका छन्। 

‘मकवानपुरे जनताले मलाई माया गरेका छन्। यो पटक मत दिएर विजयी गराउँछन् भन्नेमा म विश्वस्त छु’, थापाले भने, ‘एमालेका सबै साथीहरूलाई लिएर म उत्साहका साथ चुनावी प्रचार–प्रसारमा जुटिरहेको छु।’
 


अर्जुननरसिंह केसी : ‘अन्तिमपटक’ उम्मेदवारी 

संसदीय राजनीतिमा पुरानो नाम हो, अर्जुननरसिंह केसी। २०३८ सालमा नुवाकोटबाट उनी हलो चुनाव चिह्न लिएर स्वतन्त्र भएर उठेका थिए। त्यस बेला नुवाकोटबाट केसीसँगै डा.प्रकाशचन्द्र लोहनी विजयी भएका थिए। केसी २०४३ मा भने पराजित भए। २०४८ सालमा कांग्रेस उम्मेदवार बनेर नुवाकोट ३ बाट विजयी भए। २०५१ मा पनि उनी नुवाकोट ३ बाटै जितेर सांसद बने। २०५६ र २०६४ को निर्वाचन भने उनलाई फापेन। 

उनी २०७० मा नुवाकोट ३ छाडेर १ बाट उम्मेदवार बने। निर्वाचन क्षेत्र परिवर्तन गरेपछि भने जित हात पारे। २०७४ को निर्वाचन पनि उनलाई फापेन। वाम गठबन्धनसँग हार व्यहोरे। ७५ वर्षीय सिंह यसपटक नुवाकोट २ मा सत्ता गठबन्धनबाट उम्मेदवार छन्।

उनीसँग एमालेका नारायणप्रसाद खतिवडाले प्रतिस्पर्धा गर्दै छन्। खतिवडाले केसीलाई २०७४ मा १० हजार ५ सय ५७ मतले हराएका थिए। यसपटक प्रतिस्पर्धी दोहोरिएका छन्। 

‘मेरो उम्मेदवारी नुवाकोटको जनताको माग पनि हो। चुनावको माहौल हेर्दा जित सहजै हुन्छ भन्ने मेरो विश्वास छ’, केसीले भने। उनले आफू संसदीय निर्वाचन अन्तिमपटक उम्मेदवार भएको बताए।


दीपक बोहरा: कहिले हार, कहिले जित

पञ्चायतकालीन राजनीतिका खेलाडी दीपक बोहराको चुनावी दौडान जारी छ। उनले २०३८ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्य जितेका थिए। उनको चुनाव चिह्न बलेको दियो थियो। २०४३ मा पनि उनी रुपन्देहीबाटै विजयी भए। बहुदल आएपछि भने उनले चुनावमा सफलता हात पार्न सकेनन्। २०४८ सालको निर्वाचनदेखि पहिलो संविधानसभा निर्वाचनसम्म उनी लगातार हार व्यहोर्न बाध्य भए। 

२०७० मा भने बोहरा रुपन्देही २ बाट निर्वाचित भए। २०७४ मा फेरि पराजय भोगे। त्यस बेला एमालेका तत्कालीन उम्मेदवार घनश्याम भुसालसँग पराजित भएका थिए। २०७४ मा कांग्रेसको समर्थनमा चुनाव लडेका बोहरालाई कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो क्षेत्र छाडिदिएका थिए। उनी यसपटक खाँणसँगै प्रतिस्पर्धा गर्दै छन्। ४१ वर्षको अवधिमा पटक–पटक मन्त्री बनेका बोहराको पार्टी संगठनभन्दा पनि व्यक्तिगत प्रभाव बढी देखिन्छ। 


शरतसिंह भण्डारी : पाँच जित, तीन हार

पुराना राजनीतिक खेलाडी हुन्, शरतसिंह भण्डारी। २०३८ सालदेखि लगातार चुनावी मैदानमा रहेका उनी यसपटक महोत्तरी २ मा लोसपाबाट चुनावी मैदानमा छन्। २०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निकटतम प्रतिद्वन्द्वीलाई झन्डै दोब्बर मत अर्थात् ३० हजार ७ सय २२ मत ल्याएर विजयी भएका थिए। भण्डारी २०३८ मा हाँस चुनाव चिह्नबाट पहिलो पटक सांसद निर्वाचित भएका थिए। त्यसयता उनले प्रायः निर्वाचनमा सफलता हात पार्दै आएका छन्। 

२०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका भण्डारीले २०३८ देखि हरेक संसदीय निर्वाचनमा भाग लिँदै आएका छन्। २०७४ सम्म उनले पाँचपटक चुनाव जितेका छन्। तीनपटक हार व्यहोरेका छन्। २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य जितेका उनी २०४८ मा भने पराजित भए। २०५१ मा बागी बनेर जिते। कांग्रेसबाट टिकट नपाएपछि उनी बागी बनेका थिए। २०५६ मा कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी महोत्तरी ३ बाटै विजयी भए। २०६४ मा मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेर महोत्तरी ६ बाट विजयी भए। २०७० मा भने पराजित भए। 

१५ आंैपटक मन्त्री भएर उनले मधेसबाट धेरैपटक मन्त्री हुन सफल नेताका रूपमा नाम दर्ज गराएका छन्। भण्डारीको यो नवौं पटकको उम्मेदवारी हो। उनले आफ्नो प्रतिस्पर्धी कोही नरहेको र जित नजिक रहेको बताउँदै आएका छन्।


डा. लोहनी र तामाङ समानुपातिक उम्मेदवार 

डा. प्रकाशचन्द्र लोहनी २०३८ सालमा लालीगुँरास चुनाव चिह्न लिएर नुवाकोटबाट विजयी भएका थिए। उनी २०४३ मा नुवाकोटबाटै निर्वाचित भए। २०४८ मा राप्रपा (चन्द) बाट उम्मेदवार बने। नुवाकोट १ बाट निर्वाचित पनि भए। २०५१ मा नुवाकोट १ बाटै विजयी भएका लोहनीले त्यसपछिका निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकेनन्। त्यसपछि उनी एकपटक समानुपातिकमा बसे भने बाँकी चुनावमा हार व्यहोरे। उनी राप्रपाबाट समानुपातिक उम्मेदवार छन्। 

बुद्धिमान तामाङ २०३८ मा धादिङबाट निर्वाचित भए। उनको चुनाव चिह्न झोलुंगे पुल थियो। २०४३ मा पराजय भोगेका उनले २०४८ मा पनि जित हासिल गर्न सकेनन्। मध्यावधि निर्वाचन २०५१ मा राप्रपाबाट उम्मेदवार बनेका थिए। उनी धादिङ १ बाट विजयी भए। २०५६ मा राप्रपाबाटै विजयी भए। त्यसपछि भने तामाङ लगातार उम्मेदवार बने पनि जित हात पार्न सकेका छैनन्। संसदीय राजनीतिका पुराना खेलाडी तामाङ यो पटक राप्रपाबाट समानुपातिक उम्मेदवार छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.