हतार गरे भन्न सकिन्न...!
हतारमा गरेका काम र आवेशमा गरेका निर्णयले नतिजा सुनिश्चित गर्दैन। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु आफंैलाई पीडा दिनु हो। मानिस चेतनशील छ। वर्तमानमात्र होइन, बितेका पलहरूको गणना गर्दै भविष्यका रेखाहरू कोर्न सक्छ। धैर्यले चेत र विवेकलाई प्रभावकारी बनाउँछ। हतारमा गरेका काम र आवेशमा गरेका निर्णयहरूमा स्वार्थ गाँसिएको हुन्छ। स्वार्थ लोभमोह र ईष्र्यामा जोडिँदा दुर्घटना निम्तिन सक्छ। थाहा छ, मानिसलाई आगो तातो हुन्छ। पोल्छ अनि खरानी पार्छ। त्यती कडा र उग्र आगोलाई पनि पानीले क्षणभरमा निभाइदिन्छ। तर त्यही पानीलाई सम्हाल्न नसके क्षणभरमै बगाइदिन्छ अनि बगर पनि बनाइदिन्छ। समय र आवश्यकताको पहिचानमा जीवन डोर्याउनेहरूले नै वास्तविक जीवन जिउने हुन्।
मानिस बदलिएका हुन् कि समय ? मानिसलाई जे पनि छिटो चाहिन थालेको छ। जहाँ पनि छिटो पुग्नु परेको छ। कुन बात अन्तिम, कुन रात अन्तिम, कसलाई थाहा ? तथापि सधैं हतारमै हुन्छौं। किन ? परिश्रमबिनाको फल र समयअगावै पाकेको फल एकै हुन्। यसमा वास्तविक स्वाद हुँदैन। वास्तविक स्वाद लिन त समयलाई पर्गेल्न सक्नु पर्छ। हेर्दा उसको व्यक्तिगत हतारोपन देखिन्छ, नतिजाको प्रभावमा भने ऊ एक्लो हुन्न। उसँग धेरैको सम्बन्ध जोडिएको हुन्छ। धेरै मुटु गाँसिएका हुन्छन्। मानिस यति बेफुर्सदी भइसके कि उसँग सोच्ने र पर्खने समय छैन। सबै उमेर, तह र तप्काका मानिसमा हतारोपन छ।
व्यस्त सडकमा पैदलयात्रुलाई हेर्नुपर्छ। मोबाइलमा गफिँदै सवारीसाधनहरूको भीडमा बाटो काटिरहेका छन्। रातोबत्तीमा रोकिनु पर्छ भन्ने ज्ञान छ तर रोकिने चेत छैन। त्यसपछि हरियो बत्ती बल्छ भन्ने सबैलाई थाहा छ। हेलो ... भन्दै एक हातले स्टेरिङ र ह्यान्डिल सम्हालिरहेका हुन्छन्। सडकमा एकले अर्कोलाई हेर्दैनन् या देख्दैनन्। जेब्राक्रसिङ सडकमा हुन्छ, त्यो हेर्ने आँखा यात्रुमा हुन्न। न आकासेपुल देख्छन् हतार गर्नेहरू। सोच र कार्यबीच तालमेल अभाव हुँदैछ। पैदलयात्रुका लागि भनेर बनाइएका सडकपेटी यसै पनि वैज्ञानिक र सुविधाजनक छैनन्। सडकपेटी छोडेर सडकबाटै पैदलयात्रु हिँडिरहेका हुन्छन्। सवारीसाधनहरूले हर्न बजाइरहेका छन्। हतारमा पैदलयात्रुहरू बाटो काटिरहेका छन्। सबै हतारमा। आखिर हतारको गन्तव्य कहाँसम्म हो ? कहाँ गएर टुंगिने हो ? नतिजा गर्भमै छ।
सडकमा ट्राफिक प्रहरीसँगै कहीँकहीँ स्वयंसेवक पनि खटिइरहेका छन्। सवारीसाधन चलाउने चालकसँगै पैदलयात्रुलाई सडकमा हिँड्ने र गुड्ने पाठ सिकाइरहेका छन्। दिनदिनै सवारीसाधनका सवारीचालक प्रहरी कारबाहीमा पनि परिरहेकै छन्। सडकमा हिँड्न होस् या गुड्न चेत नपुर्याएकै कारण धेरै दुर्घटना पनि भइरहेकै छन्। धेरैको ज्यान गइसकेको छ। कति घाइतेहरू जीवन र मृत्युको दोसाँधमा अर्धमृत अवस्थामा छन्। डिजिटल यो युगमा समाचार हेर्न र सुन्न सजिलो छ। घटनाका समाचार सबैले सुन्छन्। देखिरहेकै छन्। त्यसको पीडा भोग्नेलाई बढी छ। सडकमा गुड्ने सवारीसाधन पनि प्रतियोगितामा भाग लिइरहेझैं आपसी प्रतिस्पर्धा जसरी देखिन्छन्। सवारीचालक अनुमतिपत्र प्राप्त भएकै छ, सवारीसाधन चलाउन पनि आउँछ। सरकारले जारी गरेको सवारी ऐन पढेका पनि छन्। ती सबै ज्ञान कागजी पानामा सीमित छन्, व्यवहारमा एकदमै न्यूनमात्र देखिन्छ।
सरकारी नम्बरप्लेटधारी सवारीसाधनहरूले सडकमा सवारीनियम मिचेका दृश्यहरू त सामान्य भइसके। नागरिकले सरकारबाटै सिक्ने हो। नागरिकका आदर्श र ज्ञानका भण्डार बोकेका राष्ट्रसेवकहरूले नै सवारीनियम मिच्न थालेपछि सर्वसाधारणले के सिक्ने ? केही अगाडिको कुरा हो। सामाजिक सञ्जालमा भाइरल पनि बनेको थियो। मुलुक हाँकिरहेको राजनीतिक दलका एक वरिष्ठ नेता। कुनै समयमा सरकारका मन्त्री र उपप्रधानमन्त्रीसम्म भइसकेका। उनी सडकमा ट्राफिक प्रहरीले राखेको डिभाइडरको डोरी नाघेर सडकबाटो काटिरहेका थिए। साथमा रहेका उनका निजी सुरक्षाकर्मीले पनि साथ दिइरहेकै थिए। जेब्राक्रसिङबाट मात्र सडकबाटो काट्नुपर्छ भन्ने ज्ञान नभएर होइन। उनैको नजिक जेब्राक्रसिङ नभएर पनि होइन। सायद हतारमा थिए ! हतारको गन्तव्य कहाँ थियो ! गन्तव्यमा पुगे पुगेनन् ! त्यो उनैले जानुन् तर नतिजा के आयो त्यो
भने सबैले अनुभव गरे।
हेपाहा प्रवृत्तिमा शक्ति र पहुँचको दम्भ र विवेकहीन हतारोपनका दृश्यहरू सडकमा छताछुल्ल छन्। ट्राफिक प्रहरीहरू धुवाँधुलो, घामपानीको पर्वाह नगरी सडक व्यवस्थापनमा व्यस्त छन्। उल्टै यस्तै व्यक्तिहरूबाट गाली पनि खाइरहेकै हुन्छन्। शक्ति र दम्भमा ऐन कानुन मिच्ने पुरानो रोग कसले कहिले बदल्लान् ? अझ ओभरटेकका लागि उपयुक्त स्थान र ईशाराको पर्खाइमा रहन छाडिसके। ट्राफिक रातो बत्ती बल्न लाग्यो भन्दैमा गति बढाउन जरुरी छैन। बुझ्नैपर्छ, गति बढाए ज्यानै पनि जान सक्छ। सडकमा गुड्ने सवारीसाधन यान्त्रिक हुन्। सवारीचालकको हातमा स्टेयरिङ र ह्यान्डिल हुँदैमा सधैं मेसिनले एउटै रफ्तारमा काम गरिरहन सक्छ भन्ने हुँदैन। चालकको नियन्त्रण बाहिरका यान्त्रिक खराबी पनि आउन सक्छ। सवारी नियम मिचेर सडक बाटोको प्रयोग नगरौं, आफ्नो ब्रेक आफैं लगाऔं। यात्रालाई सहज र व्यवस्थित बनाउन राखिएका ट्राफिक बत्तीहरूको पालना गरौं। हतार नगरौं रातो पछि फेरि हरियो बत्ती बल्छ।
ज्ञान र विद्या आर्जनमा सधैं पहिलो हुनु सुखद पक्ष हो। तर जीवनका सबै घटना परिघटनामा सधैं पहिलो हुनु सुखद पक्ष नहुन पनि सक्छ। नतिजा दुःखद् पनि हुन सक्छ। जीवनका कति पानाहरू अरूले लेखेका र कोरेका चित्रसँगै सुनेका कथाहरूमा पनि डोहोर्याउनु पर्ने हुन्छ। विष पिउँदा मरिन्छ भन्ने थाहा पाउन विष पिएरै अनुभव गर्ने जमाना अब छैन। देखेर र सुनेर पनि सिक्नुपर्छ। जीवन सुखद बनाउनु पर्छ। सवारीसाधन चलाउन र खुट्टाले पैदल हिँड्न सकेर मात्र हुँदैन। हिँड्न, गुडाउन दुवै जान्नु पर्छ। जानेर मात्र पनि हुँदैन ! कर र डरमा होइन, ज्ञान र विवेकमा पाइला चालौं। ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न।