मुस्ताङमा निर्वाचन तयारी तीव्र
जोमसोम : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्व तयारीका लागि मुस्ताङमा निर्वाचन अभियानलाई तीव्रता दिइएको छ।
भूगोलका हिसाबले ठूलो र जनसंख्याका हिसाबले न्यून मतदाता संख्या रहेको मुस्ताङमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई आवश्यक तालिम दिइएको छ। तालिममा ८० जना सहभागी छन्।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जिल्लाका पाँचवटै स्थानीय तहका ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा खटाइने कर्मचारीहरूलाई आइतबार तालिम दिइएको हो।
तालिममा मतदान पूर्वका व्यवस्थापकीय पक्ष र मतदान प्रक्रिया, प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्बन्धी जानकारी, मतदान सामग्री, सुरक्षा समन्वय योजना, मतगणना, मतगणना र निर्वाचन लेखा सम्बन्धी जानकारी गराइएको छ।
यस्तै तालिममा निवाचनको मतदान प्रक्रिया, सुरक्षा, मतपेटिका ढुवानी जनशक्ति परिचालन र मतदानपछि निर्वाचन मतपेटिका बुझेदेखि मतपेटिका बुझाउनेसम्मका आवश्यक प्रक्रियाका बारेमा सचेत गराइएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राष्ट्रसेवक कर्मचारीले राज्यले सुम्पिएको महान अभिभारा पूरा गर्नुपर्ने बताए।
मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सबै तयारी पुरा भइसकेको जानकारी दिए।
जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले मतदान प्रक्रियाका बारेमा आयोगको निर्देशनमा कार्यक्रम गरिएको बताए।
मुस्ताङका ५ स्थानीय तहको ३९ मतदान केन्द्रमा कुल १०९५७ जना मतदाता छन्। ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा झन्डै ४०१ जना कर्मचारी खटाइने भएको छ।
जसअन्तर्गत ८० जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, सहायक कर्मचारी १७६ जना र सहयोगी कर्मचारी ४० जना खटिने छन्।