राजनीतिक सुसंस्कारभित्रको विभ्रम
कम्युनिस्ट मेनिफेस्टोको घोषित विचारअनुसार ‘सर्वहारासँग गुमाउन हतकडी सिवाय केही छैन, जित्न सारा संसार छ।’ यद्यपि हाम्रो मुलुकभित्र दलीय चरित्रका कारण विकसित शीतयुद्धसँगै वैकल्पिक शक्ति र रचनात्मक नेतृत्वको चाह बढ्दै छ। ‘सर्वहारा वर्ग’ र ‘नव–सामन्तवादी चरित्र’सँग सिद्धान्त र व्यवहारको सिँगौरी पनि चलिरहेको छ। हिजो हामीले रोजेकाहरूसँग खोजेको र भोगेको व्यवहारभित्र चुनावी सरगर्मीको बहस फरक धारमा विकसित छ। संस्कृति र सामाजिक सम्बन्धको आयाम भुलेर राजनीतिले मानवतावादलाई बोध गर्नै सक्दैन।
अब जनतालाई पैसाको तुजुक देखाएर धम्क्याउने अनि आफैं अनुशासन तोडेर अरूलाई अनुशासन सिकाउनेहरूको विभ्रमको चक्रब्युह पनि कमजोर साबित हुँदै जानसक्छ। यसर्थ माक्र्सवादी चिन्तनको वर्गीय चेतनाभन्दा मास्तिर ग्राम्सीको सर्वहारा वर्गीय सांस्कृतिक–बौद्धिक प्रभुत्वले नै नेपाली माटोलाई बोल्न सक्छ। दुई दशकबीचको नेपाली चिन्तनलाई हेर्दा दर्शन, राजनीति र जीवनबीचको विसंगतिले बाहुल्य जमाइरहेको छ। अहिले भइरहेको फरक शैलीको गठजोडले हामीले चाहेको राजनीतिक स्थिरता प्रदान गर्न नसक्ने आकलन गरेरै पनि जनतामा एक खाले नैराश्यता छ। वैचारिक भ्रष्टीकरणमा सत्तामोहको जञ्जाल गाँसियो तर देशप्रेम देखिएन। अरूबेला नाकमुख नदेखाउने नेताहरू दाइजोको सम्पत्तिझैं ठानेर ‘आफ्नो क्षेत्र’ भन्दै यतिखेर घरघरमा पुगेका छन्।
मुलुकमा परिवर्तन गर्ने भन्दै क्रान्तिका नाउँमा देश र जनताको दैनन्दिनी फरक बन्यो। अवस्था परिवर्तन गर्न व्यवस्था बदलियो। हिजो बनेका संरचना भत्काइए। असुरक्षाका कारण सहरतिर होमिनु परेकाले सहरीकरण बढ्यो। युवाले जोगिनैका लागि बिदेसिनु बाध्यता बन्यो। शिक्षा लिने अवसरबाट वञ्चित कतिपय जनतामा न गरी खाने न मरी जाने स्थिति पैदा भयो। समय क्रममा प्रगतिवादी सोचलाई उत्तरआधुनिक ढाँचामा गाँस्नुपर्छ भन्ने संकथनको चाह त बढ्यो। तर भ्रष्ट र द्रव्यमोहमा लिप्त नेतालाई कुर्सी मोहको लालमोहर तय भइदियो। आज तिनैले देशको भविष्यलाई गुमराहमा फसाइदिए।
वस्तुतः आम जनताको दिमागमा नवपरिवर्तनको अर्थ हिजोलाई पश्चिमीकृत गर्नु हो भन्ने दिग्भ्रम छरियो तर आफैं बन्नु हो भनिएन। आज मुलुक जे–जस्तो स्थितिमा रहे पनि केही मान्छेले आधिपत्य जमाउने अवसर पाए। तर, आजसम्म पनि ठोस रूपमा माटो र युगको सम्बन्धलाई गाँसेर आत्मनिर्भर बन्ने वस्तुगत आधार प्रदान गरिएकै छैन। रोजगार र देशप्रेमको सघन निःस्वार्थ चिन्तनलाई व्यावहारिकता दिइएकै छैन। शक्ति र सम्पत्तिलाई देश र जनता बनाउन खर्चिएकै देखिएन। कुर्सी र सत्ता जोगाउनैमा शक्तिको दोहन भइरहेको देखिन्छ।
