नेतालाई भोटकै चिन्ता, पीडितलाई चोटै चोट
चितवन : २०६२ जेठ २३ गते। घडीमा बिहानको पौने ८ बज्दै थियो। बाँदरमुढेका कृष्णप्रसाद अधिकारी बसमा चढे। ‘म भरतपुर जाने भनेर बस चढेको थिएँ,’ अधिकारीले त्यो त्रासदी घटना सम्झे। अनि, अन्नपूर्णसँग भने, ‘सिटमा बसेको थिएँ। एक जना वृद्ध गाडीमा चढ्न आएपछि उहाँलाई छोडिदिएँ।’ गाडी खचाखच थियो। त्यसपछि अधिकारी गाडीको छतमा गए। छतमा पनि ६०/६५ जना थिए। ‘बाँदरमुढे खोला मात्रै के तरेका थियौं, अचानक कटकट आवाज आयो,’ अधिकारीले भने, ‘के पड्के जस्तो भएको थियो। त्यसपछि त थाहै भएन।’
बस विस्फोटमा ३९ जनाले ज्यान गुमाएका थिए। जसमा ३५ सर्वसाधारण र ३ नेपाली सेनाका अधिकारी थिए। एक जना बालकको पनि विस्फोटमा ज्यान गएको थियो। तर, उनको अझै सनाखत हुन सकेको छैनन्। विस्फोटमा ७२ जनाभन्दा बढी घाइते भएका थिए। धेरै अंगभंग भएका थिए। घाइते केहीको मृत्यु भइसकेको छ भने केही घाइते शारीरिक र मानसिक पीडा बोकेर बाँचिरहेका छन्। देशमा चुनाव आइरहेको छ। पीडितले अझै न्याय पाएका छैनन्। त्यसैकारण पीडितहरूको गुनासो छ– त्यो घटना सम्झिँदा त कसरी भोट हाल्न जानु ?’
बस विस्फोटका घाइतेलाई मैलाघारी हुँदै हेलिकप्टरमा काठमाडौं लगिएको थियो। ‘मेरो पिसाबसमेत बन्द भएको रहेछ,’ अधिकारीले भने, ‘घटनाको भोलिपल्ट पाइप लगाएर पिसाब फालेपछि मात्रै होस् आयो। मेरा दुवै खुट्टा भाँचिएको रहेछन्।’ अधिकारीको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा २५/२६ दिन उपचार भएको थियो। त्यो दर्दनाक घटना सम्झँदै कहाली लाग्ने गरेको अधिकारी बताउँछन्।’ तत्कालीन सशस्त्र ‘विद्रोही’ माओवादीले बसमा विस्फोट गराएको थियो। ‘एम्बुस’ थापेर बम विस्फोट गराइएको थियो। उक्त त्रासदी घटना ‘बाँदरमुढे’ नामले इतिहासमा ‘कलंकित’ छ। घटनास्थल चितवन सदरमुकाम भरतपुरबाट करिब ४० किलोमिटर दक्षिणमा पर्छ।
घटना भएको १७ वर्ष बित्यो। पीडितले अझै न्याय नपाएको अधिकारीको गुनासो छ। सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समेत घटनाको सत्य पत्ता लगाउने र पीडितलाई न्याय हुन नसकेको अधिकारीले गुनासो पोखे। ‘१७ वर्षदेखि पीडा भोगिरहेका छौं,’ अधिकारीले भने, ‘सत्यनिरुपण आयोग बन्नै ७ वर्ष लाग्यो। त्यो आयोगले केही गर्न सकेको छैन। अहिलेसम्म न्याय पाएनांै।’ पीडितले न्याय नपाउनुमा माओवादी मात्रै दोषी नभएको उनको भनाइ छ। ‘त्यो घटना गराउने र त्यसको दोषी माओवादी हो,’ अधिकारीले भने, ‘तर पीडितलाई न्याय दिलाउन कांग्रेस र एमालेले त सक्थे नि ! उनीहरू पनि जिम्मेवार भएनन्।’
अधिकारी पीडितले न्याय नपाउनुमा ६० प्रतिशत दोषी माओवादी र २०/२० प्रतिशत दोषी कांग्रेस र एमालेको पनि रहेको तर्क गर्छन्। ‘खाने बेला सबै दल मिल्छन् तर न्याय निरुपण गर्ने बेलामा भने उनीहरू झगडा गर्छन्,’ उनको गुनासो छ, ‘पीडितलाई झन् पीडा दिने मात्रै काम भएको छ।’ दलहरू मिलेर गठबन्धन बनाइदिँदा पीडितहरू झन् पीडित बन्ने गरेको उनको गुनासो छ।
