विद्यार्थी राजनीतिबाट आएका महरले जोशीलाई देलान् त चुनौती ?

विद्यार्थी राजनीतिबाट आएका महरले जोशीलाई देलान् त चुनौती ?

बझाङ : प्रतिनिधिसभा निर्वाचनका लागि बझाङमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर र नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशी प्रतिस्पर्धामा उत्रिएका छन् । जोशीलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको (बाम–लोकतान्त्रिक गठबन्धन) ले साथ छ भने महरलाई पार्टीको मात्रै साथ छ ।

लामो समय एकै पार्टीमा रहेर काम गरेका दुवै उम्मेदवार मंसिर ४ मा हुने निर्वाचनका लागि भने प्रतिष्पर्धामा उत्रिएका छन् । नेकपा एमाले बझाङका संस्थापकसमेत रहेका जोशी गतवर्ष एमालेबाट फुटेर बनेको नेकपा (एस) पार्टीमा छन् भने महर राजनीति सुरूवातदेखि नै एमालेमै छन् । एमालेमा साढे ४ दशक समय बिताएका र अहिले एकीकृत समाजवादीबाट उम्मेदवार भएका जोशी छविसपाथिभेरा गाउँपालिकाका स्थायीबासी हुन् भने एमालेमा साढे २ दशकदेखि क्रियाशिल महर जयपृथ्वी नगरपालिकाका स्थायीबासी हुन् ।

एमालेमा हुँदा विभिन्न संगठन, पार्टीको जिल्ला नेतृत्व, प्रदेश, केन्द्रहुँदै मन्त्रीको पनि जिम्मेवारी पाइसकेका जोशी फेरि प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन् भने अनेरास्ववियुबाटै राजनीति सुरूवात गरेका महर अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएर पार्टीको केन्द्रीय सदस्य हुँदै प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन् । 

स्कुले जीवनबाटै राजनीतिमा होमिएका दुवैजनाको जिल्लामा मात्रै होइन, केन्द्रमा पनि लोकप्रियता उत्तिकै छ । महरसँग युवापंक्तिको जमात छ भने जोशीलाई अनुभवी भन्दै युवा तथा प्रौढ उमेरका जनताको साथ छ ।

दुवै नेता जिल्लाको परिवर्तन, विकास, सम्भावना तथा चुनौतीको बारेमा जानकार छन् । एमालेमा रहँदा माधव नेपाल खेमामा देखिएका जोशी अहिले नेपालले नै नेतृत्व गरेको एकीकृत समाजवादीतिर छन् ओली खेमाका महर एमालेमै क्रियाशिलरूपमा लागेका छन् ।

स्कुले जीवनबाटै राजनीतिमा होमिएका दुवैजनाको जिल्लामा मात्रै होइन, केन्द्रमा पनि लोकप्रियता उत्तिकै छ । महरसँग युवापंक्तिको जमात छ भने जोशीलाई अनुभवी भन्दै युवा तथा प्रौढ उमेरका जनताको साथ छ । त्यसैले पनि आगामी मंसिर ४ गते हुने निर्वाचनमा जोशी–महरबीच रोचक प्रतिष्पर्धा हुने देखिन्छ । 

राजनीतिक दल फरक भएपनि व्यक्तिको लोकप्रियताका कारण निर्वाचनमा पूर्वानुमान भने निकै फरक पर्ने देखिन्छ । दुवै उम्मेदवार प्रतिष्पर्धी भए पनि एक अर्कालाई सम्मान पनि उत्तिकै गर्छन् । आफ्नै कार्यकर्ता अहिले प्रतिस्पर्धी हुनु लोकतन्त्रको सफल पक्ष भएको जोशी बताउँछन् । उनी भन्छन्, ‘प्रतिस्पर्धाको राजनीतिमा फरक दल भएपछि निर्वाचनमा भिड्नु स्वभाविक पनि हो । ऐन महरहरू राजनीतिमा आउनु पनि स्वागतयोग्य कुरा हो ।’
 