सिद्धान्तको स्खलनमा आदर्शको भाषणभित्र अर्कालाई नंग्याउने इगोवाद हाबी भयो। कम्युनिस्टमा कमाउ शैली देखियो। समाजवाद र बीपीको सिद्धान्त भन्नेहरूमा पनि पदीय लिप्सा नामक रोगको महासंक्रमणले निरन्तरता पायो। माक्र्सवाद रटाइँदा हाम्रो आफ्नै आदर्श ‘म’ वादलाई सिकाइएन। पार्टी, खेमा, गुट, उपगुट र सेटिङको राजनीतिभित्र भीमकाय विसंगतिको चक्रीय खेल विकसित हुँदै गयो। तर आधुनिक युगमा जिउनुपर्छ भन्दै गर्दा पराधीन हुनु हुँदैन भन्ने ठोस आधार दिइएन।
स्वाधीनताको राजनीतिक चिन्तन नहुँदा असत्य पनि सत्य जस्तै लाग्ने रहेछ। सत्य कुरालाई पनि यदि हजारौं जनाले गलत भनिदिए भने दुई जनाले ‘यो सही हो’ भन्नै सक्दैन। यसर्थ अहिले बजारमा फैलिने ऊहापोहको सञ्जाल, सञ्चारभित्र देखिने र लेखिने कतिपय मिथ्या समाचारको एक किस्सा बोकेर हिजो र भोलि दुवै नसोच्ने अल्पज्ञानमा हामी निथ्रुक्क भिजेका छौं। परिणामतः जनतालाई कठपुतली बनाउने, विदेशी इसारामा नाच्ने, लाज नराखी सीमा पारिको आशीर्वाद थाप्ने, नागरिकतामा राजनीति गर्ने अनि देशप्रेमको ढोल पिट्ने सिद्धान्त पतित छेपारे शैलीले मुलुकको अस्मितामा प्रहार हुने भय छ।
अत्याधुनिक प्रविधिप्रतिको आस्था, विकास र सहज जीवनशैलीलाई समाजसँग जोड्ने चिन्तनको खडेरी छ। देश, विदेश, विज्ञान अनि अन्तरिक्षसम्मको दूरगामी चिन्तनप्रतिको सोचलाई कपोलकल्पित मात्रै भनिरहने बौद्धिकताले हाम्रो कमजोर चिन्तनलाई बोध गराउँछ। आत्मनिर्भरता, स्वदेशभित्रै रोजगारको विकास अनि युवाशक्तिको सदुपयोगको व्यावहारिक नीति र योजना बन्न सकेन। परिणामतः परनिर्भरताको विभ्रम बोकेको अल्पबुद्धिमा हामी विपन्न शैलीको पराधीन सोचभित्र लुटुपुटु गरिरहेका छौं। अर्काको देश बनाउन श्रम बेचेर जिउनुलाई सौभाग्य भन्दियौं। विप्रेषण (रेमिट्यान्स) को रकम अर्थात् विदेशमा पसिना बगाउनेको श्रम र पसिनामा प्राडो र पजेर चढ्ने बुद्धि भएकाहरूसँग भोलिको उज्यालोको अपेक्षा गरिरहनुपर्ने हाम्रो दुर्भाग्य हो।
सत्य तीतो हुन्छ। पचाउन गाह्रो पनि होला तर इतिहासलाई हेर्दा सर्वसत्तावादीले पनि प्रजातान्त्रिक हौं भन्दै ढोल पिटेका मात्रै छन्। यथार्थमा सूचनाको विभ्रमीकरण, इतिहासको उपेक्षा र माक्र्सवादको भ्रष्टीकरणमा व्यक्तिवादी पदीय स्वार्थले हामी भ्रमित छौं। काम गर्न चाहनेलाई कामै गर्न नदिने अनि अस्थिरतामै लिप्त हुनेहरूको एकखाले जमातभित्र हामीले संगति खोज्नु परेको छ। अहिले त विचारको गाम्भीर्यता र गहनतालाई हलुका टिप्पणी गर्ने अनि उडाउने शैली बढ्यो। अर्कालाई गाली, लाञ्छना र विरोध नगरी राजनीति नै नहुने सोचमा पनि भजन गाउने र सत्तोसराप गर्ने दुई थरी विचार भएका जनता जन्मिरहे। चरित्रहत्यामा रमाउँदै दूरदर्शितालाई खिल्ली उडाएर नेपालको भविष्य सधैं प्रश्न बोकेर उभिएको छ।
आजको विभ्रम
