काठमाडौं-७ मा मानुषी-रामवीरको चर्चा, गठबन्धनलाई चुनौती दिँदै राजेन्द्र र श्यामकुमार
काठमाडौं: राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रचारमा खट्दा काठमाडौं निर्वाचन क्षेत्र नम्बर-७ चर्चामा छ। यो क्षेत्रमा अघिल्लो पटक चुनावी तालमेल गरेर सँगै जनतामाझ गएका दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यो क्षेत्रमा एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रबाट अस्मीता सिंह(मानुषी)बीच कडा टक्कर हुने देखिएको छ ।
विगतको मत तथा मतदाताको राय अनुसार एमालेका ६८ वर्षीय घिमिरे र युवा नेतृ मानुषीबीचनै कडा टक्कर हुने अनुमान स्थानीयको छ । यो निर्वाचन क्षेत्रमा २८ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १६ जना स्वतन्त्र उम्मेदवार छन् ।
सत्ता गठबन्धनबीचको चुनावी तालमेल छ । तर पहिलेको समझदारी अनुसार एमाले, जसपा र राप्रपाबीच तालमेल हुन सकेन ।
चुनावी प्रतिस्पर्धामा जुटेका एमालेका घिमिरे, माओवादी केन्द्रकी मानुषी, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर, जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठ, राप्रपाका ध्रुवविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीलगायत जितको दाबीसहित चुनावी प्रतिस्पर्धामा छन् ।
२०७४ सालको निर्वाचनमा एमालेबाट रामवीर मानन्धर निर्वाचित भएका थिए । त्यतिबेला १८ हजार १०२ मत ल्याएर जितेका मानन्धरले अहिले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका विक्रम थापाले १० हजार ७९ मत ल्याएका थिए । तेस्रो बनेको विवेकशील साझा पार्टीकी अनुपा श्रेष्ठले ५ हजार ३ सय ७६ मत ल्याएकी थिइन् । गत प्रतिनिधि सभा निर्वाचनमा ३८ हजार ६७६ मत खसेको थियो ।
२०७० सालको निर्वाचनमा पनि मानन्धरनै विजयी भएका थिए । यसरी दुई पटक जितेका मानन्धर अन्तिम समयमा आफ्नो पार्टी एमालेले टिकट नदिएपछि जसरी पनि जित्ने दाबीसहित स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काठमाडौं-७ मा युवा नेतृ मानुषी, एमालेबाट राज्यमन्त्री बनेका तर पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका रामवीरको चर्चा धेरै छ। चुनावी अभियानमा होमिएका २८ जना उम्मेदवार नै आफू अब्बल दाबी गरिरहेका छन् ।
शहरी विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहँदा गरेका कामले आफूलाई मतदाताले न्याय गर्ने र जित आफ्नो हुने मानन्धरको दावी छ । उनले माओवादी केन्द्रका उम्मेदवार मानुषी र एमालेका श्यामकुमार घिमिरेलाई कडा चुनौती दिने देखिन्छ।
मानन्धरले दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने बेला महत्वपुर्ण भूमिका खेल्ने नेताका रुपमा पनि चिनिन्छन् । स्थानीय निकायबाट राजनीति शुरु गरेका मानन्धर काठमाडौं महानगरको वडा नम्वर १६ को वडा अध्यक्ष हुँदै सांसद र राज्यमन्त्रीसम्म बने ।
उनी तत्कालीन नेकपा एमाले र माओवादी एकताका शुत्राधार वामदेव गौतमलाई प्रतिनिधिसभामा पुर्याउन पद त्यागको घोषणा गरेर राजनीतिक वृत्तमा धेरै चर्चितभएका थिए । चौतर्फी आलोचनापछि वामदेव आफैँले उम्मेदवार नबन्ने घोषणा गरेपछि यो विषय गौण रह्यो ।
