विरासत जोगाउने रणनीतिमा कृष्णगोपाल, माओवादीकी कल्पनालाई कांग्रेसको भर

विरासत जोगाउने रणनीतिमा कृष्णगोपाल, माओवादीकी कल्पनालाई कांग्रेसको भर

काठमाडौं: प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच टक्कर हुने देखिएको छ । 

यो क्षेत्रमा एमालेको तर्फबाट कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमला उम्मेदवार छन् । श्रेष्ठ यसअघिको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । 

काठमाडौं-९ मा १२ दलगत उम्मेदवार र १० स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी छ । अहिले श्रेष्ठ, धमलासहित साझा पार्टी नेपालका मिलन पाण्डे, राप्रपाका देवेन्द्र प्रधान, जसपाका शर्मिला सुवाल(डंगोल)लगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।

 
२०७४ सालको निर्वाचनमा एमाले नेता श्रेष्ठ २२ हजार ८ सय ५२ मतसहित विजयी भएका थिए । नेपाली कांग्रेस नेता ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मतसहित दोस्रो धेरै मत ल्याउने नेता थिए । तेस्रो विवेकशील साझा पार्टीका मिलन पाण्डे भएका थिए।

पाण्डेले ४ हजार ९४६ मत ल्याएका थिए । यस्तै, तत्कालीन संघीय समाजवादी फोरमकी शर्मिला डंगोलले ४०२ मत ल्याएकी थिइन् । 

अर्थशास्त्रमा स्नातकोत्तर गरेका कृष्णगोपाल विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका व्यक्ति हुन् । ०३७ सालमा अनेरास्ववियुले गरेको पहिलो नेपाल बन्दमा सक्रिय सहभागी बनेका उनी ०३८ सालमा पार्टीको काठमाडौं जिल्ला कमिटी सचिव भएका थिए ।

०४२ सालमा भक्तपुर र ०४६ सालमा ललितपुरको पार्टी सचिव भएका उनी ०४७ सालमा अखिल नेपाल किसान संघको सचिव थिए । ०५४ सालमा नेकपा एमालेको काठमाडौं उपत्यका कमिटी सचिव बनेर काम गरेका उनी ०५४ सालदेखि एमालेको केन्द्रीय सदस्य बने । ०६१ सालमा उनी स्थानीय विकास राज्यमन्त्री भएका थिए । ०७४ मा बनेको केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका उनलाई आवश्यकता अनुसार अन्य मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो ।

काठमाडौं क्षेत्र नम्बर ९ मा पूर्वमन्त्रीसमेत रहेका एमाले नेता कृष्णगोपाल श्रेष्ठ विरासत जोगाउने रणनीतिसहित चुनावी अभियानमा छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी नेतृ कल्पना धमलालाई जितका लागि कांग्रेसको भर छ भने साझा पार्टी नेपालका मिलन पाण्डे एमाले र कांग्रेस कै कार्यकर्ता फकाउँदैछन् ।

२०४८ सालको आम निर्वाचनमा मदन भण्डारीले छाडेको काठमाडौं क्षेत्र नम्बर ५ को उपनिर्वाचनमा निर्वाचित श्रेष्ठ ०५१ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भए । यसरी श्रेष्ठ ०४८, ०५१ मा काठमाडौं ७ बाट , ०७४ मा काठमाडौं ९ बाट जितेका जनप्रतिनिधि हुन् । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा भने उनी पराजित भए । यी दुवै निर्वाचनमा उनी नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितसँग पराजति भएका थिए ।

धादिङको ज्यामरूङमा जन्मिएकी कल्पना धमला पनि विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय छन् । ०५६ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्यका साथै छात्रा विभाग प्रमुख बनेकी धमलालाई तत्कालीन नेकपा (माओवादी)ले ०५७ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिव बनाएको थियो । माओवादी युद्धको समयमा तत्कालीन् जनमुक्ति सेना सहकमिसार बनेर उनले काम गरेकी थिइन । 

