घरमा ताल्चा, मतदाता खोज्दै उम्मेदवार
जोमसोम : मुस्ताङका राजनीतिक दल र तिनका उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्। तर, उनीहरूलाई मतदाता भेट्नै मुस्किल परेको छ। अधिकांश घरमा ताल्चा लागेका छन्। कतिपय उम्मेदवार चाहिँ मतदातासँग समय लिएरै भोट माग्दै छन्।
तल्लो मुस्ताङमा हिउँदेबाली लगाउन किसानलाई भ्याइनभ्याइ छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका आधाजसो मतदाता जाडो छल्न बेसी झरिसकेको अवस्था छ। उपल्लो मुस्ताङका अधिकांश घरहरूमा ताल्चा लगाएको देखिन्छ।
तल्लो मुस्ताङमा पनि बिहान र बेलुकीपख उक्तिकै चिसो हुन थालेको छ। उम्मेदवारहरूले चिसो थेग्दै, मतदातासँग विभिन्न योजना र प्रतिबद्धता लिएर उम्मेदवारसँग मत माग्न घरदैलो गर्दै छन्।
लोमान्थाङ–५ का स्थानीय भिछिरिङ गुरुङले उपल्लो मुस्ताङमा ५० प्रतिशत मतदाता जाडो छल्न बेसी झरिसकेको जानकारी दिए। ‘उपल्लो मुस्ताङमा असोज अगावै खेतीपातीको काम सकिन्छ, यहाँ बर्सेनि एकबाली मात्र खेती हुन्छ, उनले भने, ‘हिउँदको जाडो छल्न र वैकल्पिक घुम्ती व्यापार गर्न नागरिक बेसी झरिसकेका छन्।’
गबन्धनका उम्मेदवार योगेश गौचन थकाली उपल्लो मुस्ताङमा छन्। जनतासँग मत माग्न पुगेका उनले उपल्लो मुस्ताङमा मतदाता भेट्टाउन मुस्किल परेको जानकारी दिए। उनले उत्तरी सीमावर्ती गाउँका नागरिक जाडो छल्न बेसी झरिसकेको र प्रत्येक घरमा ताल्चा लगाएकाले आशिंक मतदातासँग मात्र मत माग्ने काम भएको गठबन्धनका उम्मेदवार थकालीले उल्लेख गरे।
लोमान्थाङ बजारका पर्यटन व्यवसायी र लोघेकरको तल्लो कालिगण्डकी तटीय क्षेत्रका यारा, घारा, ढि सुर्खाङका नागरिकबाहेक अधिकांश गाउँमा मतदाताहरू जाडो छल्न बेसी झरिसकेको एमालेका प्रदेश १ का उम्मेदवार इन्द्रधारा बिष्टले जानकारी दिए।
एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन पनि थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा मत माग्न व्यस्त छन्। तल्लो मुस्ताङमा मतदातालाई खेतीपाती थन्क्याउने र नयाँबाली लगाउने चटारोले मतदाता भेट्टाउन समस्या परेको छ। ‘मतदातालाई फोन गरेका छौं, उनीहरूले भेट्ने समय दिएका छन्, उनले भने, ‘मतदाताले भनेको समयमा हामी पुगेर मत माग्नैपर्ने बाध्यता छ, कतिपय मतदाता जिल्लामै छैनन्।
- मतदातालाई फोन गरेर समय माग्दै उम्मेदवार
- अधिकांश मतदाता जाडो छल्न बेसी झरिसके
- कतिपय उम्मेदवार खेतबारीमै गएर भोट माग्दै
एमालेका प्रदेश (ख) उम्मेदवार चन्द्रमोहन गौचनले खेतीपातीको समय भएकाले मतदातालाई खेतमै गएर मत माग्न थालेको बताए। ‘जनतालाई अन्नबाली थन्क्याउन र नयाँ बाली लगाउने कामले फुर्सद छैन, मतदाता जहाँ काम गर्दै छन् हामी त्यही पुगेर मत माग्दै छौं।’