२०४९ देखि २०५९ सम्म नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य भएर काम गरेका मानन्धर २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पूर्वमन्त्री हिसिला यमीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी बने र राजनीतिक छवी केही उचो बनाए ।
उनले आफू जनप्रतिनिधि हुँदा र पदमा रहँदा राजधानीका सम्पदा संरक्षणका क्षेत्रमा चासोकासाथ काम गरेकाले धेरैले तारिफ गर्छन् । रानीपोखरी निर्माणमा देखाएको तदारुकता, काठमाडौको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाले निर्वाचनमा उनलाई फाइदा पुग्ने विश्लेषण राजनीतिक वृत्तमा हुने गरेको छ ।
बन्चरे डाडा ल्याण्डफिल साईट निर्माणको कामदेखि फोहोर मैला सुचना केन्द्र निर्माणलगायतका काम पनि मानन्धरकै सक्रियता र पहलमा भएको स्थानीय बताउँछन् । स्थानीय तह निर्वाचनमा एमालेका मेयर उम्मेदवार केशव स्थापित हराउने भूमिका खेलेको भन्दै केही एमाले नेताले असन्तुष्ट प्रकट गरेका थिए । एमाले नेताकै असन्तष्टि बढेपछि टिकट नपाएका उनी अहिले स्वतन्त्र उम्मेदवार बने ।
यो क्षेत्रमा जनता समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ । २०५१ मै सांसद भएका उनी २०५६ र २०७४ मा पनि सांसदको जिम्मेवारीमा रहे । ०६४ अघिका निर्वाचनमा सो क्षेत्रबाट प्रतिनिधित्व गरेपनि पार्टी परिवर्तनका कारण उनको प्रभाव केही कम भएको आँकलन स्थानीयको छ । उनी आवद्ध पार्टी जसपा यो क्षेत्रमा निकै कमजोर छ । मालेबाट ०५६ को निर्वाचनमा संसद छिरेका श्रेष्ठ ०६४ को संविधान सभा निर्वाचनमा पराजित भएका थिए । त्यसपछि एमाले छोडेर अशोक राईको नेतृत्वमा खुलेको संघीय समाजवादीमा गएका थिए । त्यसबाट उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पनि थिए । पृष्ठभूमिमा उनी अब्बल देखिए पनि अहिले काठमाडौं क्षेत्र नम्बर-७ का मतदाता समक्ष धेरै चर्चामा नरहेको विश्लेषण हुने गरेको छ ।
त्यस्तै एमालेबाट उम्मेदवार बनेका घिमिरेसँग शैक्षिक र प्रशासनिक अनुभव धेरै छ । शिक्षणमा १० दश वर्ष बिताएका उनले प्रशासनिक क्षेत्रमा २२ वर्षको अनुभव संगालेका छन् । विद्यार्थीकालमा अनेरास्ववीयुमा आवद्ध भएका उनी जिफन्टमा रहेर काम पनि गरे । यो क्षेत्रमा एमालेका अन्य धेरै नेता उम्मेदवार बन्ने चर्चा चले पनि अन्तिम समयमा घिमिरेले बाजी मारेका थिए । सांगठनिक मत जे जस्तो भए पनि उनलाई आफ्नै संगठनबाट उठेका उम्मेदवार कडा चुनौती बन्ने देखिन्छन् ।
राप्रपाबाट उम्मेदवार बनेका ध्रुवविक्रम मल्ल खेल क्षेत्रका हुन् । धादिङका मल्ल माओवादी केन्द्र हुँदै राप्रपामा प्रवेश गरेका हुन् । माओवादी केन्द्र निकट गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष एवम् बालाजु डो प्रतिष्ठानका अध्यक्ष मल्ल २०७८ कार्तिकमा राप्रपा प्रवेश गरेका थिए । द्वन्दकालदेखि नै माओवादी केन्द्रमा आवद्ध मल्लले माओवादी निकट जनमुक्ति सेनाको पीएलए स्पोर्टस क्लबमा थिए । उनी करातेका प्रशिक्षक समेत हुन् । खेल क्षेत्रमा नाम कमाएका उनी राजनीतिक वृत्तमा जनतासँग कति निकट हुने हुन् त्यो मतदाताको मतमा निर्भर हुनेछ ।
यो क्षेत्रमा अहिले धेरैको चुनौती बनेकी उम्मेदवार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईकी पुत्री मानुषी हुन् । विद्यार्थी राजनीनिबाटै संगठित भएर काम गरेकी उनी युवामाझ प्रिय छिन । मानुषीले २०६५ मा त्रिभुवन विश्वविद्यालयको स्ववीयू सचिव भएर काम गरेकी थिइन ।
