ताप्लेजुङमा फाल्गुनन्द जयन्ती (फोटोफिचर)
ताप्लेजुङ : किराँत धर्म दर्शनका पुनरुत्थानकर्ता, समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मनाइएको छ।
धर्मगुरु आत्मानन्द लिङ्देन सेईङ र गुरुआमा पवित्राहाङ्माको उपस्थितिमा फाल्गुनन्द लिङदेनको नेपालकै ठूलो सालिक अनावरण गरिएको छ।
एउटै ढुङ्गाले निर्माण गरिएको ३२ फिट अग्लो शालिकको अनावरण गर्नुका साथै बिहिबारेमा रहेको हाङ्साम माङ्हिमको उद्घाटन गरिएको आयोजक किराँत धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य याम नेयोङहाङले जानकारी दिए।
सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा समेत गरेको लिङ्देनको विशेष पूजा सहितका कार्यक्रम राखिएको थियो। किराँतीहरूले फाल्गुनन्दलाई महागुरुको रूपमा पुज्ने गरेका छन्।
फाल्गुनन्दको जन्म १९४२ कात्तिक २५ गते आइतबार हालको प्रदेश १ को इलामस्थित माङ्सेबुङ गाउँपालिका-२ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो।