८२५ सिट, १२००० उम्मेदवार
काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभाको ८२५ सिटका लागि १२ हजार बढी उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। निर्वाचन आयोगका अनुसार अबको निर्वाचनमा १२ हजार बढी उम्मेदवारलाई १ करोड ७९ लाख ८५ हजार ५ सय ७० जना मतदाताले मताधिकार प्रयोग गर्नेछन्।
निर्वाचन आयोगको तथ्यांकअनुसार यसपटक १२ हजार ९३ उम्मेदवार छन्। आयोगले बिहीबारबाट चुनावी प्रचार–प्रसारका लागि अनुमति पनि दिएको छ। जसअनुसार दलका नेता र उम्मेदवारहरू मतदातको घरदैलोमा पुगेका छन्। कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले स्थानीय तहमार्फत मतदाता शिक्षाका लागि कम्तीमा ६ हजार ७ सय ४३ जना स्वंसेवक खटाएको छ। कुन तहमा कति उम्मेदवार ? प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ सिटका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ। प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ५ सय ५० सिटका लागि निर्वाचन हुन्छ। यी सबै ८ सय २५ सिटमा कुल १२ हजार ९३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतिरको १ सय ६५ सिटका लागि २ हजार ४ सय १२ उमेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभाकै समानुपातिकतर्फको १ सय १० सिटका लागि २ हजार ४ सय २ उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसैगरि प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटका लागि ३ हजार २ सय २४ र समानुपातिकतर्फ २ सय २० सिटमा ४ हजार ५५ जनाको उम्मेदवारी छ।
उजुरीका चाङ
८२५ सिटका लागि १२ हजार ९३ उम्मेदवार
१ करोड ७९ लाख ८५ हजार ५७० मतदाता
निर्वाचनको माहौल बढ्दै गएपछि निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढेको छ। आचारसंहिता उल्लंघनका विषयमा हालसम्म आयोगमा ७१ वटा उजुरी परेका छन्। उजुरीमा सोधिएका स्पष्टीकरणको जवाफमाथि आयोगले अध्ययन गरिरहेको छ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित बनाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबैमा आग्रह गरेका छन्। निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई उनले आग्रह गरेका छन्। निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि संयन्त्रहरू परिचालन गरिसकिएको प्रमुख आयुक्त थपलियाले बताए।
दल तथा उम्मेदवारहरूलाई आचारसंहिता पालना गरेर त्यस्ता संयन्त्रहरू प्रयोजनहीन सावित गरिदिन अपिल गरे। ‘आचारसंहिता आफैंमा एक नैतिक र कानुनी बन्धन हो’, प्रमुख आयुक्त थपलियाले भने, ‘यस्तो बन्धन दल, उम्मेदवार अन्य पक्षले नतोड्ने हो भने आयोग र राज्यका संयन्त्रले कारबाहीका लागि कुनै काम गरिरहनु पर्दैन।’ आचारसंहिता उल्लंघनका घटनामा हालसम्म आयोगले सोधेको स्पष्टीकरणका सम्बन्धमा कात्तिक २५ गतेभित्रै निर्णयमा पुग्ने उनले उल्लेख गरे। ‘पहिलो स्पष्टीकरणमा चित्त नबुझेमा दोस्रो स्पष्टीकरण सोध्ने र उल्लंघनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्ड जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको निर्णयमा जानुपर्ने हुन्छ।
हालसम्म चलेको स्पष्टीकरणबारे हामी यही कात्तिक २५ गतेभित्रै निर्णयमा पुग्नेछौ’, उनले भने, ‘आयोगका निर्णय र कारबाहीबारे अदालतमा जाँदा पनि आयोगको निर्णय सदर हुने गरी हामीले काम गरिरहेका छौं।’
मतगणनास्थलमा तारजाली राख्नुपर्ने अवस्था लोकतन्त्रका लागि सुखद् नभएको उनले उल्लेख गरे। ‘त्यस्तो दूरावस्थाबाट सबै माथि उठ्न जरुरी छ’, प्रमुख आयुक्त थपलियाले भने। निर्वाचन बिथोल्न हुनसक्ने गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको निर्वाचन आयोगले जनाएको छ।