‘अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिले, अहिले त्यही घटना घटाउने माओवादीसँग कांग्रेसको गठबन्धन छ,’ उनले भने, ‘गठबन्धनका कारण पनि हाम्रो न्याय निरुपण ओझेलमा छ।’ नागरिक समाज चितवनका पूर्वअध्यक्ष हरिराज पौडेल घटनाका घाइते र मृतकका परिवारको स्वास्थ्य उपचार, शिक्षा, सामाजिक सुरक्षाको राज्यले ग्यारेन्टी गर्नुपर्ने बताउँछन्। ‘राज्यले नै यसको जिम्मा लिनुपर्छ,’ उनले भने, ‘न्यायको आशमा उनीहरू झन् पीडित हुने अवस्था आउनु हुँदैन।’
घटनाका अर्का पीडित हुन्, मुक्तिनाथ न्यौपाने। उनकी पत्नी सीतादेवी न्यौपाने नागरिकता बनाउन सदरमुकाम भरतपुर जान बस चढेकी थिइन्। तर, सदरमुकाम पुग्न नपाउँदै विस्फोटमा परिन्। ‘म भरतपुरमा थिएँ,’ न्यौपानेले भने, ‘श्रीमतीलाई नागरिकता बनाउनका लागि मैले नै बोलाएको थिएँ। उनी त्यही गाडीमा आउँदै रहेछिन्, विस्फोटमा परेर ज्यान गुमाइन्।’ घटना लगत्तै आफू घटनास्थल पुगेको उनले बताए।
‘आफन्तहरूसँगै घटनास्थल आइपुगे’ उनले त्यो दर्दनाक घटना सम्झँे, ‘मेरी पत्नी सीता, स्कुलसँगै पढेको साथी आत्माराम, मीना गुरुङसहित २ जना अरू केटाकेटीको लास देखँे। म त छांगाबाट खसेजस्तै भएँ। एक छिन त केही सोच्नै सकिनँ।’ उक्त घटनामा परेका तीन सयको परिवारको अवस्था बिचल्ली भएको उनले बताए। सरकारले पीडितका परिवारसँग पटक–पटक सम्झौता पनि गरेको छ। तर, कुनै कार्यान्वयन भएको छैन। ‘यो दर्दनाक घटनाको अन्तर्राष्ट्रियकरण गर्नुपर्छ,’ उनले भने, ‘पीडितको अवस्था झन्–झन् कमजोर बन्दैछ। तर, हाम्रा पीडामा मलम लगाउने कोही छैन।’
बस विस्फोटको घटनाकी प्रत्यक्षदर्शी हुन, ६६ वर्षीया राधादेवी दाहाल। उनका पति केशवदत्त दाहाल त्यही बस चढ्न खोजेका थिए। तर, बसका सहयोगीले उनीसँग भएको चामल बसमा चढाउन मानेनन्। त्यसैकारण उनी त्यो गाडी चढ्न पाएनन्। छोराको व्रतबन्धका लागि केशवदत्त सरसमान लिन घर आएका थिए। ‘दिन बलिया भएर होला, उनी बचेँ। केशवदत्तलाई छोडेर बस अघि बढ्यो। तर, केहीबेरमै पड्कियो। प्रत्यक्षदर्शी दाहाल भन्छिन्, तीन पटक पड्कियोे। कालो धुवाँको मुस्लो थियो। मेरो त होस् हवास नै उड्यो।’
विस्फोट लगत्तै आफू पतिलाई खोज्न दौडेको र त्यहाँ बिभत्स दृश्य देखेको स्मरण गरिन्। ‘म त बुढो पनि गाडी चढ्नु भयो होला भनेर बुढो खोज्न थाले,’ उनले भनिन्, ‘अब जानुभयो भन्ने पनि भयो। लास पल्टाउन थाले। कसैको नाक थिएन, कसैको मुख थिएन। महिला र केटीकेटी छटपटाइरहेका थिए। जिन्दगीमा नदेखेको देखियो।’ त्यसपछि त छेउमै पतिलाई देख्दा मात्रै आफ्नो होस् आएको उनले बताइन्। उनले भनिन्, ‘त्यो घटना देख्दा त पार्टीहरूलाई भोट हाल्न कसरी जानु ?’
