गठबन्धनले जिते ६ महिना सरकार बन्दैन : केपी ओली
चितवन : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन मुलुकका लागि हितकारी नभएको बताएका छन्। गठबन्धनको सरकारका कारण देश घाटामा गएको उनले बताए।
विकास निमार्णका काम ठप्प रहेको बताउँदै उनले गठबन्धनले जिते मुलुक संकटमा फस्ने बताए। नेकपा एमाले चितवनले आयोजना गरेको चुनावी सभालाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले विकास र समृपद्धिको लागि एमाले सरकार अनिवार्य भएको बताए।
‘एमाले सरकार एमालेको लागि चाहिएको होइन। एमाले त प्रतिपक्षमा बसेपनि केही फरक पर्दैन होला,’ उनले भने, ‘एमाले त पाँच वर्ष प्रतिपक्षमा बस्छ। तर यो गठबन्धनले फेरि जित्ने हो भने देश बर्वाद पार्छ। एमालेले जित्नैपर्छ। सरकारमा जानैपर्छ।’
देशलाई एक लयमा लोकतन्त्र र विकासको मार्गमा अगाडि बढाउन एमाले सरकारको आवश्यकता रहेको उनले बताए। 'स्वार्थीहरूको झगडालु सरकारलाई देशका लागि सोच्ने फुर्सद नै मिल्दैन। आपसमा मिलाउँदा मिलाउँदै देशका लागि सोच्ने फुर्सद नै छैन,’ ओलीले भने, ‘एमालेमात्रै देश कसरी बनाउने भन्ने सोचिरहेको छ।’
उनले पाँच दलीय गठबन्धन देशका लागि अभिसाप भएको बताए। ओलीले देशको स्थिरताका लागि अगाडि बढाउन सुदृढ राष्ट्रिय शक्ति चाहिने बताए। ‘यस्तो टालाटुली जोडेर बनाएको कठपुतली सरकारबाट केही हुँदैन। अस्थिरता हुन्छ। स्वार्थको टकराव भइरहन्छ। फेरि सरकार बदल्ने खेल भइरहन्छ,’ उनले भने, ‘गठबन्धनले जित्ने हो भने ६ महिना सरकार बन्दै बन्दैन। बन्यो भने टिक्दै टिक्दैन।’
आफ्नो भाषणको अधिकांश समय गठबन्धनको विरोधमा खर्चिएका उनले एमाले सरकारमा नभए विकास नहुने दाबी गरे। ‘छुचुन्द्रोले आफूभन्दा ६ गुणा बढी तौल खाना खानैपर्छ। हरदम ऊ भोकै हुन्छ भोकै भएकाले थरथर काप्छ। यो गठबन्धन सरकार भनेको पनि यही हो। खानकै लागि बनेको हो,’ उनले भने।
सत्ता गठबन्धनले भरतपुरको गेष्ट हाउस चौरमा चुनावीसभा गरको दुई दिनपछि एमालेले आज चुनावी सभा गरेको हो।