ब्याजदरविरुद्ध व्यवसायी आन्दोलित, बुझाए ज्ञापनपत्र

ब्याजदरविरुद्ध व्यवसायी आन्दोलित, बुझाए ज्ञापनपत्र

झापा : बैङ्क तथा वित्तीय संस्थाहरूले आर्थिक तरलताको चाप देखाउँदै अप्रत्याशित रूपमा ब्याजदर बढाएको भन्दै झापाका उद्योगी व्यवसायी आन्दोलित बनेका छन्। 

तत्काल ब्याजदर फिर्ता गराउनु पर्ने मागसहित सरकारलाई दबाब दिने उद्देश्यले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जिल्लाभरका उद्योगी व्यवसायीहरूले मङ्गलबार बिहान जिल्ला प्रशासन कार्यालय झापा घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन्। 

झापा उद्योग वाणिज्य सङ्घ भद्रपुर, उद्योग सङ्घ भद्रपुर, बिर्तामोड, मेची, शनिश्चरे, सुरुङगा लगायत उद्योग वाणिज्य सङ्घमा आबद्ध पदाधिकारीहरूले भद्रपुरस्थित ट्रेड युनियन चोकमा भेला भएर र्यालीसहित प्रशासन कार्यालय पुगेका थिए। 

जिल्लाभरका उद्योग सङ्घहरूले सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलाई १८ बुँदे मागसहितको छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन्। 

ज्ञापनपत्र पश्चात् आयोजित कोणसभामा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया, प्रदेश १ उद्योग वाणिज्य महासङ्घका अध्यक्ष टीकाराज ढकाल, उद्योग सङ्घ भद्रपुरका अध्यक्ष यमबहादुर श्रेष्ठ र बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटीले बैङ्क तथा वित्तीय संस्थाहरूले बढाएको चर्को ब्याजदरका कारण यहाँका उद्योगी व्यवसायी पलायन हुने अवस्था सृजना भएकोले तत्काल वृद्धि गरिएको ब्याजदर फिर्ता लिनुपर्नेमा जोड दिएका थिए। 

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले सम्बन्धित निकायमा ज्ञापनपत्र पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। माई पश्चिमका उद्योग वाणिज्य सङ्घहरूले इलाका प्रशासन कार्यालय दमकमा ज्ञापनपत्र बुझाएको बताइएको छ। 

कोभिड महामारी, रुस र युक्रेनको युद्धले देशको अर्थतन्त्र सङ्कुचित हुँदै गएको तथा आर्थिक गतिविधिमा आएको शिथिलताले आम उद्योगी व्यवसायीसहित सर्वसाधारणको समेत जनजीवनमा प्रत्यक्ष असर परिरहेको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह नगरी अप्रत्याशित रूपमा ब्याजदर बढाएर अप्ठ्यारो पार्न खोजिएकोले उद्योगी व्यवसायी आन्दोलित बन्नु परेको प्रदेश १ उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले बताए। 

बैङ्क तथा वित्तीय संस्थाहरूको ज्यादतीका कारण उद्योग तथा कलकारखाना बैङ्कलाई बुझाउनुपर्ने अवस्था आइसकेको छ। सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैङ्कको त्रुटिपूर्ण नीतिले यस्तो समस्या आएको बताउँदै उनले भने, 'तत्काल समस्याको समाधान नखोजिए देशभरका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिने छ।' 

व्यवसायी सङ्घहरूको आन्दोलनको कार्यक्रम अनुसार भोलि कार्तिक २३ गते बैङ्किङ कारोबार नगर्ने, बजार क्षेत्रमा प्ले कार्डसहित प्रदर्शन गर्ने, कार्तिक २५ गते प्रदेशको कार्यक्रममा सहभागी हुने र कार्तिक २८ गते केन्द्रीय कार्यक्रममा सहभागी हुने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.