कञ्चनपुर १ : बिनाको निरन्तरता कि, एमालेको कमब्याक ?

कञ्चनपुर १ : बिनाको निरन्तरता कि, एमालेको कमब्याक ?

महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र १ मा दुई पूर्व मन्त्रीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । पूर्व खानेपानी मन्त्री बिना मगर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङबीच कडा प्रतिस्पर्धा हुने भएको हो । 

मगर सत्ता गठबन्धनकी उम्मेदवार हुन् भने तामाङ नेकपा एमालेबाट उम्मेदवार हुन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मगर र गत भदौमा नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका तामाङबीचको प्रतिस्पर्धा चासोका साथ हेरिएको छ । 

यो क्षेत्रमा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका वासुदेव भट्ट निर्वाचित भएका थिए । २०५१ मा भने नेकपा एमालेका रामकुमार ज्ञवाली निर्वाचित भए । २०५६ को निर्वाचनमा भने नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले कांग्रेसको विरासत जोगाएका थिए । २०६४ मा नेकपा (माओवादी) विजय भयो । २०७० मा भने कांग्रेसले फेरि आफ्नो अस्तित्व जोगायो । विगतको परिणामलाई हेर्दा २०४८, ०५६ र ०७० गरी ३ पटक नेपाली कांग्रेसले निर्वाचन जितेको छ ।

२०५१ पछिका निर्वाचन भने नेकपा एमाले ‘कमब्याक’ हुन सकेन । २०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा आफ्नो पकड कायम राखेको छ । अहिले गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी विना मगर प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन्। ०७४ मा उनका प्रतिस्पर्धी दिवान सिह विष्ट अहिले उनको सारथी छन् भने त्यो बेलाका सारथी एमालेका तारालामा तामाङ प्रतिस्पर्धी छन्। 

२०७४ सालको चुनावमा त्यतिबेलाको नेकपाकी बिना मगरले १९ हजार २४८ मतअन्तरले विष्टलाई पराजित गरेकी थिइन् । बिनाले ३८ हजार ४६७ मत ल्याउँदा दिवान सिंह विष्टले १९ हजार २१९ मत ल्याएका थिए । तर तीनै दिवान सिंह विष्ट यसपालि विनाका सारथी भएर प्रदेश सभा सदस्यका लागि चुनाव लडेका छन् ।

नेकपा एमाले कञ्चनपुरका सचिव पल्लब राज भट्टले यो क्षेत्रमा गठबन्धन मुख्य प्रतिस्पर्धी हुने बताए । भट्ट पनि प्रदेश सभा सदस्यका उमेदवार हुन्। ‘हामी निर्वाचन जित्छौं, हाम्रो मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनसँग हुन्छ ,’ उनले भने, ‘जनमत हाम्रो पक्षमा छ, हामीले मतदाता भेटघाट तीव्र पारेका छौं ।’

नेकपा एमालेका बागी उम्मेदवार खेम सुवेदीको उम्मेदवारीले गठबन्धनलाई फाइदा पुग्ने देखिएको छ । नेपाली कांग्रेसका नेता जनक धामीले गठबन्धनको जीत निश्चित भएको दाबी गरे । ‘एमालेभित्र असन्तुष्टी छ, बागी उम्मेदवार छन्, त्यसले झन गठबन्धनलाई फाइदा गर्छ’,  उनले भने, ‘यहाँ गठबन्धनको जीत हुन्छ, एमाले दोस्रो स्थानमा आउँछ ।’

तर अहिले विना मगरका प्रतिस्पर्धी तारा लामा तामाङ पनि त्यस क्षेत्रका लोकप्रिय नेता हुन् । प्रदेश सभामा तामाङले कञ्चनपुर (१) बाट २० हजार १५ मत ल्याएर काँग्रेसका गोपाल गुरुङलाई जितेका थिए । गुरुङले ९ हजार २९० मत मात्रै ल्याएका थिए । ‘तामाङ त्यस क्षेत्रका बलिया उमेदवार हुन्, प्रदेश सभामा आर्थिक मामिला मन्त्री भएका बेला उनले त्यस क्षेत्रका लागि विनियोजन गरेको बजेट पनि जनता सकारात्मक छन्, उनको जित्ने बलियो आधार छ’, एमाले कार्यकर्ता लक्ष्मी भट्टले भनिन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेलाडाँडी र लालझाडी गाउँपालिका पर्छन् । स्थानीय तह निर्वाचनमा बैलौरीमा माओवादी र पुनर्वास र बेल्डाँडीमा कांग्रेस विजयी भएको छ । लालझाडी गाउँपालिका अध्यक्षमा भने एमाले विजयी भएका थिए । 

स्थानीय निर्वाचनमा नगर प्रमुख र गाउँपालिका प्रमुखहरुले प्राप्त गरेको मत आधार मान्दा कांग्रेसको २२ हजार ८८९, माओवादीको १३ हजार ४०८, नेकपा एकीकृत समाजवादीको ३ हजार ७३४ मत आएको छ । त्यहाँ नेकपा एमाले एक्लैको एमालेको १८ हजार २९४ मत पाएको थियो । वडा अध्यक्षको मतमा भने नेकपा एमाले पहिलो स्थानमा छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका वडाध्यक्षले १८ हजार ७७३ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १८ हजार ७३२ मत प्राप्त गरेका छन् । 

नेकपा (माओवादी केन्द्र) १५ हजार २७९ मतसहित तेस्रोमा छ । नेकपा (एकीकृत समाजवादी) ३ हजार ५२१ मतसहित चौंथो स्थानमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारले २ हजार ६९२ मत प्राप्त गरेका प्राप्त गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.