मुस्ताङमा नमूना मतदानमै ४० प्रतिशत मत बदर
जोमसोम : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङमा नमूना मतदान सुरु गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङले आइतबारदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका-३ घिलिङबाट नमूना मतदान सुरु गरेको हो।
लोघेकरको घिलिङमा गरिएको पहिलो नमूना मतदानमा ४० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिर थापाले जानकारी दिए।
३८ जनाले नमूना मतदानमा भाग लिएकोमा १५ मत बदर भएको छ भने २३ मत सदर भएको कार्यालयका सूचना अधिकारी थापाको भनाइ छ।
कार्यालयले घिलिङमा करिव ८० जना मतदाताले नमूना मतदान गर्ने अनुमान गरेपनि स्थानीय तहमा मतदाता नहुँदा न्यून संख्याको उपस्थितमा नमूना मतदान भएको सूचना अधिकारी थापाले उल्लेख गरे।
आइतबारदेखि मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट नमूना मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए।
उनका अनुसार उपल्लो मुस्ताङको ५ वटै स्थानीय तहमा नमूना मतदान गर्ने कार्यक्रम अन्तर्गत सोमबार लोमान्थाङमा नमूना मतदान हुनेछ।
त्यसपछि क्रमशः वारागुङ मुक्तिक्षेत्र, थासाङ र अन्तिममा घरपझोङ गाउँपालिकामा नमूना मतदान अभ्यास गराइने छ।
आयोगले बदर मत घटाउन मतदाता शिक्षा अभियान सञ्चालन गरेको छ। मतदाता शिक्षालाई प्रभावकारी तुल्याउन कार्यालयले स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण समेत दिएको छ।
बदर मत घटाउन कार्यालयले पालिका स्तरमा मतदाता शिक्षा समन्वय समिति गठन गरिसकेको छ। तर, पालिका स्तरमा ढिलो गरी मतदाता शिक्षा दिन थालिएको हो।
मतदाता शिक्षा पूर्ण कार्यान्वयनमा नआइसकेकाले बदर नमूना मतदानमा बदर मतको संख्या बढेको जिल्ला निर्वाचन अधिकारी अर्यालको भनाइ छ।
मुस्ताङमा १० हजार ९५७ जना मतदाता छन्। पाँच स्थानीय तहमा ३९ मतदान केन्द्र कायम गरिएको छ।