यता महर पनि फरक दलमा गइसकेपछि आफ्नै नेतासँग प्रतिस्पर्धा हुनु स्वभाविक ठान्छन् । उनी भन्छन्, ‘कुनै बेलाका आफ्नै नेतासँग प्रतिस्पर्धी हुनुपर्ने रहेछ । फरक पार्टीमा गइसकेपछि स्वभाविक पनि हो ।’ २०४८ सालमा ऐन महर कक्षा–३ मा पढ्थे । प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भानुभक्त जोशीलाई भोट माग्न गाउँ आएको बेला पहिलोपटक त्यसबेला देखेका थिए । २०५१ मा भएको मध्यावधि निर्वाचनमा सोही पदमा उम्मेदवार बनेका जोशीको भाषण सुन्न साथीहरुसहित आमसभामा पुगेको महरको स्मृतिमा अहिले पनि ताजै छ । त्यतिबेला उनी कक्षा ६ का विद्यार्थी थिए । 

२०६४ सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार बनेका जोशीलाई जिताउने अभियान चलाउनेमध्येका एक सक्रिय कार्यकर्ता थिए, ऐन महर । त्यसयता पनि २०६८ सालमा जोशी मन्त्री हुँदा होस् या नेकपाको एकतापछि केन्द्रीय सदस्य र सूदुरपश्चिम सहइन्चार्ज हुँदा होस् । जोशी र महरको सुमधुर सम्बन्ध र घनिभूत सहकार्य थियो । गत वर्षसम्म पनि महरले कुनैदिन उनै जोशीसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्ला भन्ने कल्पना समेत गरेका थिएनन् । 

ऐन २०५५ सालमा एसएलसी पास गरेर काठमाडौं आएलगत्तै अस्कल क्याम्पसमा भर्ना भएर अनेरास्वियुबाट राजनीतिमा आबद्ध भएका हुन् । त्यसपछि भने जोशी र महरको देखादेख मात्रै होइन भेटघाट र सहकार्य समेत बाक्लो हुँदै गयो । २०६४ सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार बनेका जोशीलाई जिताउने अभियान चलाउनेमध्येका एक सक्रिय कार्यकर्ता थिए, ऐन महर । त्यसयता पनि २०६८ सालमा जोशी मन्त्री हुँदा होस् या नेकपाको एकतापछि केन्द्रीय सदस्य र सूदुरपश्चिम सहइन्चार्ज हुँदा होस् । जोशी र महरको सुमधुर सम्बन्ध र घनिभूत सहकार्य थियो । गत वर्षसम्म पनि महरले कुनैदिन उनै जोशीसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्ला भन्ने कल्पना समेत गरेका थिएनन् । 

‘राजनीतिमा स्थायी शत्रु र मीत्र कोही हुँदैन’भन्ने उक्ती उनीहरुको जीवनमा पनि चरितार्थ भएको छ । अहिले आएर आफैले सम्मान गर्ने नेतासँग उनै महर आमनेसामने छन् । ‘बच्चैदेखि नै नेताको रुपमा चिनेको, सम्मान र सहकार्य गरेको मान्छेसँग एउटै चुनावमा प्रतिस्पर्धा गर्नु भन्ने त मैले पोहोरसम्म पनि सोचेकै थिएन,’नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका महरले भने, ‘यो अवसरले मलाई दुःख र खुशी एकैपटक महसुस गराएको छ ।’

२०५८/०५९ साल देखि आफ्नो राजनीतिक अभियानमासँगै काम गरेका, आफ्नै नेतृत्वको छाता भित्र हुर्काएका र कुनैबेला आफ्नै निकट सहयोगी रहेका व्यक्तिसँग आमनेसामने हुर्नुपर्दा जोशीलाई पनि राम्रो लागेको छैन ।

