राष्ट्रपति भण्डारीको मुस्ताङमा एकदिन : बुद्धको मूर्ति अनावरणदेखि रिसोर्ट उद्घाटनसम्म
जोमसोम : मुक्तिनाथ मन्दिर परिसरमा निर्मित बुद्ध मूर्ति अनावरण तथा बिष्णु भगवानको मूर्तिको शिलान्यास गर्न राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङका आइन्।
राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टर चढेर बिहान ९:३० बजे मुक्तिनाथ क्षेत्र आइपुगेकी हुन्।
राष्ट्रपति भण्डारीलाई भव्य स्वागत गरिएको थियो ।
राष्ट्रपति भण्डारी पैदल १५ मिनेट उकालो हिँडेर मुक्तिनाथ मन्दिरमा पुगेकी थिइन् । उनीसँगै आमा र छोरी पनि मुक्तिनाथ आएका हुन्। राष्ट्रपति भण्डारीको स्वागतार्थ मुक्तिनाथका स्थानीय र मुक्तिनाथका लामाहरुले स्थानीय भेषभुषा र झाँकी प्रर्दशन गरेका थिए ।
राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिरको भीआईपी कक्षमा १५ मिनेट आराम गरिन् । भण्डारीले १०८ धारामा स्नान गरिन् । मुक्तिनाथ मन्दिर परिसरमा बुद्ध मूर्ति अनावरण र बिष्णु मूर्ति शिलान्यास गर्ने शिलशिलामा मुक्तिनाथ पुगेकी राष्ट्रपति भण्डारीले मुक्तिनाथमा स्नान गरेपछि १५ मिनेट मुक्तिनाथको पुजाआजासहित दर्शन गरिन् ।
कोभिड अघि पनि राष्ट्रपति भण्डारीले मुक्तिनाथको दर्शन गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिरको दर्शन तथा पुजाआजा सकेलगत्तै मुक्तिनाथ मन्दिर परिसरको दक्षिणतर्फ निर्माण हुने ३१ फिट अग्लो बिष्णु भगवानको मूर्तिको शिलान्यास गरिन् ।शिलान्यासमा बौद्ध परम्परा अनुसार पुजापाठ गरेपछि राष्ट्रपति भण्डारीले बिष्णुको मूर्तिको शिलान्यास गरेकी हुन् ।
त्यसको लगत्तै राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परसरमा निर्माण सम्पन्न भएको ३१ फिट अग्लो बुद्ध भगवानको प्रस्तर मूर्तिको अनावरण गरिन् । सो मूर्ति ६ करोड लागतमा निर्माण गरिएको हो
मुक्तिनाथ परिसरमा निर्मित बुद्ध प्रस्तर मूर्ति रहेको पार्कमा आयोजित समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपतिले मुस्ताङ आउन पाउँदा आफू गौरान्वित भएको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले मुक्तिनाथ र मन्दिरलाई अझै व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले नीजि स्रोतबाट धार्मिक सम्पदा निर्माण हुनु गौरवको विषय भएको बताइन् ।
भण्डारीले बहुसांस्कृतिक आयाम बोकेर सदियौंको इतिहास समेटिएको तथा विश्वभरीका हिन्दु तथा बौद्ध समुदायका लागि आस्थाको धरोहर मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिर नेपालकै विशिष्ट धार्मिक एवं धार्मिक सम्पदा रहेको चर्चा गरिन् ।
मुस्ताङको मौलिक कलासंस्कृति,रहनसहन र पर्यटकीय गन्तव्यले यहाँका पर्यटकलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रमा ४ घण्टा बिताइन् ।
समुद्घान कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष शेष घलेले मुक्तिनाथ क्षेत्रको धार्मिक पूर्वाधार तथा पर्यटकीय पूर्वाधार निर्माणमा एनआरएनका पूर्वउपाध्यक्ष सोनाम लामाको योगदान अतुलनीय भएको उल्लेख गरे । पूर्वअध्यक्ष घलेले बुद्ध मुर्तिका परिकल्पनाकार लामा सन अफ मुस्ताङ भएको चर्चा गरे ।
उनले बुद्ध मूर्ति निर्माण गर्न लामाले सन् २०१३ देखिनै पहल गरेको बताए ।
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ हिमालयन रिसोर्टको उद्घाटन् गरिन् । रिसोर्ट उद्घाटनपछि राष्ट्रपति भण्डारीलाई बुद्धको थान्का उपहार दिइएको थियो।