प्रचण्डले घर त बनाए, तर छोडेर गए

प्रचण्डले घर त बनाए, तर छोडेर गए

चितवन (शिवनगर) : दसैंको घटनास्थापना साइत पारेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शिवनगरस्थित नवनिर्मित घरमा ‘गृहप्रवेश’ गरे। १० कठ्ठा जग्गामा बनेको ‘आधुनिक घर’ मा प्रचण्डको प्रवेशसँगै धेरैको अनुमान थियो– अब प्रचण्ड चितवनको स्थायी बासिन्दा हुनेछन्। यही क्षेत्रबाट चुनाव लड्नेछन्। त्यसैकारण, उनका छिमेकी र पार्टीका कार्यकर्तामा खुसी छायो।

प्रचण्डले घर प्रवेश गर्ने बेला नै यहाँका बासिन्दासँग भनेका थिए– बा, बितेपछि उहाँका नाममा भएको जग्गा प्राप्त गरेँ। एउटा सानो घर बनाएको छु। ४० वर्षपछि तपाईंहरूकै काखमा छु। तपाईंहरूको सुख दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’ तर, प्रचण्डले घर त चितवनमा बनाए, चुनाव लड्न भने गोरखा हानिए। त्यसपछि यहाँका कार्यकर्ता र मतदाता आश्चर्यमा परे।

प्रचण्डले ०७४ मा चुनाव जितेको क्षेत्र नम्बर ३ मै घर बनाएका हुन्। नेताहरू ‘पाहुना’ बनेर आउने गरेको आरोप चिर्न पनि प्रचण्डले यहाँ घर बनाएको कार्यकर्ताको ठम्याइ थियो। चितवनमा ‘असुरक्षित’ महसुस गरेर प्रचण्ड गोरखा चुनाव लड्न गएको हुन सक्ने यहाँको बासिन्दाहरूको ठम्याइ छ। ‘प्रचण्डले अघिल्लो चुनावमा जनतासँग गरेको बाचा पूरा गर्न नसकेपछि गोरखा जानु भएको हो,’ स्थानीय मुक्तिनाथ न्यौपानेले अन्नपूर्णसँग भने, ‘उहाँले यो क्षेत्रमा बोलेका कुनै पनि कुरा पूरा गर्नु भएन। धेरै प्रचण्डहरू आए, गए। यो क्षेत्रको न बाढीको समस्या समाधान भयो न त सडक कै।’ 

स्थानीयवासीहरू घर उद्घाटन पछि प्रचण्ड नफर्केको बताउँछन्। छिमेकी ५४ वर्षीया फुलमाया भुजेल यति ठूलो नेता छिमेकी बन्न आएकोमा आफूलाई खुसी लागेको बताउँछिन्। ‘यति ठूलो नेता हाम्रोनजिक घर बनाउनुभयो, खुसी नहुने त कुरै भएन, फूलमायाले भनिन्, ‘चुनाव यो पालामा पनि यहीबाट लड्नु भएको भए हुन्थ्यो तर खै किन हो, गोरखातिर पो जानुभयो रे !’

प्रचण्डको छिमेकी एवं आफन्त सीता भण्डारीले प्रचण्ड गोरखामा चुनाव लड्न गएपछि त्यो क्षेत्र नै सुनसान भएको बताउँछिन्। ‘उहाँ गएपछि यो क्षेत्र नै सुनसान भयो,’ भण्डारीले भनिन्, ‘यही क्षेत्रमा उठिदिएको भए हुन्थ्यो।’ 

स्थानीय आफन्त विष्णु भण्डारीले भने राष्ट्रिय स्तरको नेता जहाँबाट लड्दा पनि फरक नपर्ने बताए। ‘उहाँ राष्ट्रिय नेता हो,’ उनले भने, ‘देशभरका जुन क्षेत्रबाट उठे पनि फरक पर्दैन। यहाँ उम्मेदवार नहुँदैमा उहाँले यहाँको विकास निर्माणमा सहयोग नगर्ने भन्ने कुरै भएन नि !’ 

