मतदाता भन्छन्- दुई चारजना आउँछन्, फकाउँछन्,अहिलेसम्म उम्मेदवार देख्न पाएका छैनौं
जोमसोम : आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु मत माग्न मतदाताको घर-घर पुग्न थालेका छन्।
तर, मुस्ताङको दुर्गम बस्ती साङ्ताका स्थानीयलाई भने यसको रौनकले छुन सकेको छैन। यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिबारे जानकारी समेत छैन।
मुस्ताङको सबैभन्दा विकट र दुर्गम बस्ती हो साङ्ता गाउँ । यो गाउँ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा पर्छ । दुर्गम बस्ती साङ्ता गाउँसहित फल्याक र धाकार्जुङ गाउँ वारागुङ मुक्तिक्षेत्र–५ मै पर्छन् । तर, एउटै वडामा जोडिएका साङ्ता गाउँसँग फल्याक र धाकार्जुङ गाउँ करिब ३० किमी टाढा छ ।
२०४० को दशकअघि पत्ता लागेको यो गाउँमा करिब १३ घरधुरीको बसोबास छ। दुई ठूला पहाड र बीचमा खाल्डो परेको भू-गोलको सानो पाखोमा साङ्ता गाउँ अवस्थित छ । यहाँ करिब ५०/६० जनसंख्या रहेपनि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जम्मा ३४ जनाले मतदान गर्नेछन् ।
सीमित क्षेत्रफलमा कृषि कर्म र पशुपालनमा आश्रित रहेका साङ्तेलीलाई चुनाव आएको पत्तै हुँदैन । किनकी यो गाउँ मुस्ताङकै एक गुमनाम बस्तीको रुपमा परिचित छ ।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि झन्डै ४० किमी पश्चिमतर्फ रहेको यो गाउँ छिमेकी जिल्ला डोल्पा र मुस्ताङको सीमावर्ती क्षेत्रमा पर्छ । बर्सेनि सामान्य खेतीपाती र पशुपालन व्यवसाय गरी जिविकोपार्जन गर्दै आइरहेका साङ्तेली समुदायको जीवनमा कहिल्यै खुसीको बहार आउन सकेको छैन।
गाउँका केही बालबालिकालाई विदेशी संघसंस्थाले पढाइदिने गरेको र केही गुम्बा स्कुलमा पढ्दै गरेका छन् । कतिपयलाई स्कुल पढाएर बालबालिकालाई शिक्षित बनाउनुपर्छ भन्ने समेत ज्ञान नहुँदा त्यहाँ विद्यार्थीको उपस्थित न्यून भएको हो ।
मुस्ताङ डोल्पा सीमानामा पर्ने यो गाउँ हुँदै फाट्टफुट्ट उपल्लो डोल्पाली र केही विदेशी पर्यटकले ट्रेकिङ गर्ने गर्छन् । उपल्लो डोल्पाका मानिस जोमसोमबाट खाद्यान्न र अतिआवश्यक सामग्री घोडाखच्चडमा बोकाएर यही गाउँहुँदै यात्रा गर्छन् । कहिलेकाहीँ आकल-झुकल विदेशी पनि देखिन्छन् । तर, यो गाउँमा कहिल्यै सरकारको उपस्थित हुँदैन । त्यतिमा मात्र होइन स्थानीय सरकारको उपस्थित पनि त्यति देखिदैन।
संघीयतापछि सरकारले मुस्ताङ –डोल्पा सडकमार्ग विस्तार गर्दै गइरहेकाले जेनतेन साङ्ता गाउँसम्म कच्ची सडक पुग्न सकेको छ । यद्यपी गाउँमा कच्ची सडक पनि साङ्ता गाउँको समस्या ज्यूँकात्यूँ नै छन् । गाउँमा १ देखि ५ कक्षासम्मको स्कुल भएपनि अहिले त्यहाँ विद्यार्थी नहुँदा ३ कक्षासम्म मात्रै पढाइ हुनेगर्छ।
स्कुलमा पनि जम्म २/४ जना मात्र विद्यार्थी हुन्छन् । गाउँका केही बालबालिकालाई विदेशी संघसंस्थाले पढाइदिने गरेको र केही गुम्बा स्कुलमा पढ्दै गरेका छन् । कतिपयलाई स्कुल पढाएर बालबालिकालाई शिक्षित बनाउनुपर्छ भन्ने समेत ज्ञान नहुँदा त्यहाँ विद्यार्थीको उपस्थित न्यून भएको हो ।
उपल्लो मुस्ताङको उत्तरी कोरलानाकाका सीमावर्ती गाउँहरुमा सडक,विद्युत,सञ्चार,शिक्षा र स्वास्थ्यलगायतको पहुँच विस्तार भइसक्दा पनि साङ्ता गाउँमा न त विद्युत पुगेको छ न त सञ्चारको भरपर्दो व्यवस्था छ ।
