मतदातालाई बाड्न एमाले नेताको घरमा राखिएका चापाकल र पाइप बरामद
वीरगन्ज : पर्साको बिन्दबासिनी गाउँपालिकामा मतदातालाई प्रभावित पार्ने नियतले बाड्नका लागि नेकपा एमालेका नेताको घरमा राखिएको चापाकल र पाइप सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ।
पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने विन्दवासनी गाउँपालिका-४ अमरपट्टीस्थित एमाले नेता धिरज चौरसियाको घरमा भण्डारण गरी राखिएका १६ थान चापाकल सेट, १६ थान जिआइ पाइप र २ हजार फिट प्लाष्टिक पाइप सोमबार प्रहरीले जफत गरेको हो।
चौरसिया गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ मा एमालेबाट वडाध्यक्षका प्रत्याशी थिए। उनको घरमा स्थानीय मखलाल भन्ने दीपक चौरसियाले गाउँमा बाडन भनि ल्याएर राखेको अवस्थामा चापाकल र पाइपहरू बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
अमरपट्टीस्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपानेको नेतृत्वमा प्रहरी चौकी अमरपट्टीबाट समेत खटिएको टोलीले चौरसियाको घरबाट ती सामानहरू बरामद गरेको हो।
बरामद गरिएका ती सामानहरू प्रहरी चौकी अमरपट्टीमा राखिएको र यस बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।
कांग्रेसका स्थानीय नेता कार्यकर्ताले भने एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष ज्योति चौरसियाले सोमबार गाउँपालिका कार्यालयको स्टोरबाट ती सामानहरू बुझेर मतदातालाई प्रभावित पार्नका लागि एमाले नेता धिरजको घरमा लागेर राखेको बताएका छन्।
तर गाउँपालिका उपाध्यक्ष चौरसियाले यस बारे आफूलाई केही थाहा नै नभएको बताइन्। उनले आफूले गाउँपालिकाको कार्यालयबाट कुनै पनि चापाकल वा पाइप बुझेर नलगेको बताइन्।
पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा जसपा-एमाले गठबन्धनबाट एमालेका राज कुमार गुप्ता र पाँच दलीय गठबन्धनबाट कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी उम्मेदवार छन्।