त्यसो त ‘सर्वहारा’ वर्ग र पार्टी’ को नेतृत्व गर्ने प्रचण्डको काठमाडौंको ‘डेरा’ बसाई विवादमा नै छ। ‘ठेकेदार’ को घरमा भाडामा बसेको भन्दै प्रचण्डमाथि पार्टीकै कार्यकर्ताहरूले आलोचना गर्ने गरेका छन्। ‘ठेकेदार’ को घरमा किन बसेको भन्ने आरोप चिर्न पनि आफूले चितवनमा घर बनाएको र अब विस्तारै त्यता सर्ने प्रचण्डले केही दिन अघि अन्नपूर्ण पोष्टसँगको अन्तर्वार्तामा बताएका थिए। 

शिवनगरस्थित १० कठ्ठा क्षेत्रफलमा बनेको प्रचण्डको घरमा सुरक्षाकर्मीका परिवार मात्रै बस्ने गरेका छन्। कहिलेकाहीँ प्रचण्डकी पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उनका श्रीमान् चासो राख्दै घरमा आउजाउ गर्ने गरेका छन्। ‘उद्घाटन भएपछि उहाँ(प्रचण्ड) आउनु भएको छैन। कहिलेकाहीँ उहाँको ज्वाइँले के कसो छ भनेर सोध्न आउनुहुन्छ,’ सुरक्षाकर्मीका परिवारका सदस्यहरू भन्छन्। 

प्रचण्डले चितवनमा सुरक्षित महसुस नगरेकै कारण गोरखा गरेको यहाँका अधिकांश स्थानीयवासीको भनाइ छ। ०७४ को निर्वाचनमा प्रचण्डले यो क्षेत्रमा राप्रपाका विक्रम पाण्डेलाई हराएका थिए। वामगठबन्धन बनाएर चुनाव लडेका प्रचण्डले राप्रपाका पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले पराजित गरेका थिए। प्रचण्डले ४८ हजार २ सय ७६ मत ल्याउँदा राप्रपाका पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका थिए। तर, हालै सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र यो क्षेत्रमा कमजोर देखिएको छ।

यो क्षेत्रमा भरतपुर महानगरपालिकाको १९ वडा र माडी नगरपालिका पर्छ। स्थानीय तहमा वडाध्यक्षले पाएको मतअनुसार एमालेको २९ हजार ७ सय ७१ मत छ। कांग्रेसको २९ हजार ३ सय ४३ मत छ। माओवादीसँग १० हजार ९ सय ४० मत मात्रै छ। राप्रपाको ६ हजार १ सय ९८ र नेकपा एकीकृत समाजवादीको ५ हजार ३७ मत छ। पार्टीको स्थान नै ‘तेस्रो’ रहेको र चितवनका कांग्रेसीहरूमा ‘गठबन्धन’ प्रतिको असन्तुष्टिका कारण प्रचण्डले यहाँ सुरक्षित महसुस नगरेको स्थानीय नेताहरूको अनुमान छ। यो क्षेत्रमा एमाले र राप्रपा गठबन्धन भएमा चुनाव जित्न प्रचण्डलाई ‘सकस’ कै अवस्था थियो। 

माओवादी केन्द्रका चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले भने घर बनाउनुभन्दा पहिले नै प्रचण्डले गोरखा जाने कुरा गरेको दाबी गरे। ‘जनयुद्ध सुरुवात गर्ने ऐतिहासिक स्थल गोरखा हो,’ अधिकारीले भने, ‘आर्थिक समृद्धिको सुरुवात गर्न र त्यो आधार क्षेत्र बनाउन उहाँ गोरखा जानुभएको हो।’ ‘प्रचण्ड गोरखा जाँदा चितवन ओझेलमा नपर्ने अधिकारीले दाबी गरे। 

प्रचण्डका धेरै आफन्त शिव नगरमा नै बस्छन्। प्रचण्डको घरवरिपरि आफन्तहरूकै बाक्लो बसोबास छ। कास्कीबाट प्रचण्डको परिवार २०१९ सालमा चितवन बसाई सर्न आएको उनका आफन्तहरू बताउँछन्। कास्कीको ढिकुर पोखरीमा २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्डले ०२६ सालमा चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिरबाट एसएलसी पास गरेका थिए। 

०२७ सालदेखि ०२९ सम्म पाटन बहुमुखी क्याम्पसमा आईएस्सी पढे। त्यसपछि ०३१ देखि ०३६ सालसम्म चितवनको रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी गरे। उनका आफन्त प्रचण्डको स्थायी घर चितवन नै भएको दाबी गर्छन्। अधिकांश नेताका निर्वाचन क्षेत्र स्थायी छन्। १२ वर्षको सशस्त्र आन्दोलन छोडेर संसदीय राजनीतिमा आएका प्रचण्डले निर्वाचनपिच्छे क्षेत्र परिवर्तन गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.