गाउँका १३ घरधुरीमध्ये २/३ परिवारले सीडीएमए टेलिफोन जडान गरेका छन् । विद्युत ,इन्टरनेटको सुविधा नहुँदा सूचना र अन्य गतिविधिको भेउसम्म पनि पाउँदैनन् यहाँका स्थानीय।
बिजुली नहुँदा कसैको घरमा पनि टेलिभिजन छैन । गाउँमा स्वास्थ्य चौकी पनि छैन। दु:ख बिमार पर्दा सिटामोल खान समेत पाइदैन।
मुस्ताङ फल्याक गाउँबाट झन्डै ४५ मिटरको कच्चि सडकमार्ग हुँदै साङ्ता पुग्न सकिन्छ । तर,यो सडकमा कार्तिक अगावै हिउँ जमेर सडक अवरुद्ध हुन्छ । सडकमा सार्वजनिक सवारी चल्दैन, मालसामान ढुवानी गर्दा जोमसोमबाट ट्याक्टरमा लोड गरेर साङ्ता पुर्याइन्छ। संघीयतापछि मुलुकमा गणतन्त्र आयो,लोकतन्त्र आयो ,संघीयता आयो तर साङ्ता गाउँको मुहार अहिलेसम्म फेरिन सकेको छैन।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक हप्ता मात्र बाँकी छ तर, अहिलेसम्म साङ्ता गाउँमा कुनै उम्मेदवार भोट माग्न नआएको स्थानीय बताउँछन्।
चुनाव आउँदा मात्र पार्टी, नेता र उम्मेदवारले साङ्ता गाउँ सम्झन्छन् । साङ्तेलीहरु सोझा छन्, आफ्ना माग स्पष्ट खुलेर राख्न सक्दैनन् । यसैले दलका नेताहरुले उनीहरुको भोट पैसासँग सौदा गर्छन् । चुनावपछि भोट माग्न आउने नेता र उम्मेदवार कहिल्यै गाउँ नर्फकिने गरेको स्थानीय ङिमा गुरुङले बताए ।‘चुनाव आउँदा बिजुली,टेलिफोन,इन्टरनेट, शौचालय र स्वास्थ्य चौकी स्थापना गर्छु भन्ने उम्मेदवार चुनावपछि कहिल्यै साङ्ता गाउँ आउँदैनन् । '
यसपटक पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक हप्ता मात्र बाँकी छ तर, अहिलेसम्म साङ्ता गाउँमा कुनै उम्मेदवार भोट माग्न नआएको स्थानीय ङिमा गुरुङले उल्लेख गरे ।‘अहिलेसम्म भोट माग्न कोही आएका छैनन्,आउँछन् होला,स्थानीय ङिमाले भने,‘भोट हाल्ने एक/दिन अघि मात्र दुई/चारजना आउँछन् भोट हाल्न फकाउँछन्, ‘कांग्रेस –एमाले पार्टी भन्छन् खोइ, हामीलाई केही थाहा हुँदैन, को राम्रो को नराम्रो ।'
साङ्ता गाउँका स्थानीयहरु बर्खायामको गर्मी महिनामा सडक छेउको बस्ती र हिउँदयामको जाडोमा नजिकै पारी पट्टीको घोक भन्ने स्थानमा पुग्छन् । गर्मी बढेपछि बैशाखमा फेरि साविककै स्थानमा आइपुग्छन् । तर,पछिल्लो समय पशुपालन व्यवसाय नगर्नेहरु हिउँदयाम लागेपछि जोमसोम ,फल्याक आउन थालेका छन् ।
साङ्तासँगै एउटै वडामा परेको फल्याकका स्थानीय अर्जुन गुरुङले पहिला-पहिला साङ्ताको पारी पट्टी बस्ने गरेका स्थानीयहरु १/२ वर्ष भयो जोमसोम र फल्याकमा आइ बस्ने गरेको बताए । ‘म पनि त्यही गाउँको हुँ,तर त्यहाँ केही सम्भावना देखिन ,त्यसैले फल्याक गाउँमा आएर बसोबास गरेको छु,' उनले भने ।
अहिले साङ्ता गाउँमा १३ घरधुरीले बसोबास गरेपनि हिउँदयामको चिसो बढेसँगै अधिकांश जामसोम आसपास झरिसकेकाले गाउँ रित्तै छ ।
एक हप्ता अघि मतदान केन्द्र निरीक्षण गर्न पुगेका सिडिओसहितको टोलीले साङ्ता जाने सडकको हिउँ पन्छ्यायो । तर, फेरि त्यहाँ अहिले २/३ स्थानमा हिउँ जमेर सडक अवरुद्ध बनेको स्थानीय गुरुङले जानकारी दिए । ‘उचाइको सडक भएकाले दिनदिनै हिउँ थुप्रिन्छ, त्यहाँ पुगेर मतदान गराउन पनि समस्या छ ,'उनले भने,' चिसो बढेको र चुनावको मितिमा हिमपात भइदियो भने चुनाव गराउनै मुस्किल पर्छ।'