नवलपरासी-२ मा कँडेल, अधिकारी र प्रधानको त्रिपक्षीय प्रतिस्पर्धा
परासी: नवलपरासीमा चुनावी अभियान तीव्र छ । नेता तथा उम्मेदवार घरदैलोसहित मत माग्ने काममा खटिएका छन् । नवलपरासीको निर्वाचन क्षेत्र-२ को चुनावी माहौल पनि तातेको छ ।
यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि ११ राजनीतिक दल र ७ स्वतन्त्र गरी १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धीमध्ये नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल, एमालेका दीपेन्द्र अधिकारी र राप्रपाका ध्रुवबहादुर प्रधानबीच तीव्र प्रतिस्पर्धा हुने विश्लेषण हुने गरेको छ ।
२०५१ सालदेखि २०७४ सम्म भएका ५ निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एंव पूर्वगृहराज्य मन्त्री कँडेलले ३ पटक चुनाव जितिसकेका छन् । अहिले उनी चौथो पटक चुनावी बाजी मार्ने प्रयासमा छन् ।
यो क्षेत्रमा कांग्रेसको संगठन बलियो रहेकाले कँडेल चुनाव जित्नेमा विश्वस्त देखिन्छन् । स्थानीय चुनावको मतअनुसार पनि कांग्रेस यी दुई दलभन्दा अघि छ । त्यसमा गठबन्धनको सहयोगले कँडेलले आफूलाई बलियो उम्मेदवारका रुपमा दावी गर्दै आएका छन् ।
त्यसैगरी आफ्नो चुनावी क्षेत्र छाडेर नयाँ क्षेत्रमा उम्मेदवारी दिएका अधिकारी एमालेका जिल्ला अध्यक्ष र निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य हुन् । नवलपरासीबाट यसअघि ३ पटकसम्म चुनाव लडेर पराजित हुँदै आएका राप्रपाका केन्द्रीय उपाध्यक्ष एंव पूर्वआइजिपीसमेत रहेका प्रधान चौथो पटक चुनाव हत्याउने दाउँमा छन् ।
प्रधान र कँडेलबीच हरेक पटक एउटै निर्वाचन क्षेत्रमा उम्मेदवारी हुने गरेको छ । विगतका प्रतिस्पर्धामा कँडेलले प्रधानलाई ठूलो मतान्तरले पराजित गर्दै आएका हुन् । कांग्रेससँग एक्लै चुनाव जित्न असहज देखेपछि एमाले र राप्रपाले दुई छुट्टाछुट्टै दलसँग तालमेल गरेका छन् । एमालेले जसपा र राप्रपाले लोसपासँग तालमेल गरेको छ ।
स्थानीय चुनावको मतअनुसार यो निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र २५ हजार ६८६ मत छ । गठबन्धनको मत जोड्दा (माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा) कांग्रेसका उम्मेदवार कँडेलको पक्षमा ३५ हजार ९५७ मत पुग्छ । स्थानीय चुनावको मतअनुसार दोस्रो स्थानमा रहेको एमालेको २३ हजार ३४२ मत पुग्छ ।
चुनावी तालमेल गरेको जसपाको मत जोड्दा एमालेका उम्मेदवार अधिकारीको कुल ३० हजार ४३१ मत देखिएको छ । स्थानीय तहको मत मात्रै सुरक्षित राख्न सके एमालेभन्दा कांग्रेस ५ हजार ५२६ मतले अघि देखिन्छ ।
ठूला दुई दलभन्दा दुई गुनाबढी मत कम रहेको राप्रपाको मात्र कुल ८ हजार ७३० मत छ । लोसपाको मत जोड्दा राप्रपाका उम्मेदवार प्रधानको कुल १३ हजार ३१० मत छ ।
स्थानीय तहको निर्वाचनमा देखिएको कांग्रेसभित्रको असन्तुष्टिलाई लिएर चुनाव जित्न हौसिएका एमाले र राप्रपालाई कांग्रेसको मत तान्न त्यति सहज भने देखिएको छैन । नेताहरुको गुटगत लडाइले असन्तुष्ट रहदै आएका कांग्रेस कार्यकर्ता अन्तिम समयमा पार्टी छाडेर अन्यन्त्र नजाने गरेको विगतको चुनावले देखाएकाले अहिले पनि कांग्रेसको मत अरु दलमा जान नसक्ने अन्य दलका नेताहरुले बताउने गरेका छन् ।
चुनावी तालमेल र स्थानीय तहको मतअनुसारको गणित जे देखिएपनि नतिजा कस्को पक्षमा जान्छ त्यो भने मंसिर ४ पछिको परिणामले नै देखाउँला ।