एमाले पार्टी स्थापना गर्दादेखि पार्टी निर्माणमा योगदान गरेको र आफूले सम्मान गर्ने व्यक्ति विचलित भएर अर्को दलमार्फत आफैसँग प्रतिस्पर्धामा आएको कुराले मन अमिलो हुने गरेको उनले बताए । अनुभवीले पटकपटक अबसर पाउँदा पनि जिल्लाको विकास र रुपान्तरणको लागि केही गर्न नसकेकोले पुरानो पुस्तालाई विस्थापन गर्ने अवसर पाएकोमा भने खुशी लाग्ने गरेको उनी बताउँछन् । ‘यो अवसरले लामो समय देखि नेतृत्व ओगटेर समाज रुपान्तरणको बाधकको रुपमा रहेका उहाँहरुको पुस्तालाई विस्थापन गर्ने जिम्मेवारी मेरो काँधमा राखिदिएकोमा दुःखभन्दा पनि खुशी नै बढी लागेको छ,’ उनले भने ।

उसो त पारिवारिक रुपमा सानैदेखि महरलाई चिन्ने जोशीले पनि उनी कुनैदिन आफ्नै प्रतिस्पर्धीका रुपमा अगाडि आउलान् भन्ने सोचेका थिएनन् । २०५८/०५९ साल देखि आफ्नो राजनीतिक अभियानमासँगै काम गरेका, आफ्नै नेतृत्वको छाता भित्र हुर्काएका र कुनैबेला आफ्नै निकट सहयोगी रहेका व्यक्तिसँग आमनेसामने हुर्नुपर्दा जोशीलाई पनि राम्रो लागेको छैन ।

को हुन् भानुभक्त जोशी ?

वि.सं २०३५ सालमा शान्ति मावि चौघानपाटा पढ्दै गर्दा राजनीति चेत पलाएका भानुभक्त जोशीले २०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका हुन् । तत्कालिन राजा महेन्द्रको शासनकालदेखि आजसम्म मुलुकमा भएका हरेक परिवर्तनका साक्षी बनेका जोशी परिवर्तनको आन्दोलनमा दर्जनौं पटक गिरप्तारीमा परे ।

२०४६/४७ सालको आन्दोलनमा उनी विद्यार्थी संगठनबाट अग्रपंक्तिमा रहेर काम गरे । आन्दोलनकै बेलामा नेकपा मालेको जिल्ला सचिवको रुपमा काम गरेका जोशी २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडे । तर, झिनो मतले पराजित भए । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे । त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरे ।

२०६४ सालमा फेरि संविधानसभा सदस्यमा निर्वाचित भए । संविधानसभा सदस्यको मूख्य काम संविधान बनाउनु थियो । तर, २ वर्षमा संविधान नबनेपछि २ वर्ष बढाएर ४ वर्षको तोकियो । ०६८ वैशाख २१ गते मन्त्रिमण्डल पुर्नगठन हुँदा झलनाथ खनालको क्याबिनेटका वन तथा भू–संरक्षणमन्त्री जोशी थिए । उनको कार्यकाल ४ महिना मात्रै रह्यो । अहिले जोशी आउँदो मंसिरको ४ गतेका लागि उम्मेदवार भएका छन् ।

नेकपा एमालेमा हुँदा जोशीले जिल्लामा विभिन्न पद सम्हाल्दै जिल्ला नेतृत्व, अञ्चल कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरे भने गत वर्ष मात्रै गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको उनी स्थायी कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

आफू पदमा रहँदा महत्वपूर्ण काम गरेको जोशी सम्झन्छन् । २०५१ सालमा नेकपा एमालेको सरकार हुँदा जेष्ठ नागरिक भत्ता, सामाजिक सुरक्षाभत्ता, आफ्नो गाउँ आफैं बनाऔंजस्ता दर्जनौँ लोकप्रिय काम गरिएको थियो । त्यससमय राजनीति स्थायित्व नभएकै कारण जुनसुकै सरकार आए पनि ५ वर्ष नटिक्ने अवस्था भएका कारण धेरै काम गर्न नसकेको उनले बताए ।