समग्र भौगालिक अवस्था र वस्तुगत मौसमलाई मध्यनजर गर्ने हो भने कात्तिकदेखि फागुन मसान्तसम्म हिमाली जिल्ला मुस्ताङ र मनाङका लागि निर्वाचन गर्ने उपयुक्त समय होइन। तर, देशभरको भौगोलिक अवस्था र मौसमलाई आत्मसात गरी २०७९ को मंसिर ४ गते निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ। यो समय मुस्ताङमा अत्याधिक हिमपात हुन्छ। अन्य जिल्लामा निर्वाचन आयोगले कात्तिक १८ गते चुनावी गतिविधि सञ्चालन गर्न अनुमति दिएपनि मुस्ताङमा तामझामका कार्यक्रम भएका छैनन्। निर्वाचन मिति नजिकै आउँदासमेत यहाँ कुनै दलको औपचारिक कार्यक्रम, सभा सम्मेलन र र्यालीका कार्यक्रम भएका छैनन्। भौगोलिक रुपले विकट र प्रतिकुल मौसमका कारण यहाँ कुनै राजनीतिक दलका शिर्ष नेताहरू आएर सम्वोधन गर्ने कार्यक्रम समेत हुँदैन।
थासाङ गाउँपालिकामा मत माग्दै उम्मेदवार
विगतका निर्वाचनलाई फर्किएर हेर्ने हो भने हिमाली जिल्ला मुस्ताङमा निर्वाचनको रौनक उत्कर्षमा पुगेको देखिन्न। यहाँ मतदानको केही दिन मात्र बाँकी रहँदा दल र तिनका उम्मेदवार मत माग्न तात्छन्। मुस्ताङ र मनाङको राजनीति ढिलो गरी तात्तिए पनि निर्वाचनको परिणाम भने यहाँ छिटो घोषणा हुन्छ।
मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीका अनुसार यहाँ मतगणना सुरु भएको करिव ६ वा ७ घण्टामा सबै परिणाम सार्वजनिक हुने दावी गरे। ‘२०७४ को निर्वाचनमा पनि यहाँ ७ घण्टामा सबै परिणाम बाहिर आएको थियो।’ पराजुलीले भने, ‘यसपटक पनि हामीले सोही समयभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने लक्ष्य लिएका छौं।’ मुस्ताङमा अन्यत्र जस्तो निर्वाचन र मतगणना कार्यमा कुनै बाधा अड्चन नआउने भएकाले छिटो भन्दा छिटो सवै बाहिर ल्याउने गृहकार्य गरेका छौं।’
प्रतिनिधि र प्रदेशसभाका लागि यसपटकको निर्वाचनमा मुस्ताङमा ४ राजनीतिक पार्टीका ९ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभातर्फ ४ जना र प्रदेश १ र २ मा ५ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। प्रतिनिधिसभातर्फ नेकपा(एमाले)का तर्फबाट निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्र्रसाद तुलाचन, कांग्रेससहितको सत्ता गठबन्धनबाट योगेश गौचन थकाली, रास्वपाका तर्फबाट सुदेश गुरुङ र राप्रपा नेपालबाट प्रविण शेरचन छन्।
कांग्रेस गठबन्धनका उम्मेदवार योगेश गौचन थकाली पूर्व वाणिज्य मन्त्री रोमि गौचन थकालीका छोरा हुन्। राप्रपा नेपालका उम्मेदवार शेरचनले आफ्नो उम्मेदवार निस्क्रिय तुल्याउँदै रास्वपालाई साथ दिएका छन्। प्रदेश १ तर्फ एमालेबाट निवर्तमान प्रदेशसभा सदस्य इन्द्रधारा बिष्ट र कांग्रेस गठबन्धनबाट नम्डु गुरुङबीच कडा प्रतिस्पर्धा हुने पक्का छ। प्रदेश–२ मा एमालेबाट पार्टी जिल्ला इञ्चार्ज चन्द्रमोहन गौचन, कांग्रेस गठबन्धनबाट विकल शेरचन र राप्रपा नेपालबाट एक्ली महिला उम्मेदवार कर्म डोल्कर गुरुङबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुनेछ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७४ मा मुस्ताङमा एमालेले ३ वटै सिट जितेको थियो।मुस्ताङका ५ स्थानीय तहमा १० हजार ९५७ जना मतदाता छन्। प्रदेश १ मुस्ताङमा १६ र प्रदेश २ मुस्ताङमा २३ वटा मतदान केन्द्र तोकिएको छ।