पार्टीको आन्तरिक राजनीतिमा राम्रो प्रगति गर्ने नेतृका रुपमा कार्यकर्ताले उनलाई चिन्ने गरेका छन् । उनी अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य, पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख छन् । हाल काठमाडौंको चन्द्रागिरि–१५ तीनथानामा स्थायी बसोबास गर्दै आएकी उनी काठमाडौंका लागि नयाँ अनुहार हुन् । उनले ०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा साविक धादिङ–२ बाट चुनाव जितेकी थिइन्। धमला २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा विज्ञान तथा प्रविधि मन्त्री बनेकी थिइन् । २०७० सालको चुनावमा भने पराजित भएकी थिइन्।

यो क्षेत्रमा अर्को चर्चामा रहेका उम्मेदवार हुन मिलन पाण्डे । पेशाले सिभिल इन्जिनियर पाण्डे ०७० सालमा विवेकशील नेपालीको संस्थापक सदस्यको रूपमा वैकल्पिक राजनीतिमा प्रवेश गरेका थिएँ । उज्वल थापापछि दोस्रो अध्यक्षका रूपमा ०७६ सालमा उनी विवेकशील नेपालीको अध्यक्ष निर्वाचित भए । त्यसपछि ०७७ सालमा विवेकशील साझा पार्टीको संयोजक भए । सार्वजनिक शिक्षा सुधारमा विशेष रुचीका साथ पाण्डेले काम गरेका छन् । ३३ वर्षीय पाण्डे २०७४ सालमा यो क्षेत्रबाट विवेकशील साझा पार्टीका उम्मेदवार बने पनि मतका आधारमा तेस्रो बने ।

काठमाडौं क्षेत्र नम्बर-९ मा  ७२ हजार १७३ मतदाता छन् । ०७४ सालको निर्वाचनमा ६७ हजार ६५१ मतदाता रहेकोमा यस पटक ४ हजार ५२२ मतदाता थपिएको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकमा उल्लेख छ ।

यस्तो छ काठमाडौं-९ को अंकगणित 
काठमाडौं क्षेत्र नम्बर-९ मा ७२ हजार १७३ मतदाता छन् । ०७४ सालको निर्वाचनमा ६७ हजार ६५१ मतदाता रहेकोमा यस पटक ४ हजार ५२२ मतदाता थपिएको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकमा उल्लेख छ । थपिएका मतदातामध्ये अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन् ।  

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर १२, १४, २१ र २२ पर्छन् । त्यस्तै, चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ नम्बर वडा पर्छन् । नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडा पर्छन् । टेकु, कलंकी, ज्यावहाल, टेवहाललगायतका बढी जनघनत्व भएका क्षेत्र यही निर्वाचन क्षेत्रमा छन् । 

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत परिणाम हेर्दा काठमाडौं महानगरको १२ र १४, नागार्जुन नगरपालिकाको ६, ९, १० चन्द्रागिरि नगरपालिकाको १, १३ र १५ मा कांग्रेस विजयी भएको थियो । यस्तै, काठमाडौंको २१, २२, नागार्जुनको ७, ८ चन्द्रागिरिको १२ मा एमाले विजयी भएको थियो । 

स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाध्यक्षका उम्मेदवारले पाएको मतमा कांग्रेस अगाडि छ । कांग्रेस एक्लैको १९ हजार ९१६ मत ल्याएको छ । यस्तै, एमालेको १९ हजार २८२, माओवादी केन्द्रको ६९५, नेकपा एकीकृत समाजवादीको ४६५  मत छ । यसरी गणना गर्दा सत्ता गठबन्धनको २१ हजार ७६ मत छ भने एमालेको १९ हजार २८२ मत छ ।
 
स्थानीय तह निर्वाचनको परिणाम अनुसार माओवादीको मत कम छ । तर गठबन्धनले माओवादी उम्मेदवार नै यो क्षेत्रमा उठाएको छ । माओवादी नेतृले कांग्रेस र नेकपा एकीकृत समाजवादीको मत कसरी तान्ने हो त्यो हेर्न बाँकी छ । 

विगतदेखि नै निर्वाचन जित्दै आएकाले एमाले नेता श्रेष्ठको उपस्थति पनि कमजोर छैन । जे भए पनि यो क्षेत्रमा सबैको उम्मेदवारको चुनावी अभियान र सुझबुझसहितका मतदाताको मत कसलाई पर्ने भन्ने हेर्न परिणाम नै कुर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.