‘म राजनीतिमा आउँदा बझाङ जिल्ला सडक सञ्जालबाट धेरै टाढा थियो । डडेल्धुराको पोखराबाट बझाङी दाजुभाइले नुन तेल किनेर ल्याउनुपथ्र्यो । त्यो बाध्यतालाई बझाङ जिल्लामा सडक पुर्‍याउने जिम्मेवारीका साथ निरन्तर ट्याक खोल्ने काममा लागेपछि बझाङमा गाडी पुगेको हो ।’ ट्र्याक खोल्दे सडक ग्राभेल गर्ने काम गरेपछि पक्की सडक बनाउँदै आजको मितिसम्म सडक सञ्जाल विस्तार भएको उनी दाबी गर्छन् । उनको लक्ष्य सडकलाई ताक्लाकोटसम्म पुर्याउनेछ । ‘यो सडकलाई चाँडोभन्दा चाँडो ताक्लाकोटसम्म पुर्‍याउँछौँ ,'उनले भने ।

वडा वडामा सडक पक्की गर्नुपर्ने, विद्युत सबै गाउँमा पुर्‍याउने, केन्द्रीय प्रशारण लाइन नपुगेका ठाउँमा सबै विद्युत पुर्‍याउने, विभिन्न पालिकामा ग्रामीण विद्युतीकरण गरेर अघि बढ्ने, टेलिफोन सेवालाई स्तरीकृत बनाउनुपर्ने, शिक्षा, स्वास्थ्य, कृषिमा आमुल परिवर्तन गर्ने, चिकित्सक तथा अन्य स्वास्थ्य संस्थामा स्तरयुक्त गर्ने, प्रत्येक पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्नेलगायतका योजनाहरू जोशीले अघि सारेका छन् ।

को हुन् ऐनबहादुर महर ?

२०५५ सालदेखि औपचारिक रूपमा राजनीतिमा होमिएका ऐनबहादुर महर नेकपा एमालेमा सशक्त युवाको रूपमा चिनिन्छन् । सुनी पिपलचौर माद्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि राजधानी छिरेका महर उच्च शिक्षा अध्ययनसँगै राजनीतिमा क्रियाशिलहुँदै आएका हुन् ।

राजनीतिक चेतना भएको परिवारमा जन्मेका उनी बाल्यकालदेखि नै कम्युनिष्ट विचारधाराबाट प्रभावित भएका थिए । २०५० सालमा भएको मदन–जीवराज हत्या घटनापछि सुरू भएको आन्दोलनबाट उनी पूर्ण रूपमा राजनीतिमा होमिए । दासढुंगा घटनापछि मदन भण्डारीको जीवनी, उनले गरेको योगदान, भाषण, कम्युनिष्ट विचारधारा लगातार प्रचारसँगै भएको आन्दोलनपछि महर नेकपा एमालेको सक्रिय कार्यकर्ताको रूपमा स्थापित हुँदै गए ।

मुलुकमा परिवर्तनका लागि, विद्यार्थीको हकाधिकारका लागि, सुशासनका लागि, भ्रष्टाचार विरोधजस्ता सबै खाले संघर्ष गर्दै महरले २०७६ जेठ ३ गते अनेरास्ववियूको सर्वोच्च जिम्मेवारी प्राप्त गरे । राजधानीले सुदूरपश्चिमलाई मात्रै होइन, कर्णालीलाई समेत बेवास्ता गर्ने ठाउँबाट कुनै संगठनको सर्वोच्च जिम्मेवारीमा पुग्नु सानो कुरा होइन । त्यसमा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सबैभन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष भए । विद्यार्थी संगठनपछि उनी अहिले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

संगठनमा विद्यार्थी तथा पार्टी नेतृत्वको मन जित्ने र विश्वासिलो पात्र बनेपछि आफूलाई नेतृत्व प्रदान गरेको उनी बताउँछन् । ‘अहिले प्रतिनिधि सभा सदस्यका लागि पार्टीले टिकट दिइसकेपछि उत्साहित हुनुका साथै जिम्मेवार र गम्भीर बनाएको छ,' उनले भने, ‘बझाङमा विकासको क्रम थोरै छ, अब धेरै गर्नुछ । विकासको गतिमा डो¥याउनु छ, गरिबीबाट माथि उठाउनुछ, मानिसको जनचेतना विकास गर्नुपर्नेछ । यसमा म दृढ छु । मैले बुझेको छु र मैले आफ्नै घरको विकास गर्नुपर्ने सम्झेको छु ।’