राधादेवीले बम विस्फोट गर्नेलाई ठेगान लगाउनु पर्ने बताइन्। ‘न्याय निसाफ हुनुपर्यो,’ उनले भनिन्, ‘यत्रा मान्छे मार्नेलाई कारबाही हुनुपर्यो। खोरमा हाल्नुपर्यो।’ निर्दयीलाई खोरमा नहालेसम्म भोट हाल्न नहुने उनको भनाइ छ। ‘३४ सालदेखि भोट दिएका दियै छौं,’ उनले भनिन्, ‘तर खोइ के भएको छ ? यत्रो घटना भएको हुँदा त नेताले चासो दिँदैनन्, यस्तालाई के भोट हाल्नु।’ उनले त्यो घटनाको मुख्य दोषी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भएको आरोप पनि लगाइन्।
- छाउनीको १५ रोपनी एक आना खाली गराउन पत्राचार
- सतुंगल–थानकोटको १७० रोपनी मोहीका नाममा
- सल्लाघारीको १०८ रोपनीमा नगरको पर्खाल
घटनास्थल चितवनको क्षेत्र नम्बर ३ मा पर्छ। यो घटनापछि तीनवटा ठूला निर्वाचन भइसकेका छन्। २०६४ सालको पहिलो संविधानसभामा निर्वाचनमा यो क्षेत्रबाट जनमोर्चा नेता अमिक शेरचन निर्वाचित भएका थिए। यो बेला यो चितवन ५ नम्बर क्षेत्रमा थियो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचन राप्रपाका नेता विक्रम पाण्डेले जितेका थिए। ०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट माओवादीकै अध्यक्ष पुष्पकमल दाहालले जिते।
पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डले चुनाव जिते पनि पीडितको पक्षमा कुनै नाम नगरेको बाँदरमुडेवासीको गुनासो छ। अझ कतिपय पीडित अझ पीडितसमेत भए। प्रचण्ड जाने भएपछि कतिपय पीडितका घरमा सुरक्षाकर्मीले घेर्छन्। अघोषित रूपमा नजरबन्दमा राख्ने गरेको पीडित बताउँछन्। त्यो घटनाका घाइते कृष्णप्रसाद अधिकारी प्रचण्ड आउने भएपछि आफ्नो घरमा सुरक्षाकर्मीको घेराबन्दी नै हुने गरेको बताउँछन्। ‘मेरो घर वरिपरि पुलिस आयो भने प्रचण्ड आउँदैछन् भन्ने गाउँलेलाई थाहा हुन्छ, उनले दुःखेसो पोखे, ‘घरमा प्रहरी आउँछन् र सतर्क भएर बस्नु होला भन्छन्। प्रचण्डले जितेपछि पीडितले अझ पीडा पाएका छन्।’ बाँदरमुढे घटनाका पीडितहरूको संघर्ष समितिका उपाध्यक्षसमेत रहेका अधिकारीले घाइतेको उपचार, परिपुरण र सत्य उजागरसहितको न्यायका लागि १७ वर्षदेखि लडिरहेको बताए।
२०६२ साल जेठ २३ गते बिहान पौने ८ बजे चितवनस्थित बाँदरमुढेमा गुडिरहेको बसमा बम विस्फोट भयो। एक बालकसहित ३९ ले ज्यान गुमाए। तत्कालीन सशस्त्र ‘विद्रोही’ माओवादीले बसमा विस्फोट गराएको थियो। अहिले पनि त्यो घटनालाई प्रत्यक्ष देखेका र भोगेका नागरिक छन्। मुलुकमा परिवर्तन ल्याउन विद्रोह गरेको माओवादी सत्तामा पुग्यो। तर, नागरिकको जीवन फेरिएन। पीडितहरू त्यो घटना झलझल सम्झन्छन्। र, अहिले पनि प्रश्न गर्छन्– त्यो घटना भोगेका हामी कसरी मत हालौं ?