काठमाडौं महानगरपालिका वडा नम्बर १८, भुरुखेलमा जन्मेकी उनी अहिले नेपाल समाजवादी पार्टीको बागमती प्रदेश सचिव छन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी उनी महिला हिंसाविरुद्ध सशक्त आवाज उठाउँदै आएकी छन् । नेपाल समाजवादी पार्टीकी नेतृ तर नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसहित उम्मेदवार बन्दा मतदाताले उनलाई कसरी बुझ्छन् त्यो हेर्न बाँकी छ।
काठमाडौं क्षेत्र नम्बर-७ मा ६१ हजार २९१ मतदाता छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार महिला मतदाता ३१ हजार ६६४ र पुरुष मतदाता २९ हजार ६२७ छन् ।
तथ्यांकमा काठमाडौं-७
काठमाडौं क्षेत्र नम्बर-७ मा ६१ हजार २९१ मतदाता छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार महिला मतदाता ३१ हजार ६६४ र पुरुष मतदाता २९ हजार ६२७ छन् । २०७४ सालको निर्वाचनमा ५७ हजार ५५८ मतदाता थिए । अहिले ३ हजार ७३३ मतदाता थपिएका छन् । थपिएका मतदाता अधिकांश २५ देखि ४५ वर्ष उमेर समूहका छन् ।
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको १६, १७, १८ र २५ नम्बर वडा पर्छन । यस्तै, तारकेश्वर नगरपालिकाको ३, ४ र ५ नम्बर वडा पर्छन । नागार्जुन नगरपालिकाका १, २ र ३ नम्वर वडा यसै क्षेत्रमा पर्छन् ।
सोह्रखुट्टे, क्षेत्रपाटी, नरदेवीलगायतका बढी जनघन्तव भएको बस्ती यहीँ पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत विश्लेषण गर्दा काठमाडौं महानगरको १६, १७ र २५, नागार्जुन नगरपालिकाको १ र तारकेश्वर नगरपालिकाको ३ र ५ मा कांग्रेस विजयी भएको थियो । यस्तै, काठमाडौं महागरको १८, नागार्जुन नगरपालिकाको २ र ३, तारकेश्वरको ४ मा एमालेले जितेको थियो ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत विश्लेषण गर्दा यो क्षेत्रको सबैभन्दा ठुलो दल कांग्रेस छ । तर यस पटक यहाँ कांग्रेसबाट उम्मेदवार छैनन् । गठबन्धनमा नेकपा माओवादीलाई परेको यो क्षेत्रमा मानुषी उम्मेदवार छन् । स्थानीय तह निर्वाचनको परिणाम अनुसार माओवादी केन्द्रको स्थान पाँचौ मात्र हो ।
गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले १४ हजार १६७ मत ल्याएको थियो । एमालेले १२ हजार २०२, नेकपा एकीकृत समाजवादीले ३ हजार आठ सय २, राप्रपाले ३ हजार २७ मत तथा माओवादी केन्द्रले ५७६ मत ल्याएको थियो ।
समझदारी अनुसार यस क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल नहुँदा एमालेलाई घाटा लाग्ने देखिन्छ । तर, सत्ता गठबन्धनले माओवादी केन्द्रलाई टिकट दिएकाले उसले कांग्रेस र नेकपा एकीकृत समाजवादीको मत तान्नुपर्ने देखिन्छ । किनभने यो निर्वाचन क्षेत्रमा वडाध्यक्षको मत नियाल्दा माओवादी केन्द्रले राप्रपा भन्दा पनि थोरै मत ल्याएको छ ।
कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको मत जोड्दा १८ हजार ५४५ मत हुन्छ । जुन एमालेको मतभन्दा धेरै हो । यसरी स्थानीय तहको निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धन अघि देखिए पनि चुनावी अभियानमा होमिएका उम्मेदवारको प्रतिबद्धता, जनतासँग गरेका सम्झौताको पालना तथा मतदाताको रोजाइले परिणाम भने फरक हुन सक्नेछ ।