मुस्ताङको लोमान्थाङ गाउँपालिकालाई चीनले दियो स्काभेटर उपहार
जोमसोम : चीन सरकारले मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्रको लोमान्थाङ गाउँपालिकालाई एक थान स्काभेटर उपहार स्वरूप उपलब्ध गराएको छ।
कोरोनाका कारण लगातार बन्द रहेको कोरला नाकाको सीमावर्ती गाउँपालिका लोमान्थाङलाई चीनले स्काभेटर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।
चीन सरकारले केही महिना अघि नेपालका उत्तरी नाकामा रहेका ११ वटा गाउँपालिकालाई स्काभेटर उपलब्ध गराएको थियो। चीनले उपहार स्वरूप दिएको स्काभेटरको मूल्य करिब १ करोड २९ लाख रुपैयाँ बराबर पर्छ।
बर्खायामको मौसम र अविरल वर्षाका कारण सडक यातायात अवरुद्ध हुँदा निर्धारित समयमा लोमान्थाङ गाउँपालिकाले स्काभेटर बुझ्न नसकेको अध्यक्ष गुरुङले बताए।
अध्यक्ष गुरुङले यसै हप्ता गाउँपालिकाको टोली पुगेर रसुवागढी नाकाबाट चीनले उपलब्ध गराएको स्काभेटर बुझेको उल्लेख गरे।
यसअघि चीनले उत्तरी कोरलानाकासँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई खाद्यान्न, कृषि सामग्री र विभिन्न सामाग्री उपलब्ध गराउने गरेको गाउँपालिकाकी उपाध्यक्ष छिमी बिष्टले जानकारी दिए।