महर आफूलाई जनताले चिताएको बताउँछन् । उनी भन्छन्, ‘म जनताले खोजेको व्यक्ति हुँ । यहाँको समस्या प्रतिनिधि सभामा बुलन्द प्रस्तुत गरेर समाधान गराउँछु । बझाङका हरेक समस्या महसुस गरेको छु, बुझेको छु । पदमा रहँदा वा नरहँदा पनि सक्दो सहयोगका लागि सबै निकायसँग समन्वय गरेको छु । त्यसैले बझाङबासी आम जनता मेरो जितको प्रतिक्षामा छन् ।’

उनी बझाङबासीले पाटीभन्दा पनि बझाङलाई केन्द्रसम्म जोड्ने मान्छे खोजिरहेको बताउँछन् । ‘त्यस्तो व्यक्ति जनताले ऐन महर नै देखेका छन्, 'उनी भन्छन्, ‘पार्टीभन्दा व्यक्तिको क्षमता विचारलाई नियालेका जनताले मेरै प्रतिक्षा गरिरहेका छन् ।’

महर बझाङबासी गरिब हुनु नपर्ने बताउँछन् । ‘प्राकृतिक स्रोतले भरिएको यो ठाउँ सम्भावनै सम्भावनाले भरिभराउ छ । २००० मेगावाट हाइड्रो उत्पादन गर्ने क्षमता भएको ठाउँ छ । पर्यटन क्षेत्रले समग्र देशलाई नै चिनाउने क्षमता भएको ठाउँ छ । कृषि खेतीको सम्भावना पनि उस्तै छ । चैनपुर ताक्लाकोट बाटो मानसरोबरसम्म जोड्यो भने वेदेशिक व्यापार गर्न सजिलो भएको ठाउँ बझाङ नै हो ।' यति सम्भावना हुँदाहुँदै पनि बझाङी गरिब हुनु दुःखद भएको उनले बताए । त्यसका लागि काम गर्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।

उनले आफूले चुनाव जितेपछि बझाङी जनताको भाग्य फेरिने बताए । उनले भने, ‘अहिले पनि धमेनामा २१० मेगावाटको विद्युत प्राधिकरणले मेघा प्रोजेक्ट बनाउदैछ, ८७ मेगावाटको चैनपुरमा बन्ने तयारी छ । यस्तै योजना भित्र्याउन सके जिल्लाको विकास हुन धेरै समय लाग्दैन ।’

परिस्थिती र घटनाक्रमले पहिलेका दुवै एमाले आमनेसामने हुनुपरे पनि आफूले सहज रुपमा जित्ने जोशीको दाबी छ । यता आफूले राजनीतिक पुस्तान्तरणको अभिभारा पाएकोले मतदाताले आफूलाई नै रोज्ने महरको विश्वास छ । जोशी २०५१ सालमा प्रतिनिधिसभा सदस्य, २०६४ सालमा संविधान सभा सदस्य र २०६८ सालमा वनमन्त्री भइसकेका छन् ।

 अनेरास्वियुको केन्द्रीय अध्यक्ष भएपछि पार्टी संसदीय राजनीतिमा आएका महर चुनावी प्रतिस्पर्धामा नयाँ अनुहार हुन् । मुख्य प्रतिस्पर्धामा रहेका यी दुई नेताले आफूले सजिलै जित्ने दाबी गरे पनि दुवैका लागि जित भने त्यति सहज नभएको विश्लेषकहरुको अनुमान छ ।