हाम्रा नेताका संकीर्ण विचार, कटुतापूर्ण बोली र आमजनताको टिप्पणी गर्ने पार्टीभक्तिको अस्वस्थ विचारले हाम्रो स्तर र सोचलाई इंगित गर्छ। क्षणिक चिन्तनको कटुतापूर्ण आलोचनाको शैलीमा विचारको लगाम गन्तव्यहीन बनिरहेकै छ। विडम्बना पृथ्वीनारायणलाई गाली गर्नुमा कत्रो र कस्तो बौद्धिकता रहला ? सांस्कृतिक गाम्भीर्यताको उपेक्षा गर्दै अपव्याख्यामा रम्ने अनि आफैंलाई देवत्वकृत तुल्याउनेको बेग्लै जमात बनिरहेकै छ। तथापि, पश्चिमा र पूर्वका राम्रा धारणालाई गाँस्नुभन्दा पूर्वलाई बिर्सेर पश्चिमी नक्कलको सोचलाई उत्तम मान्नैपर्ने लिँडे ढिपीको भूमण्डलीकृत विभ्रम छ। बुद्धलाई उपेक्षा गरेर समाजवाद र साम्यवाद खोज्छौं। स्वार्थरहित आदर्श रामराज्यको परिकल्पनालाई प्राचीन शैलीको संज्ञा दिन्छौं। अध्ययन गर्दैनौं अनि मिथ्या हो भन्ने आरोप लगाएर पन्छिन्छौं। जनकलाई साम्प्रदायिक पगरी गुथाएर धर्मको विभेदमा जाति र रङ हेर्छौं। भानुभक्त र विद्यापतिमा केवल भेद खोज्छौं तर समानता बिर्सन्छौं।
पाश्चात्य पुँजीवादी अर्थात् अमेरिकी साम्राज्यवादी शैलीको सांस्कृतिक साम्राज्यवादलाई सूचना र प्रविधिले आर्थिक, राजनीतिक र सांस्कृतिक तवरमा विकसित तुल्यायो। भूमण्डलीकरणले समाजको विकृति, असमानता, अन्यायलाई हटाउन खोज्यौं। मुलुक कमसेकम सांस्कृतिक सम्पदाप्रति त सम्पन्न छ। तथापि, आज जनविश्वासभित्रको विज्ञान अनि संस्कृतिभित्रको वैज्ञानिक रहस्यलाई कतै कसैबाट खोजीनीति नगरिँदा हामी दिनदिनै आर्थिक, राजनीतिक अनि सांस्कृतिक रूपमा समेत पराधीन बन्दै छौँ।
अहिले जाति, लिंग, वर्ग, धर्मको विभेदलाई सप्रेम चिर्न सक्ने मानवतावादलाई बिर्सेर फरक मात्रै सिकाउने परिपाटीमा निषेधको राजनीतिक विभ्रमभित्र वर्षौंदेखि देश अल्मलिएको छ। आसन्न चुनावको जितलाई जो–जसले आफ्नो पोल्टामा पारे पनि स्थिरताप्रति आशंका छ। वस्तुतः अब आउन सक्ने सम्भावित तिनै पुराना नेतृत्वसँग भविष्यको उज्यालोपनको अभाव छ भन्नुमा पनि सायद अत्युक्ति नरहला।
हाल सार्वजनिक भइरहेका कतिपय ठूला भनिएकै पार्टीका घोषणापत्रभित्र कसैको अधिकारका लागि कसैमाथि अन्याय भइरहेको छ भन्ने कुरै बिर्सिएको छ। अवसर पाउनुपर्नेले भन्दा बढी पहुँचवालाले शक्तिको दुरुपयोग गरिरहेको टुलुटुलु हेरिरहन विवश छौं। महत्त्वाकांक्षी स्वप्नका शब्दसञ्जाल राखेर मिहिनेत गरिएका घोषणापत्रले विगतका घोषणापत्रलाई पनि पुनरावलोकन गर्दै समीक्षा गर्नु पर्दैन र ! त्यहाँ भुइँमान्छे अर्थात् सीमान्तीकृत वर्गभित्रको आवाजलाई भन्दा राजनीतिक स्वार्थको प्रतिबिम्ब प्रस्टिन्छ। दम्भको प्रतिविम्ब झल्किनु घोषणापत्रको अर्को विशेषता हो। बहुल विषयमा कोरिएका लामा घोषणापत्र चुनाव जित्नमात्र हुन् तर चुनावपछि कतै कुनातिर कुहिन्छन् भन्ने सत्य पनि जगजाहेरै छ। भागबन्डाको गठजोडले भोलि पनि हरनिकायमा भागकै लडाइँ भइरहने पाक्कल्पना हामी सामुन्ने छ। अतः मन्त्री मण्डल तयार पार्नै धौ–धौ हुँदा विकासका एजेन्डा छायामा पर्न सक्ने देखिन्छ।
