वालिङमा चितुवाको आक्रमणबाट तीनजना घाइते
स्याङ्जा : चितुवाको आक्रमणबाट स्याङ्जामा तीनजना घाइते भएका छन् ।
जिल्लाको वालिङ नगरपालिका-१४ कफ्लेटीमा बिहान करिब ९ बजेतिर चितुवाले आक्रमण गरेको थियो। आक्रमणबाट दुई महिला र एक पुरुष घाइते भएका छन् । चितुवालाई घरभित्रै थुनेर राखिएको छ।
स्थानीयका अनुसार वालिङ–१२ का किसान न्यौपाने र १४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन्।
कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको थियो। घरभित्र बसेका तुलसा र लक्ष्मीमाथि चितुवाले आक्रमण गरेको थियो।
घाइते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ भने न्यौपानेको छाती तथा पाखुरामा चोट छ । यस्तै लक्ष्मीको पाखुरामा चोट लागेको छ ।
घाइते तीनैजनालाई उपचारका लागि गह्रौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।
अहिले उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट टोली पुगेको छ । चितुवालाई नियन्त्रणमा लिने तयारी गरिएको छ ।