प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा जोशी र महरसँगै अन्य सातजनाको उम्मेदवार चुनावी मैदानमा छन् । राप्रपाका विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जसपाका रामबहादुर जाग्री र स्वतन्त्र उम्मेदवार डम्मरबहादुर खड्का तथा रामचन्द्र राना बझाङबाट प्रतिनिधिसभाको प्रत्यासी छन् ।

यद्यपि, मुख्य प्रतिस्पर्धा भने गठबन्धनका जोशी र एमालेका महर बिच नै हुने देखिन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेका भैरवबहादुर सिंहले जितेका थिए । त्यसबेला वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार बनेका सिंहले ७ हजार ७०२ मत अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका पृथ्वीबहादुर सिंहलाई पराजित गरेका थिए । एमालेले ३४ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसले २६ हजार ९ सय १० मत प्राप्त गरेको थियो ।

यो निर्वाचनमा परिस्थिति फेरिएको छ । अहिले एकातिर नेपाली कांग्रेस, एकिकृत समाजवादी र माओवादी केन्द्रको वाम लोकतान्त्रीक गठबन्धन छ भने अर्को तिर एमाले एक्लै चुनावी मैदानमा छ । ‘स्थानीय चुनावको परिणामलाई आधार मान्ने हो र गठबन्धनको मत सबै जोशीलाई जाने हो भने उहाँको सहजै जित हुने देखिन्छ,’ बझाङ दिप क्याम्पस झोताका प्रमुख विरबहादुर विस्ट भन्छन्, ‘तर मतदाताहरु पहिले जस्तो दलले गरेको निर्णयमा सहमत भएर जता भन्यो त्यतै मत हाल्ने जस्ता देखिँदैनन् । युवा नेतृत्व प्रतिको आर्कषण पनि राम्रै देखिएकोले महरले पनि बाजी मार्न सक्छन् ।’

स्थानीय तह निर्वाचनको परिणाम हेर्दा गठबन्धनको पल्ला भारी देखिए पनि भर्खरै सम्पन्न भएको सो निर्वाचनमा गठबन्धन भित्र भएका घात–अर्न्तघातको तुस मतदातामा कायमै रहेकोले यसले आगामी चुनावको परिदृष्यलाई बदल्न सक्ने अनुमान जयपृथ्वी क्याम्पसका सहायक प्राध्यापक लालबहादुर बोहराको छ । ‘स्थानीय तहको चुनावमा धेरै ठाउँ गठबन्धन भित्रै अर्न्तघात भएको थियो । कतैकतै तुस अझै पनि बाँकी छ । त्यही शैलीको पुनरावृत्ति नहोला भन्न सकिन्न, 'बोहरा भन्छन्, ‘अर्को भनेको युवा उम्मेदवारले आकर्षक एजेन्डा ल्याएर मतदाताको विश्वास जित्न सके नतिजामा प्रभाव पर्न सक्छ ।’

हालै वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बझाङका १२ स्थानीय तहमध्ये नेकपा एमालेले ३ प्रमुखसहित २ उपप्रमुख मात्रै जितेको छ भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले ४ प्रमुख ५ उपप्रमुख, नेकपा माओवादी केन्द्रले २ प्रमुख, २ उपप्रमुख र  नेकपा एसले एक पालिका प्रमुखसहित २ उपप्रमुख जितेको छ ।

यस्तै वडागत हिसाबले हेर्दा ९४ वटा वडा रहेको बझाङमा नेकपा एमालेले २८ वटा, नेपाली कांग्रेस ३२ वटा, नेकपा माओवादी केन्द्रले १३ वटा र नेकपा एकीकृत समाजवादीले १३ वटा वडामा जितको देखिन्छ । यस्तै बाँकी रहेका ८ वडाकाहरु पनि गठबन्धन नजिक रहेका छन् । 

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ का स्वतन्त्र वडाध्यक्ष विजयी धामी त नेकपा माओवादी केन्द्रमा समाहित भइसकेका छन् । यस कारणले पनि गठबन्धनले इमान्दारिता देखाए गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीको जित पक्का देखिन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.