घटनापछि दुइटा स्थानीय निर्वाचन पनि भइसकेका छन्। २०७४ सालको निर्वाचनमा माडी नगरपालिकामा माओवादी केन्द्रका ठाकुर ढकाल मेयर निर्वाचित भएका थिए। ०७९ मा ताराकुमारी महतो मेयरमा निर्वाचित भएकी छन्। पीडितको पीडामा आश्वासानको मलम लगाउनेबाहेक केही नभएको पीडितको गुनासो छ।
घटनामा ज्यान गुमाएकाको परिवार र घाइतेले आफ्नो माग पूरा गराउन बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएका थिए। बाँदरमुडे संघर्ष समितिका संयोजकसमेत रहेका न्यौपाने बाँदरमुढे पीडितको न्याय निरुपणका लागि प्रचण्डसँग पटक–पटक वार्ता बसे पनि उनले कहीँ नगरेको बताए। ‘प्रचण्डसँग वार्ता बसियो तर उहाँ मुखले जे भन्नु हुन्छ, त्यो गर्नु हुन्न, उनले भने। स्मारक बनाउने भनेको बजेट पनि अन्तै खर्च गरिएको उनको गुनासो छ।बाँदरमुढे घटनास्थलमा मृत्यु भएकाहरूको सम्झनामा निर्माण गरिएको स्मारक
घटनास्थलमा मृत्यु भएकाहरूको सम्झनामा स्मारक बनाइएको छ। समितिलाई थाहै नदिई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पीडितमध्येका ५ जनालाई भेटेर तीनबुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएका थिए त्यस विषयमा विवाद भएको थियो। माडी नगरपालिका कार्यालयभित्र पीडितसँग अघिल्लो निर्वाचनका बेला प्रचण्डले छलफल गरेका थिए। घटनामा ज्यान गुमाउनेका परिवारलाई काम गर्न सक्नेलाई रोजगारी, नसक्नेलाई जीवनवृत्ति र बालबालिकाको पठनपाठनको व्यवस्था, घाइतेलाई औषधोपचारको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ।
बाँदरमुढे घटनाका मृतकको सम्झनामा १० बिघा जग्गामा स्मारक, चिडियाखाना, नमुना संग्रहालय बनाउने सहमतिसमेत भएको छ। चुनाव जितेपछि कुनै पनि बुँदा कार्यान्वयन नभएको पीडितहरू बताउँछन्। स्मारक पनि व्यक्तिको जग्गामा परेको भन्दै विवाद छ। स्मारक पनि व्यवस्थित छैन। जग्गा धनी केशवदत्त दाहाल आफू जग्गा दिन तयार रहेको बताउँछन्। यो क्षेत्रमा एमालेको समर्थनमा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइराला मैदानमा छन्। सत्तारुढ गठबन्धनबाट तर्फबाट माओवादी केन्द्रका नेता डा. भोजराज अधिकारी उम्मेदवार छन्। यही क्षेत्रमा राप्रपाबाट विक्रम पाण्डे पनि मैदानमा छन्।
कांग्रेसका बागी उम्मेदवार कोइरालाले बाँदरमुडेका पीडितका माग सम्बोधन गर्न आफूले प्रयास गर्ने बताए। ‘मैले पीडितलाई अहिलेसम्म भेटेको छैन,’ उनले भने, ‘चुनाव प्रचारका लागि माडी जाँदैछु। उहाँहरू संघ बस्छु र मेरो ठाउँबाट सक्ने पहल गर्छु।’ माओवादी उम्मेदवार अधिकारीले उक्त घटना बिर्सन नसक्ने भएको बताए। ‘त्यो घाउको पीडा अझै बाँकी छ,’ उनले भने, ‘घाउका अवशेषहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ ? घाउलाई कसरी पुर्न सकिन्छ भनेर परिवारसहित सबै संघ जोडिएर काम गर्न इच्छुक छु।’