किन हुन्छ मत बदर ?

किन हुन्छ मत बदर ?

काठमाडौं : २०४८ सालको आमनिर्वाचनमा ७२ लाख ९१ हजार ०८४ मत खस्दा ४.४ प्रतिशत बदर भएको थियो। अढाई दशकपछि २०७४ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मत झनै बढ्यो।

आयोगका अनुसार ०७४ को निर्वाचनमा ५.१७ प्रतिशत मत बदर भएको थियो। जबकी, आयोगले हरेक निर्वाचन बेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्छ। यसकै लागि करोडौं रकम यसमा खर्च गर्छ। तर, बदर मतको रेसियोले आयोगको मतदाता शिक्षा कार्यक्रम कर्मकाण्डी मात्रै भएको जानकारहरू बताउँछन्। मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि मत बदरको पुरानै रोग बल्झिने खतरा छ। आयोगले बदर मतको संख्या १ प्रतिशतमा झार्ने दाबी गरेको छ। 

मतपत्र बदर हुँदा हार्ने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने चुनाव गराउने निर्वाचन आयोगको भूमिकामाथि पूर्वनिर्वाचन आयुक्त डा. वीरेन्द्रप्रसाद मि श्रले प्रश्न उठाएका छन्। ‘प्रत्यक्ष निर्वाचनतर्फ एक भोटले जित हार हुन्छ। तर, यहाँ पाँच—पाँच प्रतिशत मत बदर हुने गरेको छ। यति ठूलो संख्यामा बदर मत ल्याउने चुनावको के अर्थ रह्यो’, उनले भने, ‘असललाई हराउने र खराबलाई जिताने चुनावले देशको कल्याण कसरी हुन्छ।’ निर्वाचन आयोगले मतदाता शिक्षामा गरिरहेको लापरबाहीले बदर मत बढेको उनले उल्लेख गरे। ‘जुन अक्षमय गलती हो’, उनले भने।

बदर मतको संख्या नबढेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्याल दाबी गर्छन्। स्थानीय तहको निर्वाचनमा पूर्ण बदर मतको प्रतिशत ३ प्रतिशत भन्दा तल नै रहेको उनले बताए। वैशाख ३० मा निर्वाचन खर्च कटौतीका नाममा मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन गरिएको थिएन। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि आयोगले फेरि घरदैलोमार्फत मतदाता शिक्षा सञ्चालन गर्न लागेको छ।

  •     आयोगद्धारा बदर मतको संख्या १ प्रतिशतमा झार्ने दाबी
  •     मतदाता शिक्षा कार्यक्रम नाम मात्रैको भएको भन्दै आलोचना

लाखौंको संख्यामा मत बदर हुँदै आए पनि न आयोग गम्भीर देखिन्छन् न त सरकार नै। बरु निर्वाचनमा सरकारले गर्दै आएको लगानी बालुवामा पानी खन्याए जस्तै भइरहेको छ। आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम नाम मात्रैको भएको भन्दै आलोचना हुँदै आएको छ। आयोग निर्वाचन सामग्री व्यवस्थानमा जति ध्यान दिन्छ मतदाता शिक्षा चुक्दै आएको बदर मतको प्रतिशत बढ्दै गएकाले देखिन्छ। निर्वाचन आयोग, उम्मेदवार, राजनीतिक दल मतदाता शिक्षामा उदासीन छन्। जसका कारण बदर मतको ग्राफ उकालो चढेको हो।

निर्वाचन शिक्षा प्रभावकारी नहुनु

निर्वाचनका लागि मतदाता मुख्य पक्ष हो। सचेत मतदाताले मात्रै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वासिलो बनाउन सक्छ। तर, मतदातालाई मतदान गर्ने तरिका बारे राम्रो जानकारी नभएको खण्डमा बदर मतको संख्यालाई बढाउन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउँछन्।

‘मतपत्रको भनेको ठाउँमा स्वस्तिक छापा लगाउनु, एक पटक छाप लगाउनु पर्नेमा पटक—पटक लगाउनु, स्वस्तिक छाप कोठाभित्र नलाउनु र स्वस्तिक छापको साटो ल्याप्चे लगाउनु जस्ता कारणले मत बदर भएको देखिन्छन्,’ निर्वाचन शिक्षा शाखाका प्रमुख समेत रहेका उनले भने।

