झापामा हात्ती नियन्त्रण मुद्दा कसको ?
झापा : आसन्न आम निर्वाचनमा झापा निर्वाचन क्षेत्र ३ बाट उम्मेदवार बनेका दुई शीर्ष नेता राजेन्द्र लिङदेन र कृष्णप्रसाद सिटौला जैविक विविधतायुक्त जलथल जंगलको हात्ती नियन्त्रण तथा रोकथाम मुद्दालाई मुख्य एजेन्डा बनाएर एक अर्काप्रति ‘वाक युद्ध’ मा उत्रिएका छन्।
झापा–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका राप्रपा अध्यक्ष लिङदेन र कांग्रेस नेता सिटौला अहिले हात्ती नियन्त्रण तथा रोकथामका लागि चारकोशे जलथल जंगलमा मेरो पहलमा सोलार फेन्सिङ (सौर्य विद्युतीय तारबार) जडान भएको भन्दै चुनावी सभाहरूमा खुलेर आम मतदाताबीच ‘वाक युद्ध’ मा उत्रिएका हुन्।
लिङदेन र सिटौला हात्ती मुद्दा लिएर ‘वाक युद्ध’ गरिरहेता पनि जलथल जंगलबाट निस्किएका हात्तीले जंगल आसपासका गाउँमा वितण्डा नमच्चाएको रात छैन। त्यस क्षेत्रका स्थानीयवासी त्रासमा जीवन बिताउन बाध्य छन्। अहिले चुनावका बेला मेरो पहलमा काम भएको भन्दै दुवै शीर्ष नेताहरू हानथाप र गालीगलौजमा उत्रिनुभन्दा पनि यसको दीर्घकालीन समस्याको समाधानमा लाग्नुपर्ने हात्ती पीडित मतदाताहरूको भनाइ छ।
गत कात्तिक ११ गते भद्रपुरमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले पाँच वर्षमा केही काम भएन, केही गरेन, पाँच वर्ष खेर गयो, यो भएको अलिअलि काम पनि मैले गरेको र मेरो दाइले गरेको भन्दै केही व्यक्तिले बुढो मान्छेलाई डोराएर हिँडिरहेको भनेका थिए। सोही प्रसंगमा लिङदेनले थपे, ‘यस क्षेत्रको ठूलो समस्याका रुपमा जलथल जंगलमा जंगली हात्ती अतिक्रमणको समस्या थियो।’ २०७४ सालको चुनावपछि जलथल जंगलमा सौर्य विद्युतीय तारवारको व्यवस्थापनका सबै कामहरू पूरा भएको बताउँदै उनले आर्थिक वर्ष २०७५/०७६ मा यी कामहरू भएको दाबी गरेका थिए।
उनले ‘खातापाता पल्टाउन सकिन्छ। यी योजना कहिले प्रारम्भ भए। कसले लेखापढी सुरु गर्यो। कहिले डीपीआर भयो। अहिले सौर्य विद्युतीय तारबार हामीले गरेको भन्दै हिँडने मान्छेहरू छन्। म चुनौतीको भाषामा भन्न चाहन्छु। आमाको दूध खाएको कोही बहादुर छोरा छ ? त्यो २०७४ भन्दा अगाडिको योजना हो भनेर प्रमाणित गर्न सक्छ, कि मैले लेखापढी गरेर गरेको हो भने म त्यसको झोला बोकेर हिँडन तयार छु,’ उनले भनेका थिए।
लिङदेनले त्यस्तो कुरा दाबीका साथ बोलेपछि कांग्रेसी नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालहरूमा सौर्य विद्युतीय तारबार कांग्रेसकै पहलमा आएको भनी प्रमाणित कागजातहरू हाल्न थाले। त्यति मात्र नभइ लिङदेनले बोलेको कुराप्रति कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समेत चुनावी सभाहरूमा खुलेर आक्रोश पोख्न थालेका छन्। सिटौलाले भने, ‘म दावाका साथ भन्छु, बितेका पाँच वर्षमा यस निर्वाचन क्षेत्र केन्द्रीय आयोजनाबाट रित्तै रह्यो, अलिअलि आयोजनाहरू प्रदेश सरकारबाट मात्र आयो।’
अहिले कुरा उठेको छ हात्ती नियन्त्रण गर्ने सौर्य विद्युतीय तारबारको। ‘हात्तीबारको योजना २०७४ सालको निर्वाचन अघि नै आएको हो ,’ उनले भने, ‘जलथल जंगलमा आएर हात्ती बस्न थाल्यो, गाउँमा निस्कन थाल्यो, मान्छे मार्न थाल्यो, अन्नबाली नस्ट गर्न थाल्यो, घर भत्काउन थाल्यो भनेर कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल (हाल भद्रपुर नगरपालिका मेयर) काठमाडौं पुगेर ममार्फत प्रधानमन्त्रीलाई भेटेका थिए। मैले नै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर हात्तीबारको काम तुरुन्त अघि बढाउनु पर्यो भनेर तोक लगाएर काम अघि बढाएको हो।’ उनले थपे, ‘त्यही बेला प्रधानमन्त्री कार्यालयले वन मन्त्रालयलाई पत्र पठायो, वनले योजना आयोगलाई चिठ्ठी काट्यो, त्यहाँबाट स्वीकृत प्राप्त भएपछि वनमार्फत अर्थ मन्त्रालयले ८ करोड ८ लाख ९० हजार रुपैयाँ छुट्यायो।’ २०७४ भदौमा तत्कालीन वन कार्यालय झापामा २ करोड रकम निकासा भयो।
‘ठ्याक्कै निर्वाचन घोषणा भएको र आचारसंहिता लागेको हुनाले त्यस बेला काम अघि बढ्न सकेन,’ उनले भने, ‘निर्वाचनपछि मात्र हात्तीबारको ग्लोबल टेन्डर निस्किएर काम अघि बढ्यो।’ उनले भने, ‘अस्ति भर्खरै भद्रपुरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै बसेका बेला लिङदेनजीले भनेका थिए कि यो हात्तीबारको बजेट २०७४ सालको निर्वाचनअघि आएको हो भने सिटौलाजीको झोला बोक्छु । अब मेरो झोला बोके भयो नि त,’ उनले आक्रोश पोखे।