चुनावी दिग्भ्रम
पूर्वीय वाङ्मयहरूमा वर्णित आदर्श राजनीतिभित्र पसेर अलिकति मात्रै पनि विमर्श गर्ने हो भने हामीले न्याय र सुशासनको भाष्यलाई मज्जासँग केलाउन सक्छौं। हाम्रो मुलुकमा समानता, न्याय, भाइचारा, समभाव अर्थात् मानवताको गहन विचारभित्र सुशासनमुखी समाज सञ्चालनको सहकार्यात्मक निःस्वार्थ आधार सम्भव हुन्छ। सिद्धान्त चाहे जोसुकैले जन्माए पनि माटो र संस्कृति, पहिचान र भूगोल सापेक्षित हुनुपर्छ।
वास्तवमा स्वदेशमै क्षमताअनुसारको काम अनि कामअनुसारको दाम पाउने भए मात्रै सामाजिक र पारिवारिक प्रेमको सौन्दर्य सम्भव हुन्छ। अतः आसन्न चुनावमा जनताले नेतासँग यही एउटा ‘रोजगारको सुनिश्चिता’ मागे पुग्छ।
स्वतन्त्र र निष्पक्ष चुनावी प्रक्रियाप्रति सधैंजसो प्रश्न उठ्छ। हाम्रो समाज अभावका कारण दबाब र प्रभावमा पर्छ। प्रचार र विज्ञापनको होडबाजीमा फसेर असल नेतृत्व छान्ने महायज्ञमा हामी चुक्न पुग्छौं। प्राज्ञिक र बौद्धिक जमात अनि सञ्चार क्षेत्रले निष्पक्ष चिन्तनको धर्म बिर्सिदिँदा देशको सर्वसाधारण जनता दिग्भ्रमित बनिदिन्छ। वैचारिक संघर्षको थलो बन्नुपर्ने उच्च शैक्षिक निकायनै विचारहीन बनेका छन्। गुणको गहनतालाई चुनावले दूरदर्शी रूपमा समीक्षा गर्न सकिरहेको छैन। देशप्रेमका दृष्टान्त र चिन्तनलाई दूरगामी रूपमा नसोचिँदा हामीले छानेका मान्छेले देशहितमा समर्पण भाव राख्न सक्दैनन्।
हास्यव्यंग्य निबन्धकार भैरव अर्यालद्वारा लिखित ‘टाउको’ निबन्धमा भनिए जसरी राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रको विकृति सुधार अत्यावश्यक हुन्छ। वास्तवमा प्रजातान्त्रिक सुदृढीकरणको बाटोमा जनताको सचेतना अपरिहार्य हुन्छ। ठूला भनिएका दल र तिनका नेतालाई सचेत जनताले मूल्यांकन गर्न सक्छन्। हाल स्वतन्त्र उम्मेदवारको एक खाले प्रभाव बढेकाले पनि जनतामा सचेतनाको दीप बलेको देखिन्छ। चुनावले स्वतन्त्रै स्वतन्त्रलाई अघि सारेमा मात्र मुलुकको गन्तव्य तय भइहाल्छ भनेर ढुक्क हुन सकिन्न। कतै भाषा, संस्कृति, रैथाने ज्ञान, आयुर्वेदजस्ता मौलिक ज्ञानलाई चटक्कै बिर्सिएका छौं।
सुशासन र न्यायको पाठ सिकेर निःस्वार्थ राजनीति गर्नुपर्ने मनोभावमा भिज्न सिकिसकेका छैनौं। तथापि, यस चुनावी माहोलबाट विकासको विनिर्माणमा नवीन संस्कार भने अवश्य बस्छ। पार्टीहरूलाई पनि एकखाले दबाबका कारण राष्ट्रिय स्वार्थप्रतिको समर्पण भाव विकसित हुन्छ। युवाद्वारा योजनासहित विकासका लक्ष्य, उद्देश्य र कार्यान्वयनको मार्गचित्र बन्न सक्छ। परिणामतः आगामी चुनावका लागि एउटा मार्गदर्शन तय हुन्छ। यसबाट सांस्कृतिक अतिक्रमणमा फसेको राजनीति बिस्तारै पेसा नभएर सेवामा परिणत हुँदै जाने सम्भावना बढ्छ।