तीन दशकअघि सर्भे भएको नौमुरे जलविद्युत चुनावी नारामै सीमित
अर्घाखाँची : अर्घाखाँची र पयुठानको सिमानामा रहेको नौमुरे जलविद्युत आयोजनालाई यस क्षेत्रका नेताहरुले चुनावी मुख्य एजेण्डा बनाउँदै आएका छन्।
तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्भे भएको अर्घाखाँचीमा पर्ने नेपालकै नमुना नौमुरे जलविद्युत परियोजना हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन।
अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता पुष्पा भुसालले मात्रै नभइ अधिकांश नेताले नौरे जलविद्युत आयोजनालाई आफ्नो चुनावी एजेण्डामा राखेका छन्।
नेताहरूले चुनावी समयमा नौमुरे जलविद्युत् परियोजना सञ्चालन गरी जिल्लाभर विद्युत् विस्तार गर्ने आशा जनतालाई बाँड्न थालेका छन्। परियोजनालाई नेताहरूले राजनीति गर्ने थलो बनाएका छन्।
अर्घाखाँचीबाट टोपबहादुर रायमाझी ऊर्जामन्त्री पनि भए । काम सुरु हुन्छ भनेर हेलिकोप्टरमा चढेर नौमुरेमा पुगि तामझामका साथ शितगंगा नगरपालिका -७ लामातालमा नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय पनि उद्घाटन गरे । कर्मचारी पनि भर्ना गरे । तर, अहिले कार्यालय महिनौंदेखि बन्द छ । भर्ना गरिएका कर्मचारी पनि अहिले रोजगारीका लागि विदेश पुगेका छन् ।
स्थानीय युवा लालबहादुर राउतले बजेटनै नआएको कार्यालय खोलेर युवाहरुलाई चुनावमा मात्र प्रयोग गर्न खोजेको आरोप लगाए।
जुन पार्टीको नेता लामातालमा पुगेपनि आफ्नो पार्टीलाई जिताए नौमुरे जलविद्युत आयोजना सञ्चालन गर्ने र रोजगारी सृजना गर्ने बताउँछन्। तर सत्तामा पुगेपछि यसतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीय झकबहादुर राउतको भनाइ छ ।
तत्कालिन जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले आयोजनाको साइड कार्यालय लामातालमा उद्घाटन गर्दै लुम्बिनी प्रदेशकै ठूलो र गौरवका रुपमा योजनालाई अघि सारिएको बताएका थिए।
तर परियोजनाको काम लथालिंग भएपछि स्थानीय चिन्तित छन्।