सुदूरपश्चिममा भूकम्प : सयौं घर बस्नै नहुने गरी चर्किए
आर्थिक अवस्था कमजोर भएका डोटी पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँका ५० वर्षीय प्रेम बोहरा भारतमा काम गर्थे। त्यसैले जीवन चलेको थियो। मंगलबार मात्रै उनी साथीलाई घर पुगेर आउँछु भनेर नेपाल आएका थिए। तर, यसपटक काममा महाराष्ट्र फर्कन पाएनन्। बुधबार बिहान आएको भूकम्पमा घर भत्किएर निधन भयो।
अहिले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्रा हुन्छ। यो समयमा डोटीका ग्रामीण भेगबाट कामको खोजीमा भारत गएका अधिकांश व्यक्तिहरू जात्रा हेर्न घर फर्कने गर्छन्। यसकै लागि बोहरा पनि मंगलबार घर फर्किएका थिए। उनी करिब ४/५ घण्टा मात्रै परिवारसँगै बस्न पाए। बुधबार बिहान २ः१२ बजे आएको ६.६ म्याग्निच्युडको भूकम्पले प्रेमलाई मात्रै लगेन उनीसँगै १४ वर्षीया छोरी तुल्सी बोहराको समेत निधन भयो। अहिले उनको घर पूर्णरूपमा भत्किएको छ। एक छोरा र श्रीमती बेसाहारा बनेका छन्।
डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भयो। ७ जना घाइते छन्। खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्निच्युड भूकम्पको धक्काबाट सुदूरपश्चिममा दर्जनौं घरमा क्षति पुगेको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बुधबार दिउँसो ४ बजेसम्म २ सय ३२ पटक पराकम्प मापन गरिएको थियो। पराकम्प आउने क्रम रोकिएको छैन।
भूकम्पको ठूलो धक्का र त्यसपछि लगातारका पराकम्पका कारण पश्चिम क्षेत्रमा सर्वसाधारण त्रसित बनेका छन्। ‘२०७२ मा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पछिसम्मै पराकम्पहरू गइरहे’ शर्माले भने, ‘यसपालि डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पनि ठूलो थियो। त्यसकारण केही दिन त्यसको पराकम्पहरू आउन सक्छन्।’
भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ जना बालबालिका छन्। इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार ५० वर्षीय प्रेम बोहरा र छोरी १४ वर्षीया तुल्सी बोहरा, त्यसैगरी ४० वर्षीया भगवती बोहरा, उनका छोरा ८ वर्षीय हर्क बोहरा र १३ वर्षीया छोरी सीता बोहरा र १४ वर्षीया धनसरी बोहराको मृत्यु भएको छ।
घाइते हुनेहरूमा इशरादेवी बोहरा, धौली बोहरा, बिस्ना बोहरा, चनादेवी बोहरा, महावीर बोहरा, केशवसिंह बोहरा र जगुदेवी बोहरा छन्। सो गाउँका दर्जन जति घरहरू पूर्णरूपमा भत्किनुका साथै सयौं घरहरू बस्नै नहुने गरी चर्केका छन्।
घाइते भएका ७ जनामध्ये बिस्ना बोहरा र चनादेवी बोहराको नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ। बाँकीको जिल्ला अस्पतालमा उपचारपश्चात् गाउँ फर्किएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डीएसपी भोला भट्टले जानकारी दिए।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी, रेडक्रसको टिम तथा स्थानीयको टोली उद्धारमा खटिएको इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयन सिं भाटले जानकारी दिएका छन्। घरमा च्यापिएर केही पशुचौपाया पनि मरेका छन्।
भूकम्पका कारण बझाङका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पुर्याएको छ। ३८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
थलारा गाउँपालिका ९ सिरेटामा महोनराज जोशी, जौकला सिंह, हंसा चदारा, अपु नेपाली, वीरबहादुर नेपाली र छबिसपाथिभेरा गाउँपालिका ४ व्यासीका डबल कामीको घरमा पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए।
त्यस्तै थलारा गाउँपालिकाको सिरेटामै २५, केदारस्युँ गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ९ वटा घरमा आंशिक क्षति पुगेको अवस्थीले बताए। यस्तै जिल्ला कारागार बझाङको भवनमा समेत आंशिक क्षति पुगेको छ।
अछामका पनि केही घरहरू भत्केका छन्। जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी कैलाश बिष्टले प्रहरीले घटनाको विवरण संकलन गरिरहेको बताए। साँफेबगर नगरपालिका १४ पातलकोट भास्कुन गाउँका अधिकाश घरहरू चर्केर बस्नै नमिल्ने अवस्थाको रहेको वडाध्यक्ष सन्जु थापाले बताइन्। उनले ९३ घरधुरीमध्ये अधिकांश चर्केका बताए। त्यहाका स्थानीयहरू घर बाहिरै बसेका छन्। बेला बेलामा भूकम्पको धक्का महसुस भइरहेकाले पनि स्थानीयहरू त्रसित छन्।
खगेन्द्रंबहादुर सिंह/डोटी, प्रताप ओली/बझाङ, गीता कुँवर/अछाम