मतपत्रको ढाँचा जटिल हुनु

मतदान प्रक्रियाबारे मतदाताको चेतना कमी हुनु र त्यसमाथि मतपत्रको ढाँचा जटिल भइदिँदा मत बदरको संख्या बढाउँदै आएको छ। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मतपत्र ठूलो भएका कारण चुनाव चिह्न खोजेर मतदान गर्न मतदातालाई निकै कठिन भयो। जसका कारण १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरूपमा मत बदर भएको आयोगको तथ्यांकले देखाएको छ। अलमलाउने मतदान पक्रिया हुनु जटिल मतदान प्रक्रियाले गर्दा पनि मतदाताहरू मतदान स्थलमा अलमलमा पर्ने गर्छ।

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा चार वटा मतपत्रमा चार पटक स्वस्तिक छाप लगाउनुपर्छ। अलग—अलग बाक्समा खसाल्नुपर्ने हुन्छ। सोझासिधा मतदाताहरू अलमल पर्ने हुन कि हालेको मत बिग्रिने हो कि भन्ने डर त्यतिकै छ। मतपत्रका बारेमा मतदातालाई जानकारी नहुँदा मतपत्र बदरको संख्या बढ्ने पूर्वआयुक्त मिश्रले बताए।

गुणस्तरीय मतदान सामग्री नहुनु
मतपत्रको कागज गुणस्तरियहीन, मसिको क्वालिटीकमजोर र स्वस्तिक छापको गुणस्तर नहुँदा पनि मतबदर हुने सम्भावना रहन्छ। आयोगका सहप्रवक्ता अर्याल भन्छन्, ‘स्वस्तिक छाप गोलो अनि ब्यालेन्स मिलेको छ भने मतपत्रमा राम्रोसँग मत संकेत हुन्छ। उबरखावर भयो भने राम्रोसँग मतपत्रमा मतसंकेत नहुँदा त्यस्तो मत बदर हुन्छ।’

स्वस्तिक छापमा लगाउने मसी पनि गुणस्तरहीन भयो भने मतपत्र बदर हुन सक्ने सम्भावना रहन्छ। ‘पातलो मसी भयो भने सुक्दैन। मतपत्रमा मसी लगतपतिन्छ’, उनले भने, ‘अर्को कुरो मतपत्र पनि मसी सोस्ने खालको हुनुपर्छ।’

मतलाई व्याख्या गर्ने शैलीको कमी
मतदाताले संकेत गरेको मतलाई बिग्रार्ने गरी गणकले व्याख्या गर्दा मतबदरको संख्या बढेको हुनसक्ने निर्वाचन आयोगको अनुमान छ। मत गणनास्थलमा खटिने कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरूमा मतको सकारात्मक व्याख्या गर्ने प्रवृत्तिमा कमीले बदर मत बढाउनुको अर्को कारण छ।

‘मतदाताले संकेत गरेको मतलाई कसैले बदर गर्नेतिर जोड दिने, कसैले सदर गर्ने तिर जोड दिने। यसले पनि यसले पनि बदर मतको संख्या बढाउँछ’, सहप्रवक्ता अर्यालले भने, ‘समान्य अवस्थामा गणना गर्दा सदर हुने मत पनि राजनीतिक दलका प्रतिनिधिहरू विवाद गर्दा त्यो मत बदर कायाम भइरहेको हुन्छ।’ मतदातालेदिएको मतबारे सकारात्मक व्याख्या गर्ने पर्नेमा उनले जोड दिए।

‘बदरमतको संख्या १ प्रतिशत तल घटाउँछौ’

आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा १ प्रतिशतभन्दा तल बदर मत संख्या ल्याउने गरी काम भइरहेको आयोगका प्रवक्ता पौड्यालले बताए। ‘त्यसका लागि जोडतोडले मतदाता शिक्षाका कामहरू भइरहेको छ। डिजिटल प्लेटफमलाई हामी बढीभन्दा बढी प्रयोग गरेका छौं’, उनले भने, ‘कात्तिक १८ गतेदेखि मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम सञ्चालन हुन्छ। स्थानीय तह मात्र वडास्तरमा स्वास्थ्य स्वयमसेवीकालाई मतदाता शिक्षा कार्यकर्ताका रूपमा नियुक्ति गरिएको छ।’ यसले बदर मतको संख्यामा कमी ल्याउने उनले बताए।

आगामी निर्वाचनका लागि आयोगले १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको नामावली सार्वजनिक गरिसकेको छ। आयोगले सञ्चालन गर्ने मतदाता शिक्षा कतिको प्रभावकारी हुन्छ ? त्यो हेर्नका लागि मंसिर ४ पछिको मतगणनाको नतिजा कुर्नुपर्ने हुन्छ। कुन निर्वाचनमा कति मत बदर भए ? 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.