मुक्तिनाथमा तिर्थालुको घुइँचो (तस्बिर)
जोमसोम : हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तिर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य तिर्थालुको घुइँचो बढेको छ । समुन्द्री सतहदेखि ३८ मिटरको अग्लो उचाइमा अवस्थित पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा अहिले दिनहुँ सयौं आन्तरिक तथा बाह्य पर्यटकले मुक्तिनाथ मन्दिरको पुजाआजा र दर्शन गर्ने गरेको पाइएको छ ।
दसैं–तिहार र छठ पर्व सकिएलगत्तै मुक्तिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य तिर्थालुको संख्या ह्वात्तै बढेको हो ।यसवर्ष दसैं–तिहार र छठ पर्वको सेरोफेरोमा प्रतिकुल मौसमका कारण उल्लेख्य पर्यटक मुक्तिनाथ आउन सकेका थिएनन् । तर, तिहार र छठ पर्व सकिएलगत्तै मुक्तिनाथमा तिर्थालुको संख्या अकल्पनीय रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका आर्थिक संकलन गर्ने कर्मचारी रविन सुवेदीले जानकारी दिए ।
मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । अत्यधिक चिसोको बावजुद पनि आन्तरिक तथा बाह्य तिर्थालु मुक्तिनाथ दर्शन गर्न आउने गरेको मुक्तिनाथ विकास समितिका कर्मचारी सुवेदीले बताए।
मुक्तिनाथ मन्दिरको दर्शन र त्यहाँ रहेको १०८ धारामा स्नान गरेपछि धार्मिक मोक्ष प्राप्त हुनुका साथै मानिसले जान/अन्जानमा गरेका सबै पापहरु पखालिने धार्मिक जनविश्वास छ । मुक्तिनाथ मन्दिरमा भगवान बिष्णुको पुजाआजा गर्ने गरिन्छ । यद्यपी मुक्तिनाथ क्षेत्र गुरु पद्यसम्भवको कथासँग पनि जोडिएको छ ।
बर्सेनि ६० हजार विदेशी तिर्थालु र करिब ५ लाख बढी आन्तरिक तिर्थालुले मुक्तिनाथको दर्शन गर्ने गरेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवा बजारदेखि करिब १ किमी टाढा अग्लो उचाइमा मुक्तिनाथ मन्दिर अवस्थित छ । मुक्तिनाथ मन्दिर करिब ५ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । मुक्तिनाथ मन्दिर परिसरमा ज्वालामाई गुम्बा पनि छ । मुक्तिनाथ मन्दिर परिसरमा एनआरएनका पूर्वउपाध्यक्ष सोनाम लामाले निर्माण गरेको ३१ फिट अग्लो बुद्धको प्रस्तर मुक्ति अवस्थित छ । त्यहाँ उनै लामाले ८ करोड लागतमा अर्को भगवान बिष्णुको विशाल प्रस्तर मूर्ति निर्माण गर्ने भएका छन् ।
आन्द्र प्रदेश भारतबाट मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका भारतीय पर्यटक लक्ष्मण रावले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने सपना यहाँ आएर पुरा भएको बताए । नेपालकै महत्वपूर्ण धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दर्शन गरेको र त्यसपछि मुक्तिनाथ मन्दिरको बारेमा धेरै कुरा थाहा पाएको उनले बताए । मुक्तिनाथ मन्दिर विशाल पहाडको फेंदमा रहेको र यो मन्दिर निकै सुन्दर रहेको उल्लेख गरे । उनले मुक्तिनाथसम्म आएर दर्शन गर्दा आफूहरुलाई कुनै समस्या नभएको बताए ।
मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर हो । मन्दिरको रेखदेख त्यहाँ रहेको आनाीझुमाले गर्ने गर्छन् । मन्दिरमा एकजना पुजारी बस्छन् भने मुक्तिनाथ विकास समितिले खटाएको कर्मचारीले स्वच्छिक चन्दा संकलन र मुक्तिनाथ परिसरको सरसफाइ गर्ने गर्छन् ।
मुक्तिनाथ मन्दिरमा १०८ धाराका साथै दुईवटा स्नानकुण्ड छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले मुक्तिनाथको थप स्तरोन्नति गर्न बृहत मुक्तिनाथ गुरुयोजना अघि बढाएको छ । जसअन्तर्गत अहिले त्यहाँ आनीझुमाको निवास र मुक्तिनाथ मन्दिर परिसरको स्तरवृद्धि गरी फराकिलो बनाइएको छ ।
यद्यपी मुक्तिनाथ मन्दिरमा थप आवश्यक पूर्वधार निर्माणमा ढिलाइ हुँदा मुक्तिनाथ दर्शन गर्न जाने तिर्थालुलाई समस्या पर्ने गरेको छ । तनहुका तिर्थालु खेमराज विश्वकर्माले मुक्तिनाथको दर्शन र मुस्ताङ घुम्न आफूसहित ९ जनाको टोली मुस्ताङ आएको बताए ।
मुक्तिनाथ मन्दिरको दर्शन गर्नाले मनले चिताएको पुरा हुने सुनेर मुस्ताङको आएको जनाए । कार्तिक महिनाको चिसोले ज्यानै चल्न छोड्ला जस्तो भएपनि यहाँ आएर १०८ धारामा नुहाएर मुक्तिनाथको दर्शन गरेको उनले उल्लेख गरे ।
यसैगरी नवलपरासीका तिर्थालु हिरा क्षेत्रीले मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पाउँदा स्वर्ग पुगेको अनुभुति सुनाइन् ।‘यहाँको वर्णन शब्दमा वर्णन गर्न सक्दिन,जुन दुःख गरेर यहाँ आईयो त्यो सबै मुक्तिनाथको दर्शनपछि बिर्सन बाध्य बनाइदियो,'उनले भनिन् ।’
धर्मनै आस्था विश्वास भएकाले मुक्ति पाउन र मोक्ष प्राप्त गर्न मुक्तिनाथ दर्शन गर्न आएको बताइन् । मुक्तिनाथ मन्दिर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहन्छ । मुक्तिनाथ मन्दिरसम्म जान पछिल्लो समय रेलिङ सिंढी बाटो निर्माण भइरहेको छ । यद्यपी मन्दिरसम्म ठाडो उकालो हिँड्न पर्ने भएकाले वृद्धवृद्धा र अपाङ्गता भएका तिर्थालुलाई मुक्तिनाथसम्म पुग्न निकै समस्या हुने गरेको छ । मुक्तिनाथ विकासको बृहत परियोजना ४ वर्ष सुरु भएपनि सरकारले यसको बृहत विकासमा तीब्रता दिन सकेको छैन ।
मुस्ताङको मुक्तिनाथ मन्दिर हिमाली जिल्ला मुस्ताङ र गण्डकी प्रदेशकै धार्मिक पर्यटकको केन्द्रबिन्दुको रुपमा लिने गरिन्छ । मुक्तिनाथको रानीपौवा डेढ दर्जन बढी पर्यटक लक्षित होटलहरु सञ्चालनमा छन् । मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकले उत्तरी कोरलानाका,लोमान्थाङ, छोसेर गुफा,ढुम्बाताल र पर्यटकीय गाउँ मार्फा लगायतको अवलोकन गर्ने गरेका छन् ।
भौगोलिक,सामाजिक,सास्कृतिक र जैविक विविधताले महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङमा सडक यातायातको पहुँच सहज हुँदै जान थालेको छ । सडक सहज भएसँगै मुक्तिनाथ दर्शन गर्ने आन्तरिक तथा बाह्य तिर्थालुको संख्या बर्सेनि बढ्दै जान थालेको छ ।
कोरनाका कारण ३ वर्षसम्म सुस्ताएको मुस्ताङको पर्यटन कोरोना संक्रमण न्यूनिकरण हुँदै गईरहेपछि क्रमशः चलायमान हुन थालेको छ । मुस्ताङमा धार्मिक तथा मुस्ताङको पर्यटन क्षेत्र चलायमान हुन थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित हुन थालेका छन् ।