सोरुङबासीले निर्वाचन बहिस्कार गर्ने निर्णय लिए फिर्ता
उदयपुरर : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिस्कार गरेका उदयपुरको कटारी नगरपालिका १० सोरुङ्ग छविसेका स्थानीयले निर्णय फिर्ता लिएका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरबहादुर कटुवालका आफन्त, राजनीतिक दल र प्रशासनबीचको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले मंसिर ४ को निर्वाचन बहिस्कार गरेका थिए।
मंगलबार कटारी नगरपालिकाको कार्यालयमा मेयर राजेशचन्द श्रेष्ठ, उपमेयर गीता खड्कासहित इलाका प्रशासन कार्यालय कटारीका प्रमुख चेतराज बराल, राजनीतिक दलका नगर र जिल्ला तथा केन्द्रीय प्रतिनिधिसहितको सर्वदलीय/सर्वपक्षीय बैठकले सहमति कार्यान्वयन गर्ने पुनः सहमति भएसँगै स्थानीयले निर्वाचन बहिस्कारको निर्णय फिर्ता लिएका हुन्।
बैठकमा घटनाको गृहमन्त्रालयबाट गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रालयलाई आग्रह गर्ने, मृतकलाई शहीद घोषणाका लागि पुनः पहल गर्ने, वैशाख ३१ को सहमतिमा भएअनुसारको राहत रकम १० लाख मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयमा आइसकेकाले मृतकका बाबु जितबहादुर कटुवाललाई उपलब्ध गराउने सहमतिपछि निर्वाचन बहिष्कार फिर्ता लिने निर्णय भएको उपमेयर गीता खड्काले बताइन्।
उनले भनिन्, ‘सबै पक्षबाट सहमति कार्यान्वयन भए निर्वाचन गर्नुपर्छ भन्ने भाव बुझियो। सोहीअनुसार कार्यान्वयन हुन्छ र निर्वाचनको वातावरण बनाउने स्थानीयले प्रतिबद्धता जनाउनुभयो।’
मतदानका दिन कटारी १० स्थित जनता कालिका मावि सोरुङ्ग मतदान केन्द्रमा प्रहरीको गोलीबाट कटुवालको ज्यान गएको थियो। उक्त घटनामा मोहनबहादुर श्रेष्ठ घाइते भएका थिए। घटनापश्चात् स्थानीय बासिन्दाले मतपेटिका उठाउन नदिई शवसमेत घटनास्थलबाट